नेपालमा ‘फानी’ आउँदैन, हावाहुरी र वर्षा मात्र हुन्छः मोसमविद्
त्रिशुलीखबर
May 3, 2019


काठमाडौँ, २० वैशाख । समुद्री आँधी ‘फानी’ को असर परेपनि फानी नै भने नेपालमा आउने सम्भावना नरहेको प्रक्षेपण जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

बंगालको खाडीको ओडिसा तटीय क्षेत्र नजिकैबाट विकसित चक्रवात प्रणाली शुक्रबार मध्याह्न ओडिसाको तटीय क्षेत्रमा भित्रिने र त्यसको प्रभाव नेपालसम्म पर्ने मौसमविद्हरुको अनुमान छ । प्रभावस्वरुप वर्षा तथा केही हावाहुरी चले पनि समुद्री आँधी भने सोहीरुपमा नेपालमा आउने सम्भावना कम छ ।

चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म नदेखिएता पनि यसको प्रभावले नेपालको पूर्वी र मध्य क्षेत्रमा आज शुक्रबार र भोलि शनिबार मौसम प्रभावित हुनेछ । यसबाट पूर्वी र मध्य भागमा मेघ गर्जनसहित केही हावाहुरी चल्ने र मध्यम वर्षा हुनसक्नेछ । एक–दुई स्थानमा भने भारी वर्षा हुनसक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै बताएको छ ।

फानीको प्रभाव देशको हिमाली भेगमा पर्ने अनुमान महाशाखाको छ । महाशाखाका अनुसार हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपातको सम्भावना छ । देशको पश्चिम क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

शुक्रबार र शनिबार मौसम प्रभावित बने पनि आइतबारबाट भने मौसममा सुधार आउने मौसमविदले जनाएका छन् ।

फानी एक समुद्री आँधी हो । यसको प्रणाली समुद्री क्षेत्रमा विकसित हुनेगर्छ । यसपटक बंगालको ओडिसा तटीय क्षेत्रमा यसको विकास भएको बताइएको छ । जसको प्रभाव भारतको ओडिसालगायत क्षेत्रमा आज मध्याह्नदेखि देखिने मौसमविद्ले अनुमान गरेका छन् । शुक्रबार ल्यान्डफल पश्चात यो प्रणाली उत्तर–पूर्व दिशातर्फ जाने र त्यसक्रममा कमजोर बन्ने बताइएको छ ।

टिप्पणी लेख्नुहोस्