‘मिलियन डलर’को प्रश्नले नेकपा भन्नै लाजमर्नु भयोः नेता घनश्याम भुसाल
त्रिशुलीखबर
June 9, 2019


काठमाडौं । एउटा क्याम्पसमा स्ववियू सभापति भइसकेका मेरा एक साथी अहिले व्यापारमा छन् । केही दिनअघि एक दुई पेग ह्विस्की लिएपछि उनले मलाई सोधे –भुसालजी, जुनवर्गका लागि हामी राजनीतिमा लागेका थियौं । पार्टीमा त त्यो वर्ग नै छैन । कहाँ गयो त्यो वर्ग ?

मलाई उनको त्यो प्रश्नले अहिले पनि रन्थनाइरहन्छ । ती साथी व्यापार गर्छन्, एक हिसाबले भन्दा दलाल पुँजीको फन्दामा छन् । तर उनले मलाई सोधेको प्रश्न ‘मिलियन डलर’ को थियो । जुनवर्गका लागि संघर्ष गरेको त्यो वर्ग नै छैन, भन्नुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा एउटा नयाँवर्ग सिर्जना भएको बुझाउँछ । यो यस्तो वर्ग हो जो दलाल पुँजीवादको जुत्ता र समाजवादको टोपी लगाउँछ । समाजवादको टोपी लगाएर हुने फाइदा लिन्छ । तर दलाल पुँजीवादले जता लैजान्छ त्यतैको बाटो हिँड्छ ।

खासगरी २०५१ मा सरकारमा गएपछि तत्कालिन नेकपा एमाले सत्ता राजनीतिको फन्दामा फस्दै गयो । एकपछि अर्को गरी फसिनै रह्यो ।

यस दौरान माओवादी धेरै पटक परिवर्तन भयो । स्थिरता भएन । अथवा, सापेक्षित स्थिरता नहुनु नै उसको चरित्र बन्यो ।

हिजो तल परेकाहरुको माथिल्लो वर्गसँग द्वन्द्व थियो । हिजो तल परेका मानिसहरू आज माथिल्लो वर्गमा आएका छन् । उनीहरूको द्वन्द्व अहिले तल्लोवर्गसँग छ ।

पार्टीमा जब शोषण, दमनको विरोध र अलिक समाजवादीकरण गर्ने कुरा आयो कि त्योवर्गले यस्ता नारा, कार्यक्रम र प्रयत्नलाई निष्कृय पारिदिन्छ । यही खतरनाक खालको वर्ग अहिले उत्पन्न भएको छ ।

यतिबेला बामआन्दोलनमा हामीले कैयौं चुनौती देख्न थालेका छौं, जसमा बहस आवश्यकता छ । एक लाइनमा भन्दा त्यो चुनौती हो –लोकतान्त्रिक स्थिरताका साथ राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी ।

यसभित्रको लोकतान्त्रिक स्थिरता राजनीतिक पाटो हो । कार्यक्रमको पाटो भने राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी हो । यतिबेला हामी विकासको कुरा गरेर लोकतन्त्रको कुरा छाड्न सक्दैनौँ । अनि लोकतन्त्रको कुरा गरेर स्थिरताको कुरा छाड्यौं वा लोकतान्त्रिक स्थिरता र विकासको कुरा गरेर समाजवादको विषय छाड्यौं भने आजको कार्यभार अपूरो हुन्छ । त्यसैले एकसाथ लोकतान्त्रिक स्थिरताका साथ राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी गर्नुपर्छ ।

मुलुकमा परिवर्तन आएको बखतमा समेत हामीले संरचनात्मक हिसाबले राज्य नयाँ बनाउन सकेनौं । राजा दलाल पुँजीवादको नेता भनिसकेपछि पनि हामी त्यही जुत्ता लगाएर टोपी फेर्दै हिँडिराखेका छौं ।

राजाको जुत्ता कहिले कांग्रेसले लगायो, कहिले कम्युनिष्टले लगायो । तर हिँड्ने बाटो एउटै भयो । हामीले अहिले फेर्नुपर्ने नै यही कुरा हो । यो फेर्नु र लोकतान्त्रिक स्थिरताका साथ राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी गर्नु चुनौतीपूर्ण हो । हामीले समाधानको उपाय भने खोज्नुपर्छ ।

नेकपाभित्रै पनि अहिले वामपन्थ विकसित नभई नहुने भएको छ । किनभने पार्टीमा वामपन्थ बाँच्दैन कि भन्ने चिन्ता छ । साहित्यमा बाँच्ला, नाटकमा बाँच्ला, समीक्षामा बाँच्ला तर सडकमा, खेत–खलियानमा, राज्यमा, स्थानीय तहमा, हाम्रो विदेश नीतिमा बाँच्दैन ।

अहिले नेकपाका लागि एउटा ऐतिहासिक अवसर छ । पहिलो, निरन्तर र विस्तारित बामजनमत –किन बामजनमत विस्तारित भएको छ भन्ने अर्थ राजनीति र भू–राजनीतिक पाटोमा पछि बहस गरौंला । पटक–पटक विभाजित भएर पनि जनमत यसका वरिपरि छ । तथ्य के हो भने यो निरन्तर विस्तारित भैराखेको छ । दोश्रो, संसदीय राजनीतिमा पार्टीले प्राप्त गरेको भोट र राजनीतिक मत –संसदमा दुई तिहाइ उपस्थिति । छ प्रदेशमा सरकार । यो नेकपाका लागि अवसर हो । तेश्रो, राष्ट्रिय संगठन –यतिबेला संगठनका हिसाबले नेकपामा ठूलो जालो छ । पार्टीका जरा सामाजिक जीवनमा छन् । वन उपभोक्ता समिति, कुलो–पानी उपभोक्ता समिति, वस्ती–टोल–छिमेकदेखि कर्मचारीसम्मका सामाजिक जीवनका तमाम क्षेत्रमा विस्तार भएको छ । चौंथो, शान्तिपूर्ण आन्दोलनको प्रक्रियाबाट साथसाथै विद्रोहबाट आएका, उथलपुलथ गराएका, नेता कार्यकर्ताको ठूलो पंक्ति –दुईवटै आन्दोलन पार गरेका हजारौं मान्छेको अनुभवबीच फैलिनु अर्को अवसर हो । पाँचौं, अहिलेको संविधान –लोकतान्त्रिक स्थिरताका साथ राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारीका लागि धेरै ठूलो अवसर संविधानले जुटाएको छ । त्यसले घोषणा नै गरेको छ, देश समृद्ध हुन्छ र समाजवाद उन्मुख हुन्छ । अझ संविधानमा राखिएका मौलिक हकमार्फत समाजलाई, राजनीतिलाई समाजवादीकरण गर्ने अवसर संविधानले नै दिएको छ ।

यद्यपी संविधानवादका हिसाबले यो समाजवादी हो कि गैर–समाजवादी भन्ने बहस गर्ने ठाउँ भने प्रशस्त छन् । तर, समाजवाद निर्माण गर्छौं भन्ने पार्टीका लागि संविधान ठूलो अवसर हो ।

छैठौं, भू–राजनीतिक –यतिबेला हाम्रालागि डरलाग्दो चुनौती भैराखेको छ, तर अर्को अर्थमा मैले यसलाई अवसर देख्छु । यदि स्थीर लोकतान्त्रिक वामपन्थी सरकार हुने र भित्र त्यस्तै संगठन निर्माण हुनेहो भने त्यो अवसर बन्नसक्छ । अझ संगठन एकतावद्ध बनाउने हो भने यसले भू–राजनीतिक अवस्थितिलाई सामना गर्छ । सातौं, नेकपाले यतिबेला सैद्धान्तिकरूपमा लोकतान्त्रिक बाटोबाट जान स्वीकार गरेको सन्दर्भ –कार्यक्रमका हिसाबले राष्ट्रिय पुँजीको विकास गर्ने र समाजवादको तयारी गर्ने विषयलाई स्वीकारेको छ । यसमा विवाद छैन । हाम्रो भू–राजनीतिक अवस्थितिबीच यत्रो ठूलो नेकपाभित्र कार्यदिशामा सैद्धान्तिक सहमति हुनु पनि ठूलो विषय हो ।

पार्टीभित्र आफ्नो गुटको हो कि होइन भनेर खकार, रगत टेस्ट गर्ने अवस्था भयो । धेरै टेस्ट पूरा गरेपछि सर्वांङ्ग गुटले ओतप्रोत भएपछि मात्र कम्युनिष्ट पार्टीमा लाग्न योग्य बन्ने अवस्था भयो । अहिले पार्टी सदस्यको मूल्यांकन पार्टीले गर्दैन । गुटका साना गिरोहले गर्छन् । गुटका मठाधिशले गर्छन् ।

अब, नेकपाका आन्तरिक चुनौती मध्ये तत्कालिन एमालेलाई हेरौं—
नेकपा मूलतः दुई पार्टी एमाले र माओवादी मिलेर बनेको छ । तर यो पार्टीमा लामो समयदेखि सैद्धान्तिक विषयले महत्वपूर्ण स्थान पाएन । खासगरी २०५१ मा सरकारमा गएपछि तत्कालिन नेकपा एमाले सत्ता राजनीतिको फन्दामा फस्दै गयो । एकपछि अर्को गरी फसिनै रह्यो । त्यहाँ जनताको बहुदलीय जनवाद (जबज) बारे पनि यथेष्ठ छलफल भएन ।

जबज कसरी आयो ? विकासका आधार के थिए ? ऐतिहासिकता के थियो ? कुन बिन्दुमा आएपछि बहुदलीय जनवादलाई सिद्धान्त र कार्यक्रमका रूपमा स्वीकार गर्नुपर्‍यो ? यसको विकास अब कसरी अगाडि बढ्छ ? जस्ता प्रश्नमा छलफलै भएन । ‘हाम्रै राजा ठूला छन्, हाम्रै देश विशाल’ भनेर बच्चामा नारा लगाउन लगाए जस्तो भयो । हामी बहुदलीय जनवादको अन्तर्यमा कहिल्यै गएनौं । जनताको बहुदलीय जनवाद सत्तामा जान हाम्रा लागि सजिलो भर्‍याङ मात्र बन्यो । जबज देखाउने, लोकतन्त्रको कुरा गर्ने र सरकारमा जाने बाटो एमालेले बनायो ।

अब हिजोको माओवादीमा हेरौं—
नेपालमा हाम्रै आँखा अगाडी लोकतान्त्रिक विकास भैसकेपछि माओवादीले जनयुद्ध सुरू गर्‍यो । अन्ततः लोकतान्त्रिक प्रक्रियामा आयो । यसरी ठूलो गोलचक्कर लगाएर त्यही ठाउँमा आउँदा ऊ पटक–पटक बदलिएको छ । यसबाट ऊ भित्रको सैद्धान्तिक अस्थिरता देखिन्छ ।

१५ वर्षको गोलचक्कबाट ऊ लोकतान्त्रिक अभ्यासमै आइपुग्यो । ‘यो साना दुःखले फर्क्याको होइन, ठूलै दुःखले फर्क्याको हो ।’ यस दौरान माओवादी धेरै पटक परिवर्तन भयो । स्थिरता भएन । अथवा, सापेक्षित स्थिरता नहुनु नै उसको चरित्र बन्यो ।

माओवादी ुके होु भन्दा पनि ुके हुँदैछु भन्ने प्रमुख प्रश्न भयो । किनभने माओवादी यो हो भनेर मानिसले चिन्न बेला ऊ अर्को थोक भइसकेको हुन्थ्यो । सैद्धान्तिकरूपले अस्थिर । यसरी हेर्दा दुबै पार्टी आन्तरिक रूप, धरातल र प्रशिक्षणमा अन्त्यन्त कमजोर छन् । माओवादको जनयुद्धमा औचित्य के रह्यो भन्यो भने अहिले सबैभन्दा गाह्रो प्रश्न बन्न पुग्छ ।

एमाले सरकारमा सहभागी हुन थालेको २८ वर्ष भयो । हाम्रा नेताहरू मन्त्रिपरिषद्को बैठकमा गएको २८ वर्ष भए तर देशको राजनीतिक संस्कृतिमा हामीले गरेको योगदान के हो भनेर सोध्यो भने ती नेताहरूले त बताउलान्, तर हामीलाई गाह्रो हुन्छ । त्यसरी हेर्दा सैद्धान्तिक मामीलामा बामआन्दोलन कमजोर भयो । गुट विकास भयो । जसले अहिले नश्लियरूप धारण गरेको छ । पार्टीभित्र आफ्नो गुटको हो कि होइन भनेर खकार, रगत टेस्ट गर्ने अवस्था भयो । धेरै टेस्ट पूरा गरेपछि सर्वांङ्ग गुटले ओतप्रोत भएपछि मात्र कम्युनिष्ट पार्टीमा लाग्न योग्य बन्ने अवस्था भयो । अहिले पार्टी सदस्यको मूल्यांकन पार्टीले गर्दैन । गुटका साना गिरोहले गर्छन् । गुटका मठाधिशले गर्छन् ।

यो अचानक भएको होइन । आमाको कोखबाट जन्मदै कोही अलोकतान्त्रिक हुन जन्मिएका होइनन् । तर यो असैद्धान्तिक हुने प्रकृयामा गुट बलिया बन्दै गए ।

दलाल पुँजीवादले गर्दा यो बीचमा सरकारमा जाने र आउने, अनि जान चाहिरहने क्रममा पार्टीभित्र नयाँवर्ग जन्मिएको छ । यतिबेला राष्ट्रपति कम्युनिष्ट हुनुहुन्छ । मेरो भनाइको मतलब उहाँले कम्युनिष्टको जातै फेरेको होइन होला भन्ने हो । तर कम्युनिष्ट राष्ट्रपति बन्दा कसैलाई घुँडा टेकाउन हुन्छ कि हुन्न ? के गर्नुपर्छ, के गर्न हुन्न ?

हाम्रा ठूला नेताको बोली हेरौं । अहिले पार्टी कमिटीले श्रद्धाञ्जली दिँदा ‘बैकुण्ठ बासहोस्’ भन्ने शब्द छुट्दैनन् । झट्ट हेर्दा यो सामान्य कुरा हो । गैर–बामपन्थीका लागि त अति नै सामान्य कुरा हो । किनभने चलनचल्तीको कुरा हो । तर यहाँबाट विषय प्रवेश हुन्छ । नेकपाका कमिटीले अहिले क्रान्तिका कति काम गर्छन् अनि ‘स्वस्थानी’ का कति काम गर्छन् ? वास्तवमा स्वस्थानीको काम बढ्ता गर्छन् । सँधै स्वस्थानी र मन्दिरले गर्दा तिनीहरू वैचारिकरूपमा विचलनमा गएका छन् । वास्तवमा विचारको परिभाषा तपाईं कतापट्टि उभिनु हुन्छ भन्ने प्रश्नबाट हुन्छ । हेर्दा यो सामान्य कुरा हो ।

पार्टी कमिटीका साथीहरू सोध्छन् –कसरी सैद्धान्तिक बनाउने हो ? मैले जवाफ दिने गरेको छु –बैठकको अजेण्डा सैद्धान्तिक बनाए त पुगिहाल्यो नि । हाम्रा अहिलेका बैठकमा टिकट दिने, ठेक्कापट्टा कसलाई दिने र आफूभन्दा तल्ला कमिटीलाई गुटकरण कसरी गर्ने भन्ने वाहेकका अजेण्डामा छलफल भएका छैनन् ।

एउटा गरिब छ, एउटा धनी छ । तपाईं कता उभिनुहुन्छ ?
एउटा दलित छ, एउटा गैर–दलित छ । सामान्य अवस्थामा तपाईं कता उभिनुहुन्छ ?
एउटा जनजाति छ, अर्को गैर–जनजाति छ । तपाईं कता उभिनुहुन्छ ?
महिला छिन्, पुरुष छ –आजको समाज छ । ठ्याक्कै तपाईं कता उभिनुहुन्छ ?

केहीले सजिलो जवाफ दिन सक्छन् –मान्छेको ठाउँमा उभिन्छु ।

तर प्रश्न त आजको महिलाको पक्षमा उभिनुहुन्छ कि पुरुषको पक्षमा भन्ने हो । दलितको पक्षमा उभिनुहुन्छ कि गैर–दलितको पक्षमा भन्ने हो । अहिले नेकपामा मान्छे द्विविधामा छन् –कता उभिने, कता उभिने ? अनि जता फाइदा हुन्छ, त्यतै उभिने खालको अवस्था छ । यो वैचारिक अस्पष्टता डरलाग्दो छ ।

कता उभिने ? –घुँडा टेक्नेतिर कि टेकाउनेतिर । मैले घुँडा टेक्ने भनेर सांकेतिक भनेको हुँ, व्यक्तिगत होइन । दुनियाँले बुझ्ने भएकाले उदाहरण दिएको हुँ । हाम्रो बोलीवचनमा अहंकार हुर्कँदै गएको छ । यी सबै कुरा थाम्न नेतृत्व दिन–प्रतिदिन अलोकतान्त्रिक हुँदै गएको छ । माथि बस्ने र माथि जो पुग्यो त्यसले निर्णय गर्ने पद्दति बनेको छ । तल कमिटी, छलफल र प्रजातान्त्रिक अभ्यासको कुरै हुन छाडेको छ । यस्ता विषयमा छलफलसमेत हराउँदै गएको छ । गुटबन्दीतर्फ विषयहरू अगाडि बढेका छन् । दलाल पुँजीवादतर्फ अगाडि जाँदै गरेको छ । नयाँवर्ग निक्लँदै गरेको र असैद्धान्तिकरण बढ्दै गरेको छरपस्ट अवस्था छ ।

यस्तोमा पार्टीलाई केवल तानाशाहीले अलोकतान्त्रिक लाठीडण्डाले मात्र चलाउन सक्छ १

किनभने हामी तर्कसंगत ढंग, विचार र सिद्धान्तमा चल्न छाडिसकेका हुन्छौं । पार्टी अनुशासनले पनि चल्दैन । किनभने अनुशासन त खास उद्देश्य प्राप्तिका लागि बनाइएको विधिगत व्यवस्था हो । जब खास उद्देश्यलाई नै कमजोर पारिन्छ, त्यहाँ कस्तो अनुशासन खोज्ने ?

नेकपा अहिले लठिभद्र भएको छ, कमजोरी यहाँनेर छ ।

लोकतान्त्रिक स्थिरताका प्रश्नमा कहीँ न कहीँ कांग्रेससँग पनि स्पेश बाँकी राख्नुपर्छ । यो सरकारलाई सबैको सरकार हो भन्ने हिसाबले राजनीतिकरूपमा अगाडि बढाउनुपर्छ ।

चुनौतीको सामना गर्ने कसरी—

पहिलो, वैचारिकरूपमा पार्टी स्पष्ट हुनुपर्छ । माथि उठाइएका प्रश्नमा पार्टीले कहाँ उभिने भन्ने टुंगो गर्नुपर्छ । जुन अहिले टुंगो भएको छैन । यसमा नेतृत्वले बोल्नुपर्छ । आजका वैचारिक प्रश्न के–के हुन्, हामीले प्रष्ट पार्नुपर्छ ।

सामान्यतः विधिले काम गर्न छाडेपछि चाकरीले कामगर्छ । विचार भनेको चाकरी हुन्छ । यस्ता विषयबाट मुक्त हुनेहो भने हामी वैचारिकरूपमा कहाँ उभिने प्रष्ट हुनुपर्छ । यसलाई खगेन्द्र प्रसाईंले ‘लेफ्टाइजिङ द लेफ्ट’ भन्नुभएको छ । अर्थात् वामपन्थको वामपन्थीकरण आवश्यक छ । किनभने मान्छेहरु हामीले समाजवाद ल्याउँछौं भनेर साथ लागेका छन् । त्यसैले हामीले यो पल्टनलाई ‘वामपन्थीकरण’ गर्नुपर्छ ।

कहाँ उभिने भन्ने प्रश्नमा नेताहरूले जवाफ दिनुपर्छ । यो लामो कुरा पनि होइन । यस्ता सात–दश वटा प्रश्नमा जवाफ मात्र दिए पनि ‘नयाँ क्रान्ति’ सुरूहुन्छ ।

त्यसो गर्न नेतृत्व स्वयं तयार हुनुपर्छ । अहंकार र सत्ताको मोजमस्तीबाट ऊ निक्लनु पर्छ । सम्पूर्ण सत्तालाई क्रान्तिका लागि अवसरका रूपमा लिनुपर्छ । यो मेरा लागि खाने अवसर हो भन्नुहुन्न । मैले भन्ने गरेको छु –कांग्रेसको पालो थियो कांग्रेसले खायो । राजाको पालामा राजाले खाए । तिनकै ठाउँमा म आएपछि भौकै बस्छु ? भन्ने अहंकारले हुन्न ।

त्यसैले वैचारिकरूपमा बामपन्थीकरण हुनु वाञ्छनीय छ ।

अर्कोतर्फ राष्ट्रिय पुँजीको निर्माण कसरी हुन्छ, भन्ने विषयमा तल्ला कमिटीमा समेत छलफल गर्ने लोकतान्त्रिक परिपाटी हुनुपर्छ । पार्टी कमिटीका साथीहरू सोध्छन् –कसरी सैद्धान्तिक बनाउने हो ? मैले जवाफ दिने गरेको छु –बैठकको अजेण्डा सैद्धान्तिक बनाए त पुगिहाल्यो नि । हाम्रा अहिलेका बैठकमा टिकट दिने, ठेक्कापट्टा कसलाई दिने र आफूभन्दा तल्ला कमिटीलाई गुटकरण कसरी गर्ने भन्ने वाहेकका अजेण्डामा छलफल भएका छैनन् ।

हामीले कहिल्यै हाम्रो शिक्षा कस्तो हुन्छ ? स्वास्थ्यको नीति कस्तो हुन्छ ? कसरी गरिबी हटाउँछौं ? कसरी रोजगारी श्रृजना गर्छौं ? कसरी महिला र पुरुष समान हुन्छन् ? कसरी विभेद अन्त्य गरिन्छ ? भन्ने विषयमा छलफल गरेनौं । दलित–गैरदलित, जाति–जनजाति, मधेसी–पहाडी एकतालाई समानताका आधारमा कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्ने हरेक कमिटीको अजेण्डा हुनुपर्छ । हाम्रो विदेश सम्बन्ध कस्तो भयो भने रोजगारी श्रृजना हुन्छ भन्ने अजेण्डा कमिटीमा हुनुपर्छ । त्यसले मात्र सैद्धान्तिक पार्टी बन्ने प्रक्रिया सुरूहुन्छ । त्यसले मात्र राजनीतिक र कार्यक्रमिक क्षेत्रमा सरकारलाई लोकप्रिय बनाउन सक्छ । सबै जनताले यो सरकारका वरिपरि र्‍याली गर्ने कुरा राजनीतिक र सांगठनिकरूपमा चुनौतीको हो ।

लोकतान्त्रिक स्थिरताका प्रश्नमा कहीँ न कहीँ कांग्रेससँग पनि स्पेश बाँकी राख्नुपर्छ । यो सरकारलाई सबैको सरकार हो भन्ने हिसाबले राजनीतिकरूपमा अगाडि बढाउनुपर्छ । कार्यक्रमिक हिसाबले यो सरकारले बनाएको बजेट, नीति तथा कार्यक्रम, राज्यले खर्च गर्ने पैसाले, विदेश सम्बन्धले र आन्तरिक नीतिले राष्ट्रिय पुँजीको विकास गर्नुपर्छ । साथै यी कार्यक्रमले समाजवादको तयारी गर्नेछ भन्ने ग्यारेन्टी गर्नुपर्छ । बजेट यी छलफलका आधारमा राष्ट्रिय पुँजी निर्माणका लागि बन्नुपर्छ । सबै मन्त्रालय त्यस दिशामा जानुपर्छ ।

अहिले हरेक मन्त्री राष्ट्रिय पुँजी निर्माणमा कति लागेका छन् ? समाजवादको तयारीमा कतिको लागेका छन् ? यसमा मानक बनाएर गयौं भने मात्रै हामी अगाडि बढ्न सक्छौं ।

अन्त्यमा, संगठनका हिसाबले राष्ट्रिय पुँजीको विकास गर्ने र समाजवादको तयारी गर्ने लोकतान्त्रिक संगठन पनि चाहिन्छ । यस्तो संगठनमा हरेक मान्छे कमाएर खाने र राज्यलाई कर तिर्ने हुनुपर्छ । जनता कर प्रति जागरूक र सजग रहन्छन् । जब मैले तिरेको कर समाजवाद निर्माणमा गयो कि गएन भन्ने हेर्छन् । राष्ट्रिय पुँजी निर्माणमा गएको छ कि छैन भन्नेमा हरबखत सचेत हुन्छन् । तब मात्र सशक्त र लोकतान्त्रिक संगठन निर्माण हुन्छ । माथिबाट थोपरेर हुँदैन ।

आफ्नो विषयमा निर्णय गर्न हरेक कमिटीले पर्याप्त स्वतन्त्रता र लोकतान्त्रिक स्पेश प्राप्त गर्नुपर्छ । यस्तो अवस्थामा मात्रै हामी अगाडि बढ्न सक्छौं ।

—नेकपा स्थायी समिति सदस्य घनश्याम भुसालले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा राखेको धारणाको सम्पादित अंश

टिप्पणी लेख्नुहोस्