देशै हल्लाउने एउटा शंका: हल्ला हो कि साँच्चै हो ?
त्रिशुलीखबर
June 4, 2019


काठमाडौं । सोलखुम्बुको सदरमुकाम सल्लेरीबाट २५ कोस टाढा पर्छ महाकुलुङ गाउँपालिका । उक्त गाउँपालिका सोमबार दिनभर राष्ट्रिय राजनीतिको केन्द्रमा परिरह्यो । सञ्चारमाध्यमका लागि त्यो ठाउँ दिनभर चासो र खोजीको विषय बनिरह्यो । कारण हो गाउँपालिका–३ छेस्काममा रहेको प्रहरी चौकी सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपाका नेताकार्यकर्ताले रातभर कब्जा लिएको ‘सनसनीपूर्ण समाचार’ ।

विप्लवका कार्यकर्ता प्रहरी चौकी कब्जा गर्न आएको सूचनापछि त्यहाँ कार्यरत प्रहरी सुरक्षित स्थानमा भागेको, विप्लवका कार्यकर्ताले चौकी पाँच घन्टा नियन्त्रणमा लिएको जस्ता समाचार आइरहे । घटनाको पुष्टि न प्रहरीले गर्‍यो न स्थानीयले ।

सनसनीपूर्ण खबरपछि गृह मन्त्रालयमा सुरक्षा निकायका तीनवटै प्रमुखसहित मन्त्रीको बैठक बस्यो । बैठकले त्यस क्षेत्रमा सुरक्षा निकाय सचेततापूर्वक परिचालन गर्ने निर्णय गर्‍यो ।

स्थानीय बासिन्दाका अनुसार त्यहाँ न विप्लवका नेताकार्यकर्ताले धावा बोलेका थिए, न कब्जा गर्ने उद्देश्यले नै पुगेका थिए । त्यहाँ विप्लवका नेताकार्यकर्ता भने देखिएका थिए । गाउँपालिकाका अध्यक्ष सागर किरातीले चौकीमा आक्रमणबारे आफूलाई जानकारी नभएको टेलिफोनमार्फत अन्नपूर्णलाई बताए । उनले केही दिनदेखि गाउँमा बाहिरबाट आएका व्यक्तिको बाक्लो उपस्थिति भने स्वीकारे । ‘गाउँपालिकाको ५ नम्बर वडाको नुर्कुम र अन्य केही ठाउँमा विप्लवका कार्यकर्ताको आउजाउ गरिरहेको रिपोर्ट आएको हो,’ अध्यक्ष किरातीले भने, ‘नेपाल प्रहरी र सशस्त्रको गस्ती परिचालन भएको छ। तर यहाँ अहिलेसम्म कुनै घटना भएको छैन ।’

स्थानीयका अनुसार उक्त क्षेत्रमा विप्लवका नेताकार्यकर्ताको भने केही समययता चहलपहल बढेको थियो । नयाँ अनुहार भएका मान्छेको चहलपहल बढेपछि प्रहरी चौकीका सीमित प्रहरीलाई आफैंमाथि आक्रमणका लागि संगठित भएर आएको सुराक पुगेको थियो ।

टिप्पणी लेख्नुहोस्