काँडेतारमा अल्झिएको युद्ध र सिमकार्डमा छिरेको सपना
त्रिशुलीखबर
June 8, 2019


-नारायण नेपाल


सबैभन्दा खतरनाक हुन्छ
मुर्दा शान्तिले भरिनु
कुनै छटपटी नहुनु
सबै सहनु
घरबाट काममा निस्कनु
र कामबाट खुरुखुरु घर फर्कनु
सबैभन्दा खतरनाक हुन्छ
हाम्रा सपनाहरूको मुत्यु हुनु  !

भारतीय कवि अवतारसिंह पासले आफ्नो कवितामा भनेझैं मान्छेहरूका लागि संसारमा सबैभन्दा खतरनाक हुन्छ सपनाहरूको मृत्यु हुनु । नेपालको माओवादी जनयुद्धलाई नियाल्ने हो भने आज एक भयावह चित्र देखिन्छ । हजारौँ नेपाली जनताको छोराछोरीको चिहान एकतर्फ छ भने जनयुद्धले देखाएका सपनाहरूको चिहान अर्कोतर्फ छ । जनमनमा प्रश्न पोखिएको छ, योद्धाहरू बरालिएका छन् र विरक्तिएका छन् तर प्रश्नहरू उठिरहेको छ, त्यो महासमरको यात्रा हिंसाको नरसंहार कि महान् उत्सर्गको विजययात्रा !

लेखक -नारायण नेपाल

माओवादी आन्दोलनको पछिल्लो विद्रोही शक्ति प्रतिबन्धित नेकपा भएसँगै मरे भनेका सपनाहरू ब्युँझिएको छ । आज माओवादी आन्दोलन आश र त्रासको दोबाटोमा उभिएको छ । समरका सपनाहरू फेरि बौरिएका छन् । सपनाको व्यापारीहरू छन् । सपनाका हत्याराहरू नहोलान् भन्न सकिन्न ? नयाँ आन्दोलन र युद्धको विकासका लागि पुरानो असफल युद्धको निर्मम समीक्षा हुन जरुरी छ । त्यही असफलताको समीक्षा र शिक्षा नयाँ युद्ध विजयको आधार बन्न सक्छ । जसरी गोर्खाली राजा नरभुपाल शाहको सेनाले व्यहोरेको पराजय पृथ्वीनारायणको लागि विजयको मार्ग खोज्ने आधार बनेको थियो, त्यस्तै छ, माओवादी कथाहरू । कतिपयले रुकुमको खारा मोर्चा नै त्यस्तो अचूक औषधि हो जसले बदल्यो हिजोको माओवादीलाई आजको संसदवादी पथमा । के हो त खारा मोर्चाको वास्तविकता ! खारामा नाफाको जीवन पाएका योद्धा र जनयुद्धका सहिद परिवारलाई दर्शक बनाउँदै प्रचण्ड, नन्दकिशोर पुन, जनार्दन शर्मालाई मञ्चमा राखेर प्रश्न सोध्न मन छ ।  लोकतान्त्रिक गणतन्त्रमा आउनुको बाध्यता भन्दै प्रचण्डले ‘म बाबुरामको लाइनमा आएको होइन, खारा मोर्चा हारेको कारण अब सकिन्न भनेर आएको हो’ भनेका कुरा केही समय अघिसम्म निकै चर्चा थियो ।

तर, खारा मोर्चाका राजनीतिक कमिसार नेत्रविक्रम चन्द ‘विप्लव’ ले– ‘खारा मोर्चा बाध्य कारणले नभएर शक्तिको केन्द्रीकरण नभएर आन्तरिक कारणले हारिएको हो’ उल्लेख गरेका छन् । यसरी शक्तिको विकेन्द्रीकरण, अन्फेन्स–डिफेन्सको तालमेल नमिल्नु नै खारा मोर्चाको असफलता मानिन्छ । खारा मोर्चाको असफलता शाही सेनाका कारण नभएर आन्तरिक कारणले भएको विप्लव पक्षका नेताहरूको धारणा छ । जनयुद्धमा खारा मोर्चाको असफलतापछि पनि रणनीतिक प्रत्याक्रमणको नीति कायम रहेको थियो । खारा हारेर फर्केको भए रणनीतिक प्रत्याक्रमणको रणनीति कसरी कायम रह्यो त ? बहस जरुरी थियो, प्रश्न अनगिन्ती थिए र रहिरहेका छन् । खारा मोर्चाको असफलता माओवादीको आन्तरिक कारण प्रधान थियो, यो समग्र जनयुद्धको पराजय थिएन, किनभने माओवादीले यो मोर्चापछि पनि थुप्रै मोर्चामा विजय प्राप्त गरेका थिए, जस्तो पिली, कपिलवस्तु, रामनगर (बुटवल), मलंगवा, थानकोट, पाल्पालगायतका मोर्चामा माओवादीले भारी सफलता प्राप्त गरेको थियो । माओवादी आन्दोलनमा वैचारिक, राजनीतिक र प्रविधिमा थप विकास आवश्यक थियो, माओवादीका लागि । युद्धक विमान र बंकर तोड्ने नयाँ चुनौती जनयुद्धमा थियो । जनयुद्ध दमनमा प्रयोग भएको अमेरिकी फोर्टिफिकेसन र काँडेतारबार एक चुनौती थियो । जनयुद्धले राष्ट्रिय मुक्तियुद्धमा प्रवेशका चुनौती सामना गर्नुपर्ने, नेतृत्व स्वयम्ले निर्णायक जोखिम मोल्नुपर्ने र समग्र विकासको चुनौतीका सामु प्रचण्डले सामना होइन आत्मसमर्पण गर्न पुगे । सबै समस्या त्यहीँबाट सिर्जना भएको देखिन्छ । शृङ्खला नयाँ एमाले जन्म र विप्लवको असन्तृष्टि हुँदै प्रतिबन्धसम्म पुगेको छ । काँडेतारमा अल्झेको युद्धको कथाले नयाँ मोड लिएको घटनाका रूपमा खारालाई लिने गरिन्छ ।

पछिल्लोपटक विप्लवको नेकपा यात्रा र प्रतिबन्धसँगै एक स्थायी समिति सदस्य सुदर्शन काभ्रेबाट गिरफ्तारमा परे । डबल नेकपा सरकार विप्लव समर्थकलाई हतोत्साही पार्ने, जेल हाल्ने, आत्मसर्मपण गराउने, गलाउने र फुटाउने रणनीतिमा लागेको छ । सत्ता र शक्तिको दुरुप्रयोग गर्दै र सागर भेट्न जाने नदीमा पौडिँदै गएका माछाहरू जलहारीको बल्छीमा परेजस्तो सूचना–प्रविधिको धरापमा परेर ठुल्ठुला घटनासमेत भएको छ  । हिजो पनि र आज पनि । निरन्तर उस्तै एम्बुसमा परेका छन् कमरेडहरू, किन होला ? यो देख्दा सुगाको कथाजस्तै लाग्छ । सुगाका पुर्खाहरूले सिकारीको सास्ती निकै भोगेका रहेछन् । सिकारीहरूको जालमा परेर धेरै सुगाहरू मरेको देखेपछि एक माउ सुगाले आफ्ना बचेरालाई नारा सिकाएछन्– सिकारी आउँछ, जाल बिच्छाउँछ, नफस्नू है । अब यो गाउँका सुगाहरू ‘गोपी कृष्ण काउ होइन; सिकारी आउँछ, जाल बिच्छाउँछ, नफस्नू है’ भन्ने नारा लागाउन थालेछन् । यो देखेर चकित भएका सिकारीहरूले नयाँ सिकारी पासो थापेछन् तर सुगाहरू भने उही जालको सम्झना गर्दै ‘सिकारी आउँछ, जाल बिछ्याउँछ, नफस्नू है’ भन्ने नारा लगाइरहेका रहेछन् । जाल र सिकारी पासो कस्तो होला भन्ने नसिकेका ती सुगाहरू केवल पुर्खाले सिकाएका नारा मात्र सिकेका थिए । बिचरा सुगाहरू सिकारी पासोमा परेर त्यही नारा लगाइरहेका थिए, ‘सिकारी आउँछ, जाल बियाउँछ, नफस्नू है ।’

उस्तै छ, कमरेडहरूको कथा पनि । हिजो प्रकाण्ड गिरफ्तारीपछि सुदर्शनको गिरफ्तारी पनि उस्तै भयो, उस्तै तरिकामा । कसैले शैली बदल्न नसकिएपछि निरन्तर गिरफ्तारी भइरहेका छन् । पछिल्लोपटक असलसमेत स्कार्पियोमा पक्राउ परे  । कतिपय कमरेडहरू पनि सुतुरमुर्गले आकाशमा गड्याङगुडुङ गर्दा जमिनमा टाउको लुकाएर सुरक्षित ठानेजस्तो माक्स लगाउने, फोन फेर्ने तर मोबाइल र फेसबुक नछोड्ने नेताहरू अधिकांश जेल जानेमा परेका थिए । अव्यवस्थित जीवनशैली, बदलिएको परिस्थितिअनुसार अभ्यस्त हुन नसक्नेहरू जेलयात्रा पुगेका छन् । समर्पण, निष्ठा भाव, त्याग र वीरता, बलिदान नहुनु, हाईफाई रवाफ तडक–भडकमा रमाउनेहरू विचारप्रतिको विश्वासकै अभाव हो । कार्यकता समातेपछि खुरुखुरु गएर नेताको सेल्टर देखाउनेबाट कसरी होला त रक्षा हेडक्वार्टरको ? नेताहरू सिम बदल्ने  र कैयौँ पूर्व सहयोद्धाहरू नै सुराकी गर्नेसम्म हर्कत गरेका छन् । जनयुद्धमा रुकुमको राडीचौकीको सफल हमलाको योजनाकार एकीकृत जनक्रान्तिको प्रक्षेपण नहुँदै दोस्रोपटक सरकारी निशानाको एम्बुसमा परेका छन् । माओले भनेका थिए– आफूलाई चिन, दुश्मन चिन, लडाइँ जित्छौ ।  किन नचिनेका होलान् कमरेडहरूले ? आफूलाई चिनेनन् कि दुश्मनलाई ?

एक समान्य कार्यकर्ता समात्दा लहरो तान्दा पहरो भनेझैँ हेडक्वार्टर नै तानिँदा प्रहरीहरू हौसिएका होलान् । मान्छेलाई कुटेर, चुटेर, यातता दिएर, षड्यन्त्र गरेर होइन; प्रशासनले गहन अध्ययन–अनुसन्धान गरेर बन्न सकोस् । हिजो मोबाइल प्रविधि थिएन, गाउँ–सहरको विकास र सडक सञ्जालको विकास थिएन । घरघर तीनतले बुइँगल थिए । कतिपय नेताहरूले दश वर्ष बुइँगलमै बिताएका थिए । आज घरहरू भुइँ छाप्रोमा बदलिएका छन् । सडक र मोबाइल सञ्जालले ढाकेको छ कुना–कन्दरा । यो समाजमा आएको बदलाव हो । रोचक त के भने पार्टीभन्दा पहिले जनवर्गीय सङ्गठनहरू भूमिगत हुने, कस्तो सङ्गठन हो ? ठोस लागेपछि ऐंया त सबैले भन्छन् तर अलि चार हात परसम्म हेर्न केले छेक्छ नेताहरूलाई ? हिजो माक्र्सले कम्प्युटर चलाएका थिएनन्, आईफोन चलाएका थिएनन् । लेनिनले फेसबुक, इमेल र ट्वीइटर चलाएनन् । अब प्रविधिको सतर्कतापूर्ण उपयोगको बारेमा नसोच्दा आन्दोलनलाई समेत क्षति पुग्न सक्ने खतरा हुन्छ । सवाल आजको हो तर प्रश्न लड्ने र जित्ने नै हो । उच्च प्रविधि र घरेलु प्रविधिको प्रयोग आवश्यकताका आधारमा सन्तुलित रूपमा गर्ने जरुरी हुन्छ । प्रविधिको प्रयोगले मान्छेको कार्यक्षमता, दक्षता र प्रभावकारितालाई थप गुणस्तरीय र विस्तार गरेको हुन्छ  । त्यसलाई सही रूपमा विकास गर्नु र आवश्यकताको आधारमा उपयोग गर्नुचाहिँ वैज्ञानिक हो । आजको दुनियाँ ड्रोन मानवरहित प्रविधिमा रमाउँदैछ । आज अरबौँ मान्छेलाई सामाजिक सञ्जालले जोडेको छ । सूचना–प्रविधिले गल्ली–गौडामा धराप थापेको छ ।

नेकपाले आजको नेपालको सामाजिक विशेषतालाई विश्लेषण गर्दै सात बुँदामा  उल्लेख गरेको थियो । सूचना–प्रविधिमा भएको क्रान्ति र यातायातको विस्तारले नेपाली समाजको नयाँ अवस्थाको विकास भएको निष्कर्ष थियो  । २१ औँ शताब्दीमा आउँदा नेपाली समाजको बदलिएको विशेषतालाई औंल्याउँदै प्रतिबन्धित नेकपाको महासचिव विप्लवले दस्तावेजमा उल्लेख गरेका छन्, ‘१९ र २० औँ शताब्दीमा विज्ञान र प्रविधिको विकास यो स्तरसम्म आइसकेको थिएन । प्रायः प्रविधिको नियन्त्रण राज्यसँगै थियो । परन्तु यो शताब्दीमा प्रविधिक क्षेत्रमा अभूतपूर्व  क्रान्ति हुन गएको छ । यसलाई विज्ञहरूले चौथो क्रान्ति पनि भन्ने गरेका छन् । प्रविधिमा जनताको पहुँचले गर्दा विगतकालका सामाजिक सम्बन्धहरू बदलिएका छन् । प्रविधिबिना समाज नै अपाङ्ग बन्ने देखिन्छ ।’ यसरी नेपाली समाज र प्रविधिको बारेमा व्याख्या गर्दै दस्तावेज लेखिने र नेता–कार्यकता त्यही असावधानीले जेल जाने, कस्तो संयोग ! आज हामीलाई सूचना–प्रविधिले एकातिर पुरा खुल्ला र व्यापक बनाएको छ, समाजलाई साँघुरो र बन्दकोठामा कैद गरेको छ । कम्प्युटर, टेलीभीजन, मोबाइल फोन, अनलाइन, फेसबुक, यातायातका साधनहरू अत्यावश्यक रहेका छन् । र, त्यही नै धराप पनि थाप्दैछन् । हिजो लेनिन र माओका बेलामा महिनौँ र बर्षौँ लाग्ने सूचना आपसी सम्बन्ध र जान–पहिचान आज मिनेटमै जोडिन पुगेको छ । हप्तौँ र बर्षौँ कुर्नुपर्ने सूचना र सम्बन्धहरू आज सेकेन्डमा सहजतापूर्वक भएका छन् । यो प्रविधिको विकास हो; जसको बोध र सही रूपमा ग्रहण गर्दै क्रान्तिको यात्रामा अगाडि जान जरुरी छ ।

हिजो कृष्णबहादुर महराले सञ्चारमन्त्री हुँदा ल्याएको घर–घरमा इन्टरनेट र हातहातमा मोबाइल सेटको नारा त्यही व्यापारको एजेन्डा थियो कि सूचना–प्रविधिमा क्रान्ति ? आज मेडिकल साइन्सले ठूलो चिरफार नगरी सानो प्वाल पारेर ठूलो अपरेसन गर्ने सक्ने विधिको विकास गरेको छ । हाम्रो समाज विज्ञानमा नयाँ विचारले सानो धक्का, कम बलिदान र कम क्षतिबाट ठूलो उपलब्धि प्राप्त गर्ने युद्ध जित्ने अवस्था निर्माण हुन सक्छ । उत्तरको ठूलो छिमेकीले विखण्डन र एकीकरणको विशाल आरोह–अवरोह खेपेको छ । दक्षिणको छिमेकीले बेलायती उपनिवेश खपेको छ । तर, यो सानो टुक्रा कसरी बँचेको छ ? त्यो इतिहासको गौरवलाई जोड्न सक्छ त अबको क्रान्तिले ? त्यसको भू–राजनीतिक, ऐतिहासिक, अर्थ–राजनीतिक र समाजशास्त्रीय आधारहरू पहिल्याउन जरुरी छ ।

भनिन्छ, मरे भनेका सपनाहरू ब्युँझिएको छ । आज माओवादी आन्दोलन आश र त्रासमा उभिएको छ । फेरि त्यो आजादीको सपनाहरू एक लडाइँको सङ्ग्राममा निडर भएर उभिएको छ । जनताको मुक्तिका लागि निरन्तर लड्न जरुरी हुन्छ । सिमकार्डमा अल्झेका सपनाहरू उजेल्न जरुरी छ ।

टिप्पणी लेख्नुहोस्