रेलको ‘हल्ला’ नेपालमा राजनीति गर्ने मेसो, चीन आश्चर्यचकित !
त्रिशुलीखबर
May 23, 2019


काठमाडौं । उत्तरी छिमेकी चीनबाट रेल ल्याउने विषयमा काठमाडौंमा भएको बहसले बेइजिङ अचम्मित बनेको छ । हिमाल छेडेर वा नघाएर रेल ल्याउने कार्य अहिलेसम्मकै जटिल भएकाले यसमा अध्ययन जारी रहेको उल्लेख गर्दै आजै वा भोलि रेल आउने झै भएको बहसले आश्चर्यमा परेको चीनले जनाएको छ । तत्काल रेल आउनेझैं भ्रमहरु बाहिर आइरहेको अवस्थामा चीनले केरूङबाट काठमाडौं रेल ल्याउन निकै कठिन हुने भन्दै यसमा अध्ययन भइरहेको औपचारिक धारणा बाहिर ल्याएको छ । यस्तो विषयमा सोच–विचार गरेर अघि बढ्न आवश्यक रहेको पनि चीनले प्रष्ट पारेको छ ।

चीनको यस्तो धारणा सार्वजनिक भएसँगै नेपालमा रेलको हल्ला राजनीति गर्ने मेसो बनाउन खोजेको प्रष्टिन्छ ।

बालुवाटार स्थित चिनियाँ दूतावासमा विहिबार विहान पत्रकारसँग औपचारिक अन्तरक्रिया गर्दै चिनियाँ राजदूत होउ यान्छीले भनिन्, ‘यस्तो भूगोल छ, जहाँबाट चिनियाँ रेल आज कुरा गरेर भोलि नै आउने विषय होइन । म पनि यहाँ भइरहेको बहस सुनेर अचम्मित हुन्छु ।’ राजदूतको रुपमा जिम्मेवारी लिएर आएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै उनले भनिन, ‘रेलको विषयलाई यहाँ हल्का रुपमा हेरिएको छ । त्यस्तो होइन । साँच्चै भन्नुपर्दा यो संसारकै अप्ठेरो ठाउँमा रेल निर्माण गर्ने प्रसंग अघि बढेको छ । यसका लागि धेरै वैज्ञानिक अध्ययनहरू आवश्यक पर्छ ।’

बेल्ट एण्ड रोड इनिसियटिभ ९बीआरआई० को दोस्रो अन्तराष्ट्रिय सम्मेलन, राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण र चीन–अमेरिका ब्यापार विवादको यथार्थ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यान्छीले यस्तो धारणा राखेकी हुन् ।

उनले यस्ता आयोजना दीर्घकालीन हुने र समय धेरै लाग्ने बताइन् । सामान्य आयोजना निर्माणमा पनि पूर्वसम्भाव्यता, त्यसपछि सम्भाव्यता अध्ययन गर्दै निर्माणको ढाँचा तयार गर्न आवश्यक हुने सन्दर्भ उल्लेख गर्दै उनले भनिन्, ‘केरुङ काठमाडौं रेलको त बल्ल सम्भाब्यता अध्ययनको बारेमा छलफल चलिरहेको छ । सम्भाब्य अध्ययन नै निकै खर्चिलो पाटो हुनाले यसको मोडलहरुबारे धेरै छलफलपछि मात्र भन्न सकिन्छ ।’ सम्भाव्यताको अध्ययन सकिएपछि ढाँचा ९मोडालिटस्० को चरणमा प्रवेश हुने र चौथो चरणमा निर्माणको कार्य अघि बढ्ने हुनाले यसमा आज र भोलि भनेजस्तो छलफल र बहसमा प्रवेश गर्न नचाहेको भन्दै यसले लामो समय लिने स्पष्ट पारिन् ।

‘बल्ल पूर्वसम्भाव्यता अध्ययन सकिएको छ । अब यसको सम्भाव्यता अध्ययन हुनेछ । त्यसका लागि नै निकै ठूलो रकम चाहिन्छ । रकम कसरी जुटाउने भन्नेमा नै छलफल चलिरहेको छ,’ उनले भनिन् ।

रेल प्रसंग चलेपछि चिनियाँ कम्पनी फस्ट सर्वे एण्ड डिजाइन इन्स्टिच्युटले नेपालको रेल विभागसँग मिलेर केही महिनाअघि काठमाडौं–केरूङ रेलबारे पूर्वसम्भाव्यता अध्ययन सकेको हो । चीनले हिमाल छेडेर वा नघाएर रेल ल्याउन सक्ने बताइसकेको छ । तर त्यसको लागि अध्ययनले रसुवागढीबाट काठमाडौंको रिङरोड नजिक ७२ किलोमिटर रेलमार्ग निर्माणको लागि कम्तिमा नौ बर्ष लाग्ने र अधिकांश स्थानमा सुरुङ र पुल निर्माण गर्नुपर्ने उल्लेख गर्दै आएको छ । अध्ययनको खर्च चिनियाँ पक्षले व्यहोर्ने विषय र निर्माण ढाँचाबारेमा छलफल चलेको जानकारी दिइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण नेपालमा गणतन्त्रपछि बेइजिङको पहिलो यात्रा रहेकाले यो निकै महत्वपूर्ण भएको पनि राजदूत यान्छीले बताइन् । गत महिनाको उक्त राजकीय चीन भ्रमणलाई उनले नेपाल–चीन सम्बन्धमा स्थायी विकासबारे नयाँ आयामअघि बढ्ने पाटोको रुपमा ब्यख्या गरिन् । बीआरआई सम्मेलनमा ३८ मुलुकका राष्ट्र एवं सरकार प्रमुखको साथमा छिमेकी नेपालका राष्ट्रपतिले राखेको धारणा साच्चै सराहनीय रहेको र भएका सम्झौताले नेपाल–चीन सम्वन्धमा आयम थपेको पनि उनले बताइन् । हिमालय वारपार बुहआयामिक सम्पर्क संजालमा हस्ताक्षरले चिनियाँ रेल काठमाडौं आउने विषयमा अर्को एक कदमअघि बढेको उनले बताइन् ।

‘रेलमात्र होइन समग्र संजाल विस्तार चीनको धारणा हो भन्दै यसमा नेपालले दिएको साथलाई हामी सरहना गर्छौ’ उनले भनिन् । उनले नेपाल ल्याउने भनिएको रेलबारे चीनको अनुदान हुने या नहुने विषयमा यो चरणमा अझै आफुहरु नपुगेको र छलफल र प्रक्रियाहरु अघि बढिरहेको बताइन् ।

हामी सहकार्य गर्न अघि बढेका हौं कुनै नेतृत्व गर्न वा शक्तिशाली हुन होइन भन्दै उनले भनिन, ‘हाम्रो धारणा स्पष्ट छ । समान विकास, खुला र पारदर्शी सहकार्य ।’

‘पछिल्लो समय विश्वमा के भइरहेको सबैलाई स्पष्ट छ । लोकतन्त्र खुला बजारको पहरेदार भन्नेहरुले कस्तो प्रकारको आचरण देखाएका छन् । आफ्नो कुरा मात्र लाद्ने र त्यसमा सहमत नभए अनेकन अड्चन ल्याउने विषय अब विश्वलाई सैह्य हुँदैन,’ उनले भनिन, ‘हामी यही खुला बजारको पक्षमा नै वकालत गरिरहेका छौं कुनैपनि परियोजना सम्वन्धित मुलुकको चाहना र मोडलमा नै निर्माण हुनेहो । यसमा हाम्रो आफ्नो मोडालिटी राखेर विन–विन अवस्था ९दुवैलाई फाइदा० मा सहकार्य अघि बढ्छ,’ उनले भनिन् ।

जेठ १५ देखि तातोपानी नाका खुल्नेः
भूकम्पपछि पूर्ण रुपमा बन्द भएको तातोपानी नाका जेठ १५ देखि खुल्ने भएको छ । ‘नाका पुनर्निर्माण कार्य सकिएको र अब अर्को सातादेखि संचालनमा आउने निश्चित छ,’ राजदूत यान्छीले भनिन् । यो नाका अहिलेको लागि मालवाहक सवारी साधनमात्र संचालन हुनेगरि चल्छ । त्यो क्षेत्र निकै जोखिमपूर्ण रहेकाले तिब्बतको स्थानीय सरकारले बस्तीनै सार्नु परेको थियो । जोखिम कायम नै हुनाले जनस्तरको आउजाउ अझै खुला नगरिने भएको उनले स्पष्ट पारिन् । नेपाल(चीन ब्यापार वृद्धि हुने विश्वास गर्दै नाकामा चहलपहल बृद्धि हुने आशा व्यक्त गरिन् ।

वी च्याट र अलि पेलाई बैधानिक बनाउः
नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका चिनियाँ मोबाइल पेमेन्टलाई बैधानिक बनाएर अघि बढाउन चीनले चाहेको राजदूत यान्छीले स्पष्ट पारिन् । चिनियाँ पेमेन्ट एपहरु वी च्याट र अली पेलाई नेपालमा प्रतिबन्ध लगाएकोमा नेपाल सरकारले ब्यापारको ढोका बन्द गरेको चिनियाँहरुले बुझेको उनले बताइन् । त्यसलाई वैधानिक रूपमा कारोबारको लागि नेपाल सरकारले पूर्वाधार बनाएर अघि बढ्न पर्ने धारणा चिनियाँको छ ।

उनले पर्यटक पूर्वाधारको रुपमा रहेका ती पेमेन्ट एपलाई अनुमतिका लागि नेपालका नियमनकारी निकायले खुला गर्नपर्ने र त्यसलाई बैधानिकता दिनुपर्ने धारणा राखिन् । अहिलेका पर्यटक रकम बोकेर हिड्दैनन् त्यो बाटो आवश्यक रहेकाले यसमा अध्ययन होस् र काम गरोस् भन्ने चाहना रहेको पनि उनले सुनाइन् ।

‘वी च्याट र अली–पेमाथि प्रतिबन्ध जानकारीमा आएपछि दूतावासले ती कम्पनीका प्रतिनिधिसँग सम्पर्क गर्दा उनीहरुले बैधानिक रुपमा नेपाल आउन चाहेको जनाएका छन्,’ पत्रकार सम्मलेनमा राजदूतसँगै रहेका दूतावासका अर्थ एवं वाणिज्य हेर्ने काउन्सुलर जाङ फाङले भने, ‘सरकारी नियमनकारी निकायले उनीहरुका लागि ढोका बन्द होइन खुला गरिदिनुपर्छ । कुनै अबैधानिक कार्य गरेको भए त्यसमा कारबाही गर्ने दायित्व सरकारको हो तर ढोका बन्द गरेर होइन खुला राखेर त्यो कार्य गर्नुपर्छ ।’

उनले मोबाइल भुक्तानी एपहरुले पनि नेपालको नियम कानुन पूर्ण रुपमा पालना गर्नुपर्ने धारणा राखे । नेपालमा चिनियाँ पर्यटकको संख्या बढिरहेको सन्दर्भमा त्यस्तो विषय महत्वपूर्ण रहेको बताए । यदी नेपालले यस्ता विषयमा ध्यान नदिए ठूलो पर्यटक गुम्ने पनि उनको भनाइ थियो ।

टिप्पणी लेख्नुहोस्