प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक
त्रिशुलीखबर
May 18, 2019


राष्ट्रिय खेलकुद परिषद्(राखेप)को आयोजना र नेपालय इन्टरनेशनलको व्यवस्थापनमा हुने प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

व्यवस्थापक नेपालय इन्टरनेशनल र मुख्य प्रायोजकका एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजबीच सम्झौता कार्यक्रममा शनिबार प्रतियोगिताको खेल तालिका पनि सार्वजनिक गरिएको हो।

यसअघि जेठ १ गतेबाट शुरु हुने भनिएको प्रतियोगिता अब आगामी जेठ १० गतेबाट त्रिवि क्रिकेट मैदान कीर्तिपुर र तल्लो मुलपानी क्रिकेट मैदानमा हुने भएको छ।

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीहरुको सहभागिता रहनेछ। सार्वजनिक खेल तालिका अनुसार समूह ए मा एपीएफ, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम र गण्डकी प्रदेश छन् भने समूह बीमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश २ र प्रदेश १ छन्।

सार्वजनिक खेल तालिका अनुसार मुलपानी मैदानमा नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेलअघि उद्घाटन समारोह आयोजना गरिनेछ। सोही समयमा प्रदेश २ र त्रिभुवन आर्मी क्लबकाबीच त्रिवि क्रिकेट मैदानमा पनि खेल हुनेछ।

जेठ २० गतेसम्म समूहका खेलहरु हुनेछन् भने २२ र २३ गते सेमिफाइनल तथा २४ गते फाइनल खेल हुनेछन्। सेमिफाइनल र फाइनल खेलहरु त्रिवि मैदानमा हुनेछन्। सबै खेलहरु बिहान ९ बजे शुरु हुनेछन्।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। उपाधि विजेता टोलीले २० लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाख हात पार्नेछ। यसैगरी उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल र उत्कृष्ट ब्याट्सम्यान तथा बलरले समान ५०–५० हजार पुरस्कार पाउँने आयोजकले जनाएको छ।

प्रतियोगिताका दौरान खेलाडी हानेको छक्कालाई मैदानबाहिर एक हातले क्याच समाप्ने दर्शकले ५० हजार पाउँने आयोजकले जनाएको छ। १ करोड ७५ लाख बजेट रहेको प्रतियोगिताको ८० लाख रुपैयाँ राखेप र त्यसबाहेकको रकम नेपालयले व्यवस्था गर्नेछ।

मुख्य प्रायोजकमा एक्सपर्ट

सम्झौता पत्र आदानप्रदान गर्दै नेपालय र एक्सपर्टका प्रतिनिधि

यसैबीच प्रतियोगिता व्यवस्थापक नेपालय इन्टरनेशनल र एक्सपर्टकाबीच मुख्य प्रायोजन सम्झौता भएको छ। प्रायोजन रकमबारे भने खुलाइएको छैन्।एक्सपर्टका काठमाडौं निर्देशक खेम संग्रौला र नेपालयका अध्यक्ष सुवास प्रधानले सम्झौता आदान प्रदान गरेका थिए। सम्झौतासँगै प्रतियोगिताको नाम एक्सपर्ट प्रधानमन्त्री कप भएको छ।

सम्झौता कार्यक्रममा मन्तव्य राख्दै एक्सपर्टका काठमाडौं निर्देशक संग्रौलाले आफूहरुले विगत पाँचवर्ष देखि स्कुल, कलेज लेभलको क्रिकेट हुँदै सिनियरस्तरको क्रिकेटमा सहयोग पुर्याउँदै आएको र आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउँने बताए।

‘हाम्रो नारा नै ‘सबै मिली नेपाली क्रिकेटको प्रवर्धन गरौं’ भन्ने छ,’ उनले भने, ‘हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि स्कुल, कलेज लेभलको क्रिकेट हुँदै सिनियरस्तरको क्रिकेटमा लगानी गरिरहेका छौं। खेललाई प्रोत्साहन गर्ने काम हामी आगामी दिनमा पनि जारी राख्नेछौं।’

यस्तै एक्सपर्टका कन्ट्रि म्यानेजर शरद पाठकले क्रिकेटबाट सहयोग माग्न आउँदा कहिल्यै नाई नभनेको उल्लेख गर्दै आफूहरुको क्रिकेटसँगको निकटता आगामी दिनमा अझै लामो सहकार्यमा अघि बढ्ने बताए।

चीनमा मैत्रीपूर्ण खेल खेलाउँने प्रयास
सम्झौता कार्यक्रममा नेपालयले आफूहरुले चीनमा नेपाली टोलीलाई मैत्रीपूर्ण खेल खेलाउँने प्रयास गरिरहेको बताएको छ।

चीनमै १५ वर्षदेखि कार्यरत नेपालयका अन्तर्राष्ट्रिय परामर्शदाता विश्वास श्रेष्ठले नेपाली क्रिकेटले पाएको सफलतामा इट्टा थप्न आफूहरुले चीनको राष्ट्रिय खेलकुद परिषद्सँगको समन्वयनमा नेपाल–चीन मैत्री खेल खेलाउँने प्रयास गरेको बताउँदै केही दिनमा सो बारे विस्तृतमा जानकारी दिने बताए।

यस्तै कार्यक्रममा नेपालयका प्रमुख कार्यकारी अधिकृत आशिष प्रसाईले विभिन्न समस्याका बाबजुद नेपाली खेलाडीहरुको मेहनतले नेपाली क्रिकेट यहाँसम्म पुगेको भन्दै आगामी भविष्यलाई सुन्दर बनाउँन आफूहरुले सक्दो सहयोग गरेको बताए।
‘हामीले विगतको सफलतामा मात्रै रमाउँनु हुँदैन्,’ उनले भने, ‘भविष्य सुन्दर बनाउँन अहिलेबाट नै पहल थाल्नुपर्छ। त्यसैका लागि प्रधानमन्त्री कप एक खुट्किलो बन्ने विश्वास लिएका छौं।’

जर्सी सार्वजनिक
सोही कार्यक्रममा ७ प्रदेश र ३ विभागीय टोलीहरुले लगाउने जर्सी समेत सार्वजनिक गरिएको थियो। राष्ट्रिय टोलीका कप्तान पारस खड्कासहित आर्मीका कप्तान विनोद भण्डारी, नेपाल पुलिस क्लबका कप्तान मन्जित श्रेष्ठ, एपीएफका उपकप्तान पृथु बास्कोटा लगायत नेपालय र एक्सपर्टका प्रतिनिधिहरुले जर्सी सार्वजनिक गरेका थिए।

जर्सीको डिजायन सञ्जीव कर्माचार्यले गरेका हुन्। उनले प्रत्येक प्रदेशको विशेषता झल्कने गरि जर्सीको निर्माण गरिएको बताए। राखेप सदस्यसचिव केशबकुमार विष्टले यस किसिमको ब्रान्डेड जर्सी सरकारी प्रतियोगितामा आजसम्म खेलाडीले नपाएको बताए।

राष्ट्रपति कप अन्तर्राष्ट्रिय क्रिकेट हुने
राखेप सदस्यसचिव केशबकुमार विष्टले आगामी वर्षबाट राष्ट्रपति कप अन्तर्राष्ट्रिय आमन्त्रित क्रिकेट प्रतियोगिता हुने वताएका छन्।

नेपाल क्रिकेट संघ निलम्बनमा रहेका बेला क्रिकेटको अभिभावकत्व राखेपले लिने उल्लेख गर्दै उनले बजेटमा उक्त प्रतियोगिताको व्यवस्था गरिसकेको बताए। राखेपको आयोजनामा हाल प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामात्रै हुँदै आएको छ।

सदस्यसचिव विष्टले प्रधानमन्त्री कपमा नेपालयले अन्तर्राष्ट्रिय स्तरको व्यवस्थापकीय क्षमता देखाए राष्ट्रपति कप अन्तर्राष्ट्रिय आमन्त्रण कप क्रिकेट प्रतियोगिताको जिम्मा समेत दिनसक्ने उल्लेख गरे।

‘विगतमा नेपालयले गरेको व्यवस्थापनबाट सन्तुष्ट भएर नै हामीले यसवर्ष पनि उहाँहरुलाई प्रतियोगिता व्यवस्थापनको जिम्मा दिएका हौं,’ सदस्यसचिव विष्टले भने, ‘यसवर्ष उहाँहरुले कुशल व्यवस्थापनका साथ प्रतियोगिता आयोजना गर्नुभयो भने राष्ट्रपति कपको जिम्मा पनि उहाँहरुले पाउन सक्नुहुन्छ।’

यो प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण हो। यसअघि पहिलो संस्करण काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरले आयोजना गरेपनि दोस्रो संस्करण नेपालयले आयोजना गरेको हो।

टिप्पणी लेख्नुहोस्