फिल्म दालभात तरकारी, ‘मह’ स्वादमाथिको चिरहरण
त्रिशुलीखबर
May 3, 2019


काठमाडौँ, २० बैशाख । नेपाली समाजमा जस्तै सिनेमामा पनि लहड व्याप्त छ । छक्कापञ्जाको व्यावसायिक सफलतापछि कमेडी फिल्मको बाढी सुरु भयो । तर, त्यस्ता फिल्ममा सिनेमा सौन्दर्य र हास्यविधाको आधारभूत मान्यतासमेत आत्मसात गरिएनन् । बरु, लहडले सिर्जनशीलताको चीरहरण भएको छ ।

यही प्रवृत्तिको उत्पादन भएको छ, चलचित्र दालभात तरकारी । कथा र प्रस्तुतिभन्दा कमेडीलाई प्रधानता दिइएकाले फिल्मको साख कमजोर भएको छ । सुदन केसीको निर्देशन जम्न सकेन । लेखनचाहिँ हरिवंश आचार्यको हो । हरिवंशसँगै निरुता सिंह, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी, पुष्प खड्का, वर्षा राउत, आँचल शर्मालगायत कलाकारको भीड छ । तर, स्तरीय कमेडी हेर्ने भोक दालभाततरकारीले मेट्दैन । जबर्जस्ती हसाउन खोज्ने कलाको होड यसमा पर्याप्त छ ।

रामहरि (हरिवंश) र उर्मिला (निरुता) दम्पती बारम्बार झगडा गरिरहन्छन् । उर्मिलालाई जसरी पनि अमेरिका जानुछ । प्रत्येक साल डिभी भरे पनि उनलाई पर्दैन । अमेरिकाको भूतले छटपटाइरहेका बेला गायक स्वामी (शिशिर वाङ्देल)ले एक करोड रुपैँया पाए अमेरिका पठाइदिने वचन दिन्छन् । उर्मिला र रामहरिले घर धितो राखेर पैसा बुझाउँछन् । तर, पैसा हात परेपछि स्वामी गायब हुन्छन् । रामहरिको परिवारले ठगिएको रकम फिर्ता पाउला ? अमेरिका सपना त्याग्ला ? यस्तै सवाल उधिन्न खोजिएको छ, फिल्मले ।

मध्यमवर्गीय परिवारमा विद्यमान अमेरिका मोह, दालभात तरकारीको केन्द्र विषय हो । त्यस्तै डनगिरी, धर्मको नाममा ठगी, अपराध र राजनीतिको नेक्सस जस्ता समाजका अँध्यारा पाटा पनि उनिएको छ । तर, विषय मात्र सबथोक होइन । कथा भन्ने तरिकाले खास अर्थ राख्छ ।

दुर्भाग्य ! यसको न कथा सशक्त छ, न त प्रस्तुतीकरण नै । रामहरि र उर्मिलाको सुरुआती लफडाबाटै फिल्मप्रति विरक्ति पैदा हुन्छ । घरभित्र लगातार आधा घन्टा झगडा गरिरहन्छन् तर त्यसले मूलकथामा खास योगदान गर्दैन । मह जोडीले बनाएका सिरियलमा समेत यस्तो लिरिङ–लिरिङ असाध्यै कम हुन्थ्यो । पात्रले बोल्ने संवादले पनि प्रहसनको छनक दिन्छ । यस्ता दृश्यमा निर्देशकीय कौशलको उस्तै खडेरी छ । केही ‘पन्चलाइन’ले मात्र भरथेग गर्दैन ।

पात्र र घटनाक्रम अनुरुप स्वाभाविक ढंगले आउने कमेडीले मात्र फिल्मको शोभा बढाउँछ । तर हामीकहाँ दर्शक हँसाउने ध्याउन्न राखेर दृश्य र संवाद सिर्जना गरिन्छ । परिणामतः मूलमर्ममाथि नै आघात पुग्छ । कम्तीमा हरिवंशजस्ता हास्यकलाकारिताका ठूला हस्तीबाट यस्तो अतिरञ्जित कमेडी अपेक्षा गरिँदैन । कला बिहिन देखिने केराको बोक्रामा चिप्लिएर लड्दाको दृश्यबाट कोही हाँस्ला भनेर अनुमान लगाउनु व्यर्थ हुन्छ । दालभात तरकारीलाई सामान्य कोटीमा राख्दा खास अतिशयोक्ति हुन्न । नेपालीको ‘अमेरिकन ड्रिम्स’ र सामाजिक–राजनीतिक विकृतिमाथि वस्तुगत व्यंग्य गर्न सकिने प्रशस्त सम्भावना भएता पनि फिल्म भने चुकेको छ ।

मल्टिस्टार र कमेडीले मात्र होइन, गीत, रोमान्स र एक्सनले पनि दालभात तरकारी बजार मनोविज्ञानको सस्तो मालमाथि पूरापूर भाउ पाउने अपेक्षा निर्देशित जस्तै देखिन्छ । सन्तुलन मिलेको भए यो आफैँमा प्रत्युत्पादक हुँदैनथ्यो । तर, निर्देशक केसीले दृश्य होइन, पात्रको हाउभाउ र संवादबाट हास्य प्रवाह गर्न खोजेका छन् । पात्रझैँ उनीहरुको प्रस्तुति पनि अतिरञ्जित छ । लाग्छ, फिल्ममा जे गरिएको छ, सबै हँसाउनकै लागि मात्र भएको छ । यसले हाम्रा फिल्मकर्मीको हास्यचेतको स्तर संकेत गर्छ ।

‘भिजिट भिसा…’मा गीत केहीहदसम्म कथावाचनसँग नजिक छ । प्रियंका कार्कीको आइटम डान्स विनाअर्थ घुसाइएको छ । पार्श्वध्वनि उतिकै कर्कश छ । दृश्यलाई भौतिक रूपमा शानदार देखाउन निर्माताले कन्जुस्याइँ गरेका छैनन् तर विभिन्न कम्पनीहरुका विज्ञापन थोपरिएको छ ।

पटकथाबाट निराश पारेका हरिवंशले कलाकारका रुपमा एकहदसम्म मन जित्छन् । हाउभाउ र केही संवादमार्फत अन्य पात्रको तुलनामा ज्यादा राहत दिन्छन् । ‘लाउड’ भूमिका र अभिनयले निरुताप्रति प्रेम जागृत हुन्न । पुष्प, आँचल र वर्षा ‘चटनी’ हुन् । उनीहरुको न भूमिका प्रभावकारी छ, न त अभिनय विश्वसनीय छ । शिशिर, किरण केसी, रविन तामाङ, शिवहरि पौडेल, जयनन्द लामा, विल्सनविक्रम राईको हालत पनि उस्तै छ । बरु, राजाराम पौडेलले थोरबहुत ‘रिफ्रेस’ गराइरहन्छन् । यही फिल्मबाट निर्देशक केसीसँग आशा राख्न सकिने कुनै गुन्जायस छैन । उनीजस्ता नयाँ निर्देशकसँग नवीन शैली र स्वादका सिनेमाको अपेक्षा हुन्छ, न कि सौन्दर्यहीन कमेडीको । दालभात तरकारी नेपालीको प्रिय खाना भएर पनि फिल्म दालभात तरकारीचाहिँ पचाउन सकिन्न ।अचाक्ली मसलाले फिल्मको बजार विस्तार होइन, भएको बजार र दर्शक पनि भड्काउने खतरा हुन्छ भन्ने कुरा मनन् गरिएन ।

-फिल्म समिक्षकः गोकर्ण गाैतम, नेपाल राष्ट्रिय सातप्ताहिक

टिप्पणी लेख्नुहोस्