ओली शासन र शाही शासन उस्तै–उस्तै, प्रतिरोधको समय आयोः प्रदिप पौडेल
त्रिशुलीखबर
May 14, 2019


चितवन । नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेलले ओली शासन र शाही शासन उस्तै–उस्तै भएको बताएका छन् ।

नेपाल शिक्षक सङ्घ चितवनको ३० औं स्थापना दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै, ‘सरकारको पछिल्लो गतिविधि शाही शासनकालको झल्को आउने खालको छ, नेकपा सरकार शाही प्रवृत्तिसँग मेल खान्छ,’  नेता पौडेलले भने, ‘यसविरुद्ध जनस्तरबाट नै प्रतिबाद गर्ने समय आएको छ ।’

युवा नेता पौडेलले संवैधानिक मर्म र भावना विपरीत यस सरकारले दुई तिहाइको दम्भमा प्रेस स्वतन्त्रतामाथि अङ्कुश लागाउन खोजेको आरोप लगाए । यो कुरा काँग्रेसलाई मान्य नभएको पौडेलले बताए । उनले भने, ‘दुई तिहाइको दम्भमा सरकारले प्रेसमाथि अङ्कुश लगाउने प्रयास गरिरहेको छ तर नेपाली काँग्रेसलाई कुनै सर्तमा यो कुरा स्वीकार्य छैन ।’

कार्यक्रममा सम्बोधन गर्दै नेता पौडेलले मानव अधिकार आयोगलाई महान्यायाधिबक्ताको कार्यालय मातहत राख्न खोज्नु निरंकुशताबादी सोंच भएको पनि आरोप लगाए । उनले भने, ‘अहिले अर्को रुपमा निरंकुशताले टाउको उठाउन खोज्दैछ, जनता समयमा नै चनाखो बन्नुपर्छ ।’

यस अवसरमा पौडेलले सार्बजनिक शिक्षा सुधारमा शिक्षकहरूको ठूलो भूमिका रहने हुँदा त्यसतर्फ ध्यानदिन शिक्षकहरुलाई आग्रह गरे ।

टिप्पणी लेख्नुहोस्