पत्रकारलाई एक करोड जरिवाना तिराउने प्रदेश -२ को सञ्चार विधेयक
त्रिशुलीखबर
May 16, 2019


जनकपुर, २ जेठ । मिडिया काउन्सिल विधेयकलाई लिएर देशभर पत्रकारहरु आन्दोलित भइरहेका बेला प्रदेश २ सरकारले पनि पत्रकारलाई एक करोडसम्म जरिवाना गर्ने गरी विधेयक ल्याएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बिहीबार सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा दर्ता गराएका छन् । विधेयकमा पत्रकारलाई अत्यधिक जरिवाना तिराउने व्यवस्थाहरु प्रस्ताव गरिएको छ ।

विधेयकमा ‘प्रदेशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच आउने विषय’मा समाचार लेखेकोमा कसुरको मात्रा हेरेर पचास लाखदेखि एक करोडसम्म जरिवाना गर्नसक्ने प्रावधान राखिएको छ । प्रदेशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता भनेर के भन्न खोजिएको हो भन्ने जिज्ञासामा प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवले गोलमटोल जवाफ दिएका छन् ।

प्रदेशमा पर्ने कुनै जिल्ला वा क्षेत्र यो देशकै होइन भनेर प्रचार हुन सक्ने भएकाले प्रदेशको सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा आँच आउने गतिविधि गर्नेहरुलाई कडा दण्ड जरिवाना प्रस्ताव गरिएको उनले बताए ।

यस्तै संघीय ईकाईहरुको सु–सम्बन्धमा आँच आउने, विभिन्न जातजाति, धर्म वा सम्प्रदायको सु–सम्बन्धमा खलल पार्ने विषय प्रशासन तथा प्रकाशन गरेमा एक लाखदेखि पाँच लाखसम्म जरिवाना गर्न सक्ने प्रावधान राखिएको छ । गाली बेइज्जती गरेकोमा तीनदेखि दश लाखसम्म जरिवाना हुने र यो कसुरबाट कसैलाई क्षति पुगेमा मनासिव क्षतिपूर्ति भराउनुपर्ने विधेयकमा उल्लेख छ । यस्तै सार्वजनिक शिष्टाचार र नैतिकको प्रतिकूल हुने विषय, श्रमप्रति अवहेलना गर्ने र जातीय छुवाछुत एवं लैगिंक तथा सामुदायिक भेदभावलाई दुरुत्साहन गर्ने समाचार लेखेमा कसुर गरेको मात्रा हेरी एक लाखदेखि पाँच लाखसम्म जरिवाना हुने व्यवस्था राखिएको छ ।

विधेयकमा प्रदेशमा आमसञ्चार माध्यम प्राधिकरण गठन गर्ने व्यवस्था गरिएको छ । ऐन अनुसार काम भए नभएको हेर्ने र कसुर हेरेर पचास हजारदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ । विधेयक बनाउने क्रममा मन्त्रालयले सम्बद्ध पक्षहरुसँग पनि छलफल गरेको थियो । त्यसबेला दण्ड सजायसम्बन्धी यो व्यवस्था थिएन । ‘यो अन्तिम चरणमा आयो । मैले पनि संवैधानिक समितिमा छलफल गर्दा कम गर्नुपर्छ कि भनेको थिएँ’ मन्त्री यादव भन्छन्, ‘यो रामायण, गीत होइन । थप छलफल गरेर परिर्माजन गर्न सकिन्छ ।’

टिप्पणी लेख्नुहोस्