छोटा–छोटा १४ प्रश्नले निम्त्याएको बिपत्ती

पत्रकार र मन्त्रीबीचको संवाद

त्रिशुलीखबर
May 13, 2019


काठमाडौँ । अहिले सामाजिक सञ्जालमा एभन्यिूज टेलिभिजनद्वारा निर्मित कार्यक्रम बारे बहस चर्किएको छ । पत्रकार शुशील पाण्डे र नेपाल सरकारका वरिष्ठ मन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीचको अन्तर्वार्ताका क्रममा मनमालिन्यता बिग्रिएपछि विभिन्न स्तरबाट प्रतिकृयाहरु आइरहेका छन् ।

एकातिर, पत्रकार पाण्डेको प्रस्तुती अत्यन्त अशिष्ट, अभद्र र आक्रोसपूर्ण भएको, नरम र शिष्ट भाषा प्रयोग गर्न नसकेको जस्ता टिप्पणीहरु भइरहेका छन् भने अर्कातिर, उपप्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेका यादवले पदीय मर्यादा बिर्सिएको, जनताको अभिमतबारेको प्रश्न लत्याएको, लोकतन्त्रमा पनि श्री ३ र श्री ५ जस्तो हुन खोजेको जस्ता आरोपहरु आइरहेका छन् ।

वास्तवमा पत्रकार पाण्डेले के अशिष्ट, अभद्र र अहंकारी प्रश्न सोधेका हुन् ? वा उत्तरकर्ता मन्त्री यादव उत्ताउला भएका हुन् ? यसको सत्य निरुपण गर्ने जिम्मा तपाईं पाठक, श्रोता र दर्शकको हो ।

पछिल्लो २ मिनेट ३० सेकेण्डमा एक्कासी स्थितिमा फेरबदल कसरी आयो ? पत्रकारले के के प्रश्न सोधे ? र, उत्तरकर्ताले प्रश्नहरुको जवाफ कसरी दिए ? हामी यसबारे विवरण पस्कन्छौं ।

प्रश्नकर्ताः अब भ्रष्टाचारको कुरा तर्फ जाऔं त अलिकता, के भै राखेको छ यो मुलूकमा तपाईं त सरकारमा हुनुहुन्छ ?
उत्तरदाताः के भै रा’छ ? (यादव प्रश्नकर्तामाथि नै प्रतिप्रश्न गर्छन्)
प्रश्नकर्ताः वाइडबडीमा के भयो ? चिनी काण्डमा के भयो ? सुन काण्डमा के भयो ? यी काण्डैकाण्डमा सरकार किन यती लिप्त छ ?
उत्तरदाताः त्यसका प्रुफहरु लिएर आउनुस्, ति काण्डका । सरकारले कारवाही गर्छ ।
प्रश्नकर्ताः ए प्रुफहरु नेपाली मिडियाले ल्याइदिनुपर्ने ? सरकारी निकाय छैन ?
उत्तरदाताः सुन्नुस्, के हावामा कुरा गर्ने ? हावामा गरिएको प्रचारले हुँदैन ।
प्रश्नकर्ताः हावातालमा प्रचार गरेको होइन है । के वाइटवडी हावादारी हो ?
उत्तरदाताः त्यसका जहाजहरु हुन्छन् । त्यो प्रकृयागत जान्छ । हावादारी कुरा गरेर यसमा के हो, यसमा के हो….
प्रश्नकर्ताः त्यो जाँच समितिलाई निकम्मा किन बनाएको ? संसदीय समितिलाई पंगु किन बनाएको ? के गर्या यो ?
उत्तरदाताः जाँच गरिरहेकै छ त ।
प्रश्नकर्ताः खै जाँच कहाँ–कहाँ गरिएको छ ? मलाई देखाइ दिनुस् र दर्शकलाई भनिदिनुस् त एकचोटी ?
उत्तरदाताः जाँच भइराखेको छ । समितिले काम गरिराखेको छ ।

स्थिति क्रमशः नकारात्मकता तिर बदलिँदो छ, प्रश्नकर्ता विषय परिवर्तन गर्छन्…

प्रश्नकर्ताः यो सरकारलाई कम प्रश्न सोध्छु, तपाई र पूर्वदल संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता भएर बनेको समाजवादी पार्टी नेपाल पहिला तपाईहरुलाई सुभेक्षा शुभकामना भन्छु ।
उत्तरदाताः धन्यवाद
प्रश्नकर्ताः यसले नेपाली जनतालाई के दिन्छ ?
उत्तरदाताः अब, यो मिडियाले नेपाली जनतालाई के दिन्छ ? तपाईं यहाँ बस्नु भएको छ, यसले नेपाली जनतालाई के दिन्छ ? (यादवको पत्रकारमाथि प्रतिप्रश्न)

अब, प्रशनकर्ता र उत्तरदाताबीच एकआपसमा मालिन्यता बिग्रन्छ…

प्रश्नकर्ताः हामीले नेपाली जनतालाई सुसूचित गराउँछौं ।
उत्तरदाताः हामीले पनि राजनीतिकरुपले चेतनशील बनाउने हो । (एक्कासी उत्तरकर्ता विषयान्तर हुन्छन्) तपाईंको प्रश्न गर्ने ढंग भएन । राजनीतिक दलले के दिन्छन् भन्ने थाहा छैन ?
प्रश्नकर्ताः समाजवादी पार्टी भइसकेपछि यस पार्टीले जनतालाई के दिन्छ भनेर सोध्दा प्रश्नको ढंग भएन भनेर नसिकाउनुस्…
उत्तरदाताः कुरा के भने शिष्ट भएर प्रश्न सोध्नुस् ।
प्रश्नकर्ताः एकदम शिष्ट छौं हामी । क्षमागर्नु होला हामी एकदमै शिष्ट छौं ।

यसपछि माहौल बिग्रन्छ…

उत्तरदाताः पहिलो कुरा त तपाईं एकदम शिष्ट भएर प्रशन सोध्नुस्, इन्टरभ्यू लिने तरिका सिक्नुस्, कसरी कुरा गरिन्छ त्यो सिक्नुपर्छ ।
प्रश्नकर्ताः तपाईं नेपाली मिडियालाई शिष्टता सिकाइ रहनु भएको छ ।
उत्तरदाताः तपाईंलाई हो, मिडियालाई होइन ।
प्रश्नकर्ताः ठाडो प्रश्न हो, ठाडै जवाफको अपेक्षा गर्छौं ।

केही बेरको गलफत्तीवीच…

उत्तरदाताः ल बन्द गर्नुस् । (कार्यक्रमबाट जाने मनसायसहित)
प्रश्नकर्ताः तपाईं जान सक्नुहुन्छ ।

यसपछि प्रश्नकर्ता र उत्तरदाताबीच केही गलफत्ती हुन्छ र समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् वरिष्ठ मन्त्री उपेन्द्र यादव माइक फाल्दै उठेर जान्छन् ।

भिडियो हेर्नुहोस्ः

टिप्पणी लेख्नुहोस्