बहिनी बलात्कार गरेको अभियोगमा दाजु पक्राउ
त्रिशुलीखबर
May 12, 2019


सांकेतिक तस्वीर

दमौली, २९ बैशाख । नातामा बहिनी पर्ने एक बालिकामाथि बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । घिरिङ –४ गड्यौलीका २५ वर्षका माधव कुमाललाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्रेको हो ।

उनले आफ्ना साना बालबालिकाको हेरचाहसँगै पठनपाठनका लागि भनेर १२ वर्षीया बालिकालाई घरमा राखेका थिए । नाताले बहिनी पर्ने ती बालिकामाथि कुमालले बलात्कार गरेको प्रहरीले जनाएको छ । ती बालिका स्थानीय महेन्द्रज्योती माविमा पढ्छिन् । उनी साना बालबालिकालाई घरमा सघाउँथिन् र त्यहींबाटै विद्यालय जाने आउने गर्ने गरेकी थिइन् ।

दुई वर्षदेखि कुमालसँग बस्दै आएकी उनीमाथि गत मंगलबार राति बलात्कार भएको हो ।

वैदेशिक रोजगारीका क्रममा भारत रहेका कुमाल पाँच महिनाअघि मात्र घर आएका थिए ।

घटनापछि दुई दिनसम्म बालिका विद्यालय जान नसकेपछि परिवारले खोजी गरेका थिए । उनी घटनापछि दाजुको घर छाडेर आफ्नै घर गएकी थिइन् । उनको घर र दाजु पर्नेको घर तीन मिनेटको दूरीमा पर्छ । दिनभर सुतेर विद्यालय नगएपछि सुरुमा आमाले सोध्दा बालिकाले केही नभएको बताइन् । तेश्रो दिन विद्यालय गएर आए पनि उनी बिरामीजस्तो देखिएपछि सोध्दा आफूलाई कुमालले बलात्कार गरेको उनले आमासँग बताएकी थिइन् । बालिकाकी आमाले घटनाबारे सोधपुछ गरेपछि कुमालले बलात्कार गरेको स्वीकारेका थिए । तर उनले घटना बाहिर लैजाँदा आफ्नो बेइज्जत हुने बरु आफू आर्थिक सहयोग गर्ने भन्दै पीडितका आफन्तलाई आश्वासन दिएका थिए ।

स्थानीय प्रहरी चौकीमा घटनापछि मेलमिलापका लागि छलफलसमेत भएको थियो । तर, बालिकाका आफन्तले घटनामा मेलमिलाप नहुने बताएपछि प्रहरीले कुमाललाई पक्रेको हो ।

प्रहरी हिरासतमा रहेका कुमालविरुद्ध बलात्कार अभियोगमा मुद्दा चलाउन म्याद लिएर प्रक्रिया अघि बढाइने प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताएका छन् ।

टिप्पणी लेख्नुहोस्