शाही युवा शक्तिका कार्यकर्ताले सुरू गरे ‘जेल’भित्रै आमरण अनसन
त्रिशुलीखबर
May 14, 2019


रुपन्देही । गणतन्त्र विरोधी नारा लगाएका कारण प्रहरी हिरासतमा रहेको शाही युवा शक्ति नेपालका दुई कार्यकर्ताले आमरण अनसन सुरु गरेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा रहेका शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल प्रमुख प्रितम खत्री र रुपन्देही जिल्ला अध्यक्ष महेन्द्र बिश्वब्वकर्माले प्रहरी कार्यालयमा नै आमरण अनसन सुरु गरेका हुन् ।

हिरासतमा रहेका आफ्ना कार्यकर्ताको तत्काल रिहाइको लागि सरकारलाई अल्टिमेटम दिएको शाही युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपति खड्काले जानकारी दिएका छन् । उनले भने, ‘हामी गणतन्त्र मान्दैनौँ । राजसंस्था पुनर्स्थापनाको आफ्नो पार्टीको अभियानमा राज्यले दमन गरे प्रतिकार हुन्छ ।’

उनको पार्टीले रुपन्देहीमा पक्राउ परेका दुवै जनाको विनासर्त रिहाईको माग गरेको छ ।

बुटवलमा आयोजित शाही युवा शक्ति नेपाल रुपन्देहीको जिल्ला भेलाको उद्घाटनका क्रममा गणतन्त्र आउनुभन्दा अघि प्रचलनमा रहेको राष्ट्रिय गान ‘श्रीमान गम्भिर नेपाली’ गाएको र गणतन्त्र –मुर्दावाद, राजतन्त्र –जिन्दावादको नारा लगाएको भन्दै प्रहरीले ती दुई युवालाई पक्राउ गरेको थियो ।

टिप्पणी लेख्नुहोस्