मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधीः गगन थापा
त्रिशुलीखबर
May 16, 2019


जाजरकोट, २ जेठ । नेपाली कांग्रेसका नेता गगन थापाले मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको बताएका छन् । उनले लोकतान्त्रिक व्यवस्थामा प्रेस स्वतन्त्रता विरोधी विधेयक ल्याउनु निरंकुश तथा अलोकतान्त्रिक हर्कत भएको बताए । प्रेस स्वतन्त्रता विरोधी उक्त विद्येयकविरुद्ध सञ्चार जगत मात्र होइन आम नेपाली जनता पनि जाग्नुपर्ने थापाको भनाई छ ।

कांग्रेसको राष्ट्रिय जागरण अभियानअर्न्तगत नेपाली कांग्रेस पार्टी जाजरकोट क्षेत्र नं. –२, क्षेत्रिय कार्य समितिले थलहबजारमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

पूर्वमन्त्री समेत रहेका थापाले दुई तिहाईको सरकारले नागरिकको अधिकार खोस्दै गएको बताए । ओली सरकारले अदालत, मानव अधिकार आयोग, अख्तियार, सञ्चार लगायत क्षेत्रलाई समेत नियन्त्रणमा राख्ने हर्कत गरेको उनले दाबी गरे । ‘गणतान्त्रिक व्यवस्थामा जनताले नागरिक अधिकारको उपभोग गर्न पाउनुपर्छ, पत्रकारले गलत कामको विरोधमा लेख्न र बोल्न पाउनुपर्छ,’ थापाले भने । दुई तिहाईको केपी ओली सरकारले जनताका लागि गर्नुपर्ने काम त गर्दै गरेन, गर्न नहुने काम समेत गर्न थालेको थापाले बताए ।

‘राष्ट्रपति सडकमा निस्कँदा समेत जनताको भागभाग हुन्छ, जस्का कारण गणतान्त्रिक व्यवस्था प्रति जनतामा आक्रोस पैदा भएको छ,’ नेता थापाले भने ।

उनले पछिल्लो समय नेपाली कांग्रेस कमजोर नभएर जिम्मेवार भएको बताए । कांग्रेस गणतन्त्र, संविधान कार्यान्वयन र राजनीतिक मुल्यमान्यता प्रति जिम्मेवार भएको भन्दै थापाले प्रधानमन्त्री ओलीले जथाभावी गफलाई स्थान दिएको तर नेपाली नागरिकको हकहितमा ध्यान नदिएको बताए ।

केन्द्रीय प्रतिनिधि एवं पूर्वराज्यमन्त्री तप्तबहादुर विष्टले देशको वर्तमान अवस्था र कांगेसको भुमिकाबारे जनतालाई स्पष्ट पार्न जनजागरण अभियान लिएर गाउँ पसेको बताए । दुई तिहाई सरकारका गलत गतिविधिको भण्डाफोर गर्न जनजागरण अभियानमार्फत सम्पूर्ण देशवासी जाग्नुपर्नेमा उनले जोड दिए ।

जनजागरण अभियानमा कांग्रेस जाजरकोटका सभापति दीपकजंग शाह, नेता वेदराज सिंह, शेरबहादुर शाही लगायतको सहभागिता थियो । जाजरकोट कांग्रेसले जनजागरण अभियान अन्तर्गत सदरमुकाम खलंगा र छेडागाड नगरपालिकाको थलहबजारमा कार्यक्रम सम्पन्न गरेको छ । सोही अभियान अन्तर्गत कांग्रेसले नलगाड नगरपालिकाको दल्ली, बारेकोटको लिम्सा, कुशे गाउपालिकाको भार्म, भेरी नगरपालिकाको स्याउलीबजार लगायतका स्थानमा कार्यक्रम आयोजना गरेको छ ।

टिप्पणी लेख्नुहोस्