रिठ्ठेभीरका यी ऐनाहरु
त्रिशुलीखबर
May 12, 2019


काठमाडौँ । पूर्वी नेपाल र राजधानी काठमाडौंबीचको दूरी छोट्याइदिने बीपी राजमार्गमा दिनहुँ हजारौं सवारीसाधन हुइँकिन्छन् । नियमितरूपमा आउजाउ गर्ने र आवश्यक कामले हिँड्नेहरू मात्र होइन, राजधानीबाट पूर्वी भेगतिर घुम्न निस्कनेहरू पनि यही राजमार्ग हुँदै यात्रा गर्न रुचाउँछन् ।

धुलिखेलबाट सुरु भई भकुन्डेबेंसी, मंगलटार, नेपालथोक हुँदै जाने बीपी राजमार्ग सिन्धुलीको दुम्जा कटेपछि खुर्कोट नआइपुग्दासम्म सुनकोशीको तीरैतीर अगाडि बढ्छ । राजमार्गका मोड छिचोलेर गन्तव्यमा पुग्न हतारिँदै कुदिरहेका गाडीहरू जब सिन्धुलीको रिट्ठेभीरमा पुग्छन्, तब ऐनैऐनाले भरिएको भित्तामा नजर ठोक्किँदा जोकोहीको मनमा जिज्ञासा जन्मन्छ ।

यहाँ पुग्नेहरूलाई मन्दिर र ऐना किन राखियो भन्ने कौतुहलता पक्कै लाग्न सक्छ । रिठ्ठेभिरमा ऐनैऐनाको बीचमा सेतीदेवीको मन्दिर स्थापना गर्नुको कारण आश्चर्य र डरलाग्दो भएको स्थानीय बताउँछन् ।

यो त्यही ठाउँ हो जहाँ २०६८ वैशाख २० गते एउटा यात्रुबस रिट्ठेभिरबाट सुनकोसीमा खस्दा १४ जनाको घटनास्थलमै ज्यान गएको थियो । त्यसको पाँच महिनापछि असोज २६ गते सोही ठाउँमा सिन्धुलीबाट काठमाडौं जाँदै गरेको यात्रुबस सुनकोशीमा खस्दा ४२ जनाले घटनास्थलमै ज्यान गुमाए । त्यसको ठिक ६ वर्षपछि २०७४ असोज २६ गते सोही स्थानमा अर्को बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । २०७० भदौ ३१ गते रिट्ठेभिरमै भएको जिप दुर्घटनामा तीनजनाले ज्यान गुमाएका थिए । त्यसयता उक्त ठाउँमा मात्र भएका सवारी दुर्घटनामा एक दर्जनबढीको ज्यान गइसकेको छ ।

पहिलो पटक सडक दुर्घटना देखेर त्रसित स्थानीयहरू त्यसयता पटक–पटक हुने दुर्घटनाबाट थप भयभित भएको सेतिदेवी मन्दिरका पुजारी नीरप्रसाद आचार्य सुनाउँछन् ।

२०६८ असोज २६ गते ४२ जनाको ज्यान जानेगरी भएको बस दुर्घटना देखेका स्थानीय बालबालिका, तन्नेरी र वृद्धवृद्धासमेत त्रर्सने, कहालिने र बर्बराउने गर्न थालेपछि सिन्धुलीका तत्कालीन प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीको पहलमा मनमा पैदा भएको भय भगाउन सप्ताह पुराण लगाइएको पुजारी आचार्यको भनाई छ ।

‘दुर्घटनाका मृतकका आफन्तसहित लगाइएको पुराणमा एक महिलाले काम्दै सुनकोसीको एउटा ढुङ्गा टिपेर देखाउँदै म सेतिदेवी हुँ, मेरो बासस्थानमा सडक निर्माण गर्दा क्षति पुर्‍याएपछि मैले मान्छेको भोग खान थालेको हुँ’, आचार्य त्यो घटना सम्झन्छन्,’मलाई सडकमै मन्दिर बनाएर बस्न दिएमात्रै राम्रो गर्छु, नत्र थप क्षति गर्छु ।’ यो घटनापछि जापान सरकारले नै सडकको भित्तो खोपेर मन्दिर बनाइदिएपछि ऐना चढाउने र पूजा गर्न थालिएको उनी सम्झन्छन् ।

ती महिलाको भनाई र रिठ्ठेभिरमा सडक निर्माण गर्दा एक्साभेटर पल्टिने, बिग्रिनेजस्ता अनपेक्षित घटना हुने गरेपछि सडक निर्माण गर्दै आएको जापानिज कम्पनी हाज्माका प्राविधिकहरूको टोलीले सेतीदेवीलाई बोका बली दिएपछि भने त्यस्ता घटना दोहोरिन छाडेको सेतिदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज श्रेष्ठ बताउँछन् । ‘यस्ता डरलाग्दा घटनाले अचम्मित बनाएपछि यहाँ सबैको पहलमा सेतिदेवीको मन्दिर स्थापना गरिएको हो,’ श्रेष्ठले भने ।

देवी स्थापनाको केही दिनमै चालक बाल तामाङले आफ्नो बसको नम्बर ‘बा२ख ८८८५’ लेखेर एउटा ऐना राखिएको ठाउँमा अहिले ठूला साना गरेर एक हजार बढी ऐना छन् । मृतकका आफन्त र चालकले सुरक्षाको लागि भन्दै देवीलाई चढाएको ऐना अहिले उक्त सडकमा यात्रा गर्नेहरू सबैको सुरक्षाको भरोसा बन्दै गएको सुनकोशी –५ का वडाध्यक्ष कृष्णराज दाहाल बताउँछन् । ‘एउटा चालकले सडक सुरक्षाका लागि भन्दै चढाएको ऐना अहिले पन्ध्र सयबढी छन् । यस सडकमा यात्रा गर्ने चालक र यात्रु पनि यात्रा सुरक्षाका लागि भन्दै ऐनामा विश्वास गर्ने गरेका छन्,’ दाहाल सुनाउँछन् ।

बीपी राजमार्ग निर्माण हुनु पहिलाको कच्ची सडक र निर्माण सम्पन्न भएपछिको पक्की सडकमा पनि दर्जनौं दुर्घटनामा धेरैले ज्यान गुमाएपछि सुरु भएको यो ऐनाको विश्वास बढ्दो छ ।

टिप्पणी लेख्नुहोस्