गुठीयार नेवारमाथि बर्सिएको फोहोराबाट जन्मिएको कविता
त्रिशुलीखबर
June 10, 2019


ठों नेपाल मण्डलः खः


प्रभाती रविको आलोकमा
शिवपुरीले भन्दै छ तिमीलाई
ओ भाइचा, आउ हामी सँगै लडाैं
हो भाइचा, हामी सँगै बढाैं
ठों नेपाल मण्डलः खः

हो भाइचा
मेरा बाजेले छाडेको टुकुचा सिस्नोघारी
आज शेयर बजार भयो
चार हातको दलानमा बसेर
बेच्नु बेचे तिम्रा बाजेले हामीलाई
जिवनका सामलहरु
ठों नेपाल मण्डल खः
आखिर तिमी त्यही असन भित्रै छौ
घरी झोँछे, यटखा र इन्द्रचोक गर्दै

मेची उठ्छ र काली ब्युँझन्छ
हिमाल, पहाड जुट्छ र तराई उठ्छ
अनि दौडँदै आउँछ राजधानी
सपनाको एक भूल्को लिएर
काठमाडौंका सडकहरुमा
ठोँ नेपाल मण्डल खः

चन्द्रागिरीको चन्द्र उदय सँगै
मदिराको बेहोसीमा, यौवनको उन्मादी पोखिंदै छ
जवानीको ब्यापार चल्दैछ, तिम्रो शहरहरुमा
हो भाइचा हो, हेर त
गल्ली, गल्ली र चोकहरुमा
घण्टाघरले सुस्ताउँदै रानीपोखरी नियाली रहेछ
हामीलाई गिज्याई रहेछ
ठोँ नेपाल मण्डल खः

झलमल्ल बलीरहेछ तिम्रा बहाल र हिटीहरु
हाम्रो सपना मर्दा पनि
तिम्रो मुत्यु जन्मदा पनि
प्रजातन्त्र आउँदा र जाँदा पनि
हो भाइचा हो
तिम्रो बाउ प्रजातन्त्र भन्दै मरे
तिम्रो छोरी निरंकुशता भन्दै जन्मिइ
तिम्रो श्रम र पहिचान मेटीयो
झिंगु सभ्यता नेपाल मण्डलः खः
झिंगु संस्कृती नेपाल मण्डलः खः

जुजुधौले आज प्यास मेटिन्न हाम्रो
प्यालाको अतृप्त प्यास छैन, यि हुस्कीहरुमा
आज त यहाँ बजार छ र ब्यापार छ
चोक चोकमा, गल्ली गल्लीहरुमा
कोठा कोठामा, सडक र महलहरुमा
केवल ब्यापार छ, बजार छ
टलकदार शीसमहलमा लुटिरहेछ
आज ती भाइचा र मइचाहरु
ठोँ नेपाल मण्डल खः
भाइचा,
तिमी त्यही बहुवल ज्यापुका सन्तान हौ
हो भाइचा, तिमी बहुबलकै पनाती हौ
युगौं पहिले राखेको किर्तीमान
बर्षौं अघि उठाएको स्वाभिमान
त्यही अरनिको तिम्रो जिजुबाजे हो
झिंगु सभ्यता नेपाल मण्डल खः
ठोँ नेपाल मण्डल खः

तिम्री अजिमाले उनकै प्यारको अभावमा तड्पदै
हुर्काएकी हुन् तिम्रो सभ्यतालाई
नपत्याए जाउ त पोतला दरबार
चिहान खोतल्न

त्यसैले भाइचा
झिंगु सभ्यता, झिंगु संस्कृती
नेपाल मण्डल खः

हो भाइचा हामी सँगै बढौं
ठोँ नेपाल मण्डल खः

लेखक -नारायण नेपाल

-२०७६ जेठ २८

टिप्पणी लेख्नुहोस्