मिडिया काउन्सिल विधेयकलाई प्रेसमैत्री बनाउन सघाउँछु :सभामुख महरा
त्रिशुलीखबर
May 13, 2019


काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसद्मा दर्ता भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयक प्रेसमैत्री बनाउन पहल गर्ने बताएका छन् । विधेयक फिर्ताको माग राखेर सोमबार बिहान ज्ञापनपत्र बुझाउन गएका नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलका पदाधिकारीसँग उनले यस्तो प्रतिवद्धता जनाएका हुन ।

सूचना तथा सञ्चार मन्त्री रहिसकेका सभामुख महराले विधेयकमा सञ्चार जगतको सरोकारबारे संसद्, संसदीय समितिमा पर्याप्त छलफलको वातावरण बनाउन सहयोग गर्ने आश्वासन पनि दिएका छन ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट, प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले विधेयकमा दस लाख जरिवाना र जति मन लाग्यो त्यति क्षतिपूर्ति तिराउन सक्ने, काउन्सिललाई प्रेसलाई तह लगाउने सरकारको एउटा अंग बनाउन लागेको लगायतका प्रावधानप्रति आफूहरूको कडा आपत्ती रहेको धारणा राखेका थिए ।

उनीहरूले संविधानको मर्म र भावनाविपरीत संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तुरुन्त फिर्ता लिएर सरोकारवालासँगको छलफल र सहमतिमा अर्को मस्यौदा बनाउनु पर्नेमा जोड दिएका छन ।

साताव्यापी आन्दोलन घोषणा गरेको महासंघले मध्याह्न ३ः३० बजे राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पनि ज्ञापनपत्र बुझाउन लागेको महासंघका महासचिव रमेश विष्टले  जानकारी दिएका छन ।

महासंघले वैशाख ३१ गते संसदीय समितिका सभापति र सदस्यहरूसँग छलफल गर्दैछ।

प्रेस विरोधी विधेयकको विरोधमा जेठ १ गते कार्यक्षेत्रमा कालोपट्टी लगाएर काम गर्ने भएको छ । त्यही दिन महासंघ केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र शाखा कार्यालमया सरोकार पक्षबीच वृहत छलफल गरिने भएको छ ।

जेठ ३ गते काठमाडौंमा संसद् भवन बाहिर र जिल्लाहरूमा सदरमुकाममा सञ्चार साधनसहित वृहत प्रदर्शन गरिने महासंघले जनाएको छ ।

२७ शाखमा घोषित आन्दोलनका कार्यक्रमअन्तर्गत आइतबार महासंघले नेपाल बार एसोसियसन, कानूनविद्, सञ्चारविद्, महासंघका पूर्वपदाधिकारी तथा सम्पादकहरूसँग छलफल गरेको थियो ।

टिप्पणी लेख्नुहोस्