अहिलेको मिडिया, राजनीतिक विकृतिको सह–उत्पादन
त्रिशुलीखबर
May 15, 2019


पत्रकार र राजनीतिक प्राणीहरूको सम्बन्ध नेपालमा जती प्रगाढ संसारमा सायदै अन्त कहीँ होला । अनि यहाँ पत्रकारिता, अन्तर्वार्ताकारीताका सिद्धान्तका वाइह्यात बहसको के अर्थ ?

बिहानै यो छोटो लेखको तीनवटा अनुच्छेद लेखेपछि छोराले बिथोल्यो, साँझमात्रै लेख्छु भनेर कम्प्युटर बन्द गरेर अफिस गएँ । आज किन हो मैले आलेख नै हेडलाइनबाट शुरु गरेको थिएँ । कम्प्युटर खोल्ना साथ एकजना फेसबूके साथीको स्टाटस अर्कै साथीले शेयर गरेको देखेँ, मेरो हेडलाइनसँग हुबहु मिल्ने । शिल्पा कर्णको स्टाटस दुर्गा कार्कीले शेयर गर्नु भएको रहेछ, –“आफ्ना पार्टीका पत्रकारलाई मात्रै अन्तर्वार्ता दिऊँ ।” दुर्गाजीको थप टिप्पणी रैछ, –“स्टाटस अफ दि डे ।”

“इन्टरभ्यू अफ दि प्रिभियस डे”ले प्रेरित गरेको “स्टाटस अफ दि डे”ले हाम्रो राजनीति र पत्रकारिताको अर्न्तसम्बन्धलाई बहसमा उतारेको छ । खासगरी दैनिक कुनै न कुनै बहसमा न उत्रिए खाएकै नपच्ने विमार भैसकेका शहरीया बुद्धिजिवीवर्गबाट दैनिक एउटा बहसको विषयको खोजी हुन्छ, आफ्नो बुद्धिमा धार लगाउने प्रयोजनका लागि । म पनि छेऊ–छाऊ आउन खोज्दैछु, अचेल ।

यही “जान सक्नुहुन्छ” भन्ने अन्तर्वार्ताकारको आदेशले अन्तर्वार्ताकार मात्रै होइन उनले काम गर्ने टिभी च्यानल र सिङ्गो पत्रकार जगतमाथि समाजले आक्रमण गर्ने आधार तयार पारेको छ । नेपाली बहसवाजहरू यती व्यस्त छन् कि, सामाजिक सञ्जालमा शेयर गरेका केही हरफ वाहेक त्यसको सान्दर्भिक अर्थ, प्रसङ्ग, अन्तर्वार्ताको हकमा बडी ल्याङ्ग्वेज, केही पनि हेर्ने फुर्सद नै छैन ।

यो वाइह्यात बहस हो ! मलाई भित्रैदेखि त्यही लाग्छ । पत्रकार र राजनीतिक प्राणीहरूको सम्बन्ध नेपालमा जती प्रगाढ संसारमा सायदै अन्त कहीँ होला । अनि यहाँ पत्रकारिता, अन्तर्वार्ताकारीताका सिद्धान्तका वाइह्यात बहसको के अर्थ ? “आफ्ना पार्टीका पत्रकारलाई मात्रै अन्तर्वार्ता दिऊँ” हेडलाइन छान्नुका पछाडि मेरो यही बुझाईले काम गरेको थियो ।

चर्चा धेरै भएको अन्तर्वार्ताको नाम नै “सकस राजनीति” रैछ एभेन्युज टिभिको । अन्तर्वार्ताकारले पाउना बोलाएर सकस दिने रैछन् । हुँदाहुँदा एउटा अन्तरवार्तामा उप–प्रधानमन्त्रीलाई बोलाएर छोटो सवाल–जबाफपछि स्टूडियोबाट बाहिर पठाएछन् । म सम्झिरहेको थिएँ, सुशिल–उपेन्द्र संबादको एउटा महत्वपूर्ण बिन्दु जसले शुरुको सौम्यवार्तालाई विस्तारै धकेल्दै लगेर अन्ततः अन्तर्वार्ताबाट उप–प्रधानमन्त्रिलाई अन्तर्ध्यान गरायो । र, हामीलाई समेत बहसमा तान्यो ।

पत्रकारले आधार चाहिँ प्रस्तुत गर्दैनन् तर शालीन भाषामै आफ्नो रटान दोहोऱ्याइरहन्छन् । यो सरकार कता तिर जाँदैछ ? उनले प्रेस स्वतन्त्रताको “घाँटि निमोठ्ने” विधेयकको उदाहरण दिन्छन् र सरकारको नियतमाथि प्रश्न गर्छन्, प्रेस स्वतन्त्रता कसैले किस्तीमा राखेर त दिएको होइन नि भन्ने तर्क राख्छन् । त्यही बिन्दुमा उप–प्रधानमन्त्रिले संयमता गुमाउँछन् र भन्छन् –“सुन्नुस न फेरि बकबास नगर्नुस न ।” त्यसपछि शुरु हुन्छ साँच्चैको बकबास र मन्त्रीलाई अन्तर्वार्ताकारले “जान सक्नु हुन्छ” भन्नेसम्म । अनि त पुगिगो, मन्त्री रवाना हुन्छन् ।

यही “जान सक्नुहुन्छ” भन्ने अन्तर्वार्ताकारको आदेशले अन्तर्वार्ताकार मात्रै होइन उनले काम गर्ने टिभी च्यानल र सिङ्गो पत्रकार जगतमाथि समाजले आक्रमण गर्ने आधार तयार पारेको छ । नेपाली बहसवाजहरू यती व्यस्त छन् कि, सामाजिक सञ्जालमा शेयर गरेका केही हरफ वाहेक त्यसको सान्दर्भिक अर्थ, प्रसङ्ग, अन्तर्वार्ताको हकमा बडी ल्याङ्ग्वेज, केही पनि हेर्ने फुर्सद नै छैन । अन्तर्वार्ताकारको टोन सेटिङ्गनै “सब्जेक्टिभ” छ । कम्युनिष्ट सरकार र उसको दुई तिहाईले जनतामा निराशा ल्याएको, भ्रष्टाचार बढेको, एक वर्षमा सरकार सही बाटोमा नहिँडेको जस्ता तर्कलाई उप–प्रधानमन्त्रीले “बकबास” भनिदिन्छन् । “आक्रोश, कुण्ठा र निम्छरा अभिब्यक्ति” संसदमा “गैर(संसदीय” भए जस्तै यो “बकबास” पनि ुगैर–टेलिभीजनीय” शब्द थियो । त्यसपछिको रडाकोको त कुरै नगरौँ ।

जसलाई नेताहरूले काखी च्यापेर प्रोपागाण्डाको औजार बनाउने प्रयोजनका लागि जन्माए, हुर्काए र प्रवर्द्धन गरे । गम्भीर तरिकाले राजनीतिक प्रोपागाण्डा गर्ने प्रयोजनकै लागि नेताले तालीम दिएका, आफू सत्तामा हुँदा सरकारी हण्डी खुवाएका वा सरकारी गुठीमा साझेदार बनाएर घुसाएकाहरू यस्तो कर्ममा धेरै छन् ।

यो रडाकोलाई एकतर्फी रुपमा बुझ्दा हामी गलत हुनेछौँ । नेपालमा धेरै बहस पर्याप्त अध्ययन–अनुसन्धान बिनानै, अझ भनौँ हालैका दिनमा त मिडियाका हेडलाइन र फेसबुक र ट्विटरका स्ताटसका भरमा शुरु हुन्छन् । सुशिल–उपेन्द्र संबादमा पनि शुरुदेखि नै सबै अन्तर्वार्ता हेरेर विष्लेषण थोरैले मात्रै गरेको पाइयो । यो विषय मिडिया भित्रको मात्रै विकृत्ति हुँदै होइन । यो राजनीति भित्रको समेत विकृतिको सह–उत्पादन हो ।

एक दशकको पत्रकारिता र अर्को एक दशकको पत्रकारका नजिक भएर काम गरेको मेरो अनुभवले के भन्छ भने जुन–जुन कामलाई सरकारले उदाहरणमा लिएर प्रेसमाथि निगरानी वा नियमन वा नियन्त्रण बढाउने कानुन अघि सार्दैछ, त्यसले समेट्ने क्षेत्र व्यवसायिक पत्रकारको भन्दा पार्टीका हनुमान पत्रकारको ठूलो छ । कति नेतालाई आफ्नै मिडिया चाहिएको छ, कति नेताका आफ्नै एफएम रेडियो छन् । कतिले ठूला मिडिया हाउसका साहूलाई समेत फोन गरेर ‘मेरो गूटको मान्छे तपाइँको मिडियामा भएनन्, मेरो फलानो आउँछ उसलाई राखिदिनू भनेका छन् । कति पत्रकारलाई नेताले विहान–बेलुका जूठो–पुरो खुवाएर राखेका छन् । यस्ता कुराको हामीले अध्ययन नै गरेका छैनौँ ।

दलहरूले कार्यकर्ता पत्रकार तयार पार्छन् । पहिले नै धार लगाउँछन्, शत्रुलाई काट्न दुई चारपल्ट दल अदलबदल गर्दा ति कार्यकर्ता कता पुग्छन, नेता कता । जब–जब सरकारको हनुमान पत्रकारिता प्रवर्द्धन गर्ने (नियन्त्रण गर्ने नभन्नु भनेकोले) नीति–नियम अघि बढाउँछ, तिनै सडेगलेका पत्रकारलाई अचानक चर्चामा ल्याइन्छ र पूरै पत्रकार जगतलाई “हनुमानी”बनाउने घडेरी तयार हुन्छ ।

म दावाका साथ के भन्नसक्छु भने केपी ओली वा विद्या भण्डारी वा प्रचण्डको फोटो कहिँ कतै टाँसेर वा देउवाको टाउको कुकुरको शरीरसँग जोडेर फेसबुकमा राख्ने कुनै दलका नेताप्रति तल्लोस्तरको गाली प्रयोग गर्ने अधिकांश ति हुन्, जसलाई नेताहरूले काखी च्यापेर प्रोपागाण्डाको औजार बनाउने प्रयोजनका लागि जन्माए, हुर्काए र प्रवर्द्धन गरे । गम्भीर तरिकाले राजनीतिक प्रोपागाण्डा गर्ने प्रयोजनकै लागि नेताले तालीम दिएका, आफू सत्तामा हुँदा सरकारी हण्डी खुवाएका वा सरकारी गुठीमा साझेदार बनाएर घुसाएकाहरू यस्तो कर्ममा धेरै छन् । आगे छानवीन गरेर कसैले डाटा सार्वजनिक गर्दा गलत साबित भए सहुँला ।

धेरैले पत्रकारितामा ऋषी धमलाको उदाहरण दिन्छन् । उसको प्रश्नमा नरमपन नहोला, भाषा प्रयोगमा परिपक्वता नहोला, तर उसको भित्रि भावना कसैलाई बेइज्जत गरौँ भन्ने देखिन्न । किनकि पत्रकारिता उसको जिविकाको साधनसमेत हो । पत्रकारिता गरेरै जिविका चलाउनेले अतिथिप्रति ‘अपशब्द’ बोल्दैनन् । तर कुनै दलले मिडियामा मेरो मान्छे चाहिन्छ भनेर भर्ना भएका कार्यकर्ता पत्रकार शिशि धमला, खिसि धमला सबै हुन तैयार हुन्छन् । किनकी ऊ कसैको शिशीको रक्सी पिएरै अर्कोलाई खिसि गर्न मिडिया पसेको हुन्छ ।

शैली फरक भयो होला, केही शब्द अमर्यादित समेत भए होलान्, तर त्यसको अर्थ एभेन्युज टिभीका ती अन्तर्वार्ताकारले उठाएका प्रश्न नै गलत थिए भन्ने माहोल बनाइँदैछ, जानी वा नजानी कनै ।

प्रोपागाण्डा र आक्रमणमा को उत्रिएका छन् ? शुक्ष्म रुपमा हेरिनुपर्छ । कुनैपनि राजनैतिक दलको नेतासँग नजिक भएका, कुनैबेला सरकारी नियुक्ति पाएका, खोसिएका, राजनीतिक दलको सदस्यता देव्रे खल्ती र प्रेस कार्ड दाहिनेमा बोकेर हिँडेका र अपराधी, दलाल, बिचौलियासँग धेरै ऊठबस भएका कथित पत्रकारनै हो बढि आक्रामक देखिने । र, ती त्यसरी आक्रामक हुनुको अभिष्ट पनि प्रष्टै छन् । आफैँ घृणित शन्देस फैलाउने जमात तयार गर्ने, उसलाई संरक्षण गर्ने, पालन–पोषण गर्ने अनि पत्रकारबिरुद्ध कडा कानुन ल्याउने आधार तयार पार्न तिनैलाई गलत नजिरको रुपमा अघि सार्ने, समाजमा “कन्सेन्ट” निर्माण गर्ने अनि प्रेसमाथि आफ्नो फणा फैलाउने काम कम्तिमा अहिलेको राजनीतिक नेतृत्वबाट हुनु दुःखद हो ।

अहिलेको मिडिया उद्योग नै लोकतन्त्रका लागि यि दल र दलका नेताभन्दा बढि लडेको पुस्ताको प्रभावमा छ । पूर्वपत्रकार नै सञ्चारमन्त्री हुँदा पत्रकारसँग एक दुई पल्ट बसेर छलफलपछि मात्र बिधेयक ल्याएको भए के हुन्थ्यो ?

शैली फरक भयो होला, केही शब्द अमर्यादित समेत भए होलान्, तर त्यसको अर्थ एभेन्युज टिभीका ती अन्तर्वार्ताकारले उठाएका प्रश्न नै गलत थिए भन्ने माहोल बनाइँदैछ, जानी वा नजानी कनै । वाइडबडी छानवीन गर्न बनेको समितिको नियुक्ति पत्रै नबनाई आयोगको म्याद गुज्रियो, एनसेल काण्डमा कसले, कसलाई, किन र कसरी प्रभाव पार्दैछन्, भन्ने खुलिसकेको छ । सरकारी जग्गा हडप्ने काण्डको आयोगको नियत पनि वाइडबडीकै हुने सम्भावना छ । यि विषयमा पत्रकारले प्रश्नै गर्न नपाउने हो भने नेता ज्यूहरू, स्टूडियो जाँदा आफ्नै पार्टीको पत्रकार लिएर जानुस्, जसले तपाइँले लेखिदिएको प्रश्न मात्रै सोध्ने छन् ।

टिप्पणी लेख्नुहोस्