उद्योगमन्त्री मातृका यादवमाथि कांग्रेसका कर्मचारीले गरे हुलहुज्जत
त्रिशुलीखबर
May 16, 2019


काठमाडौँ, २ जेठ । नेपाली कांग्रेस निकट कर्मचारीले सरुवाको विषयलाई लिएर उद्योगमन्त्री मातृका यादवमाथि हातपात गरेका छन् । मन्त्रीको कार्यकक्षमा सरुवाको विषयमा भएको सामान्य विवादपछि असन्तुष्ट कर्मचारीले मन्त्रीमाथि आक्रमण गरेका हुन् ।

उद्योग विभागमा केही दिनअघि कर्मचारी सरूवा गरिएको थियो । सोही विषयमा मन्त्री यादव र असन्तुष्ट कर्मचारीबीच हात हालाहाल भएको मन्त्रालय श्रोतले जानकारी दिएको छ ।

नेकपा निकट कर्मचारी विनोद खड्काको सरुवा भएको विषयलाई लिएर नेपाली कांग्रेस निकट कमर्चारीले मन्त्रीसँग विवाद गरेका थिए । त्यस क्रममा मन्त्री यादवको कार्यकक्षमा मन्त्री र कर्मचारीबीच हात हालाहाल भएको हो । तर, कांग्रेस निकट कर्मचारीले भने शोभाकर रेग्मीलाई वाणिज्य विभागमा सरुवा गर्न चाहेका थिए ।

शुरुमा मन्त्रीका निजी सचिव प्रेम आचार्यसँग विवाद भएको थियो । नेपाली कांग्रेस निकट कर्मचारी संघका नेताहरुले अश्लील गाली गर्दै हातपातमा उत्रिएको स्रोतले बताएको छ । कांग्रेस निकट कर्मचारी युनियनका उपाध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा हुलहुज्जत भएको हो । निजी सचिवसँग कमर्चारीको वादविवाद भइरहेको कार्यकक्ष भित्र रहेका मन्त्रीले सुनेको र के भएछ भनी बाहिर आउँदा मन्त्री यादवमाथि दुर्व्यवहार भएको बताइएको छ । होहल्ला रोक्न बाहिर निस्किएका मन्त्रीमाथि हातपात प्रयास भएपछि मन्त्रालय श्रोतले प्रहरी बोलाएका थिए । लगत्तै कर्मचारी नेताहरु भागेका थिए ।

यसैबीच कांग्रेस निकट कर्मचारी युनियनले मन्त्रीले आफ्ना नेतामाथि हातपात गरेको आरोप लगाएको छ । मापदण्ड बिना आर्थिक चलखेलमा कर्मचारी सरुवा गरेको सन्दर्भमा निजी सचिवसँग कुरा गर्न जाँदा मन्त्री बाहिरै आएर आक्रमण गरेको युनियनका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीले आरोप लगाए । उनले ढोका थुनेर आक्रमण गरेपछि हात हालाहाल भएको र त्यसक्रममा आफ्ना दुईजना साथी घाइते भएको दावी गरे ।

टिप्पणी लेख्नुहोस्