रातभर गुफाभित्र ध्यानमा बसेका मोदीविरूद्ध उजुरी
त्रिशुलीखबर
May 19, 2019


नयाँदिल्ली, ५ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचन आचार संहिताको उल्लंघन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । प्रतिपक्षी दल कंग्रेस आईका सांसद प्रदीप भट्टाचार्यले मौन अवधिमा मोदीको केदारनाथ र बद्रीनाथ भ्रमणको मिडिया कभरेजले आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी हालेका हुन् ।

गत अप्रिल ११ देखि सुरू भएको भारतीय लोक सभा चुनावको अन्तिम चरणको मतदान आइतबार हुँदैछ । जसमध्ये मोदी उम्मेद्वार रहेको उत्तरप्रदेशको वनारस पनि एक क्षेत्र हो ।

‘केदारनाथ भ्रमणबारे जसरी मोदीले मिडिया कभरेज गराए त्यो अरू केही होइन आचारसंहिताको उल्लंघन हो । सबै मिडियामा उनको भ्रमण छाएको छ । मतदानको अघिल्लो दिन यस्तो गर्नु के मतदातालाई प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्ने तरिका होइन ?,’ भट्टाचार्यले भने, ‘उनको भ्रमणका हरेकक्षणका कुरा लाइभ प्रसारण भएका छन् । यसमा मतदातालाई प्रभाव पार्ने कुत्सित मनसाय छ, जुन गलत हो ।’ तृणमूल कंग्रेस पार्टीले पनि मोदीले आइतबार बिहान केदारनाथमा मिडियालाई गरेको सम्बोधनले आचारसंहिता उल्लंघन भएको भन्दै आयोगमा उजुरी गरेको छ ।

यसअघि मोदीले आइतबार केदारनाथमा आफुलाई केदारनाथ भ्रमण गर्न अनुमति दिएको भन्दै धन्यवाद ज्ञापन गरेका थिए । शनिबार राति केदारनाथको गुफामा बिताएका मोदी आइतबार बिहान बद्रीनाथ पुगेका छन् । मोदीको भारतीय जनता पार्टी हिन्दुत्वको नारा लिएर राजनीति गरिरहेको छ । गुजरातका मोदी आफैं पनि हिन्दुहरूको धार्मीक तीर्थस्थल उत्तर प्रदेशको बनारसबाट चुनाव लडेका छन् । तिनै हिन्दु मतदाताको ध्यान तान्न मोदी शनिबार हिन्दुहरूका चार धाममध्येको एक केदारनाथ पुगे । उनले केदारनाथमा प्रधानमन्त्रीको रूपमा त्यहाँ भइरहेको पुनर्निर्माणको निरिक्षण गरे अनि केहीबेरमा प्रधानमन्त्रीबाट तपस्वी बने । पहेँलो सल ओढेर उनी ध्यान गर्ने भन्दै ११ हजार ७ सय फिट उचाइमा रहेको गुफाभित्र पसे ।

प्रायस् ध्यान एकान्तमा गरिन्छ र बाँकी भौतिक दुनियाँबाट आफुलाई विच्छेद गर्ने प्रयत्न गरिन्छ । तर, मोदीको ध्यान भने फरक थियो । उनी गुफाभित्र पस्नासाथ ध्यान गरिरहेको तस्बीर सञ्चारमाध्यममा छाइसकेको थियो । त्यसपछि उनको ध्यान समाचारको शीर्षक र सामाजिक सञ्जालमा चर्चा परिचर्चाको विषय बन्यो । उनको यो शैलीलाई कतिपयले हिन्दु मतदातालाई प्रभाव पार्न गरिएको प्रचारको एक हिस्सा ठानेका छन् । मोदी कुनै सामान्य गुफामा ध्यान बसेका होइनन् ।

समाचारपत्र टाइम्स अफ इन्डियाका अनुसार उक्त गुफामा ध्यान गर्ने मोदी पहिलो व्यक्ति हुन् । मोदीको ध्यानका लागि गुफामा व्यापक प्रबन्ध गरिएको थियो । सिसिटिभी जडान गरिएको थियो । उक्त सिसिटिभीका दृश्यलाई बाहिर बसेका सुरक्षाकर्मी निरन्तर अवलोकन गरेका थिए । गुफाभित्र ओछ्यानसहितको एउटा कोठाको व्यवस्था छ । सोही कोठामा अट्याच बाथरूम पनि छ । सँगै ध्यान गर्न खाली जमिन छ भने कोठाको झ्यालबाट बाहिरको सुन्दर दृश्य देखिन्छ ।

मोदीले गुफाभित्र रातभर ध्यान गरे वा निदाए ? यो जिज्ञासा आम मानिसको छ तर जिज्ञासा भने मेटिएको छैन । खास भित्र के भएको थियो सो कुरा खुलाइएको छैन ।

‘म भगवानसँग कहिले पनि केही माग्दिनँ, म यहाँ शान्ति, प्रार्थना र ध्यानका लागि आएको हुँ,’ आइतबार बिहान मोदीले सञ्चारकर्मीसँग भने । उनी आइतबार उत्तराखण्डमै पर्ने अर्को धाम बद्रीनाथ जाने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको यो तिर्थाटनलाई निजी भ्रमण भनिएको छ । मोदी उम्मेदवार रहेको बनारस लगायत ५९ सिटमा आज लोकसभाका लागि मतदान हुँदैछ । आज हुने सातौं चरणको मतदानसँगै अप्रिल ११ मा सुरू भएको भारतीय लोकसभाको मतदान प्रक्रिया सकिनेछ । भारतीय निर्वाचन आयोगले आगामी बिहीबार लोकसभा चुनावको मत परिणाम सार्वजनिक गर्ने जनाएको छ ।
–एजेन्सी

टिप्पणी लेख्नुहोस्