धनवादले थला पारेको काँग्रेस र वीपीको समाजवाद
त्रिशुलीखबर
June 12, 2019


नुवाकोट । एक मानवतावादी संस्थाले एक हजारको नोट मेरो हातमा थमायो र भन्यो, –’यो रकम तपाईंको गाउँका प्राकृतिक प्रकोप पीडित रामप्रसाद र माने बिकलाई समान रूपमा वितरण गरेर संस्थालाई जानकारी गराउनुहोस् ।’ म उनीहरूको घर गएँ । रामप्रसादलाई २ सय ७५ रूपैँया दिएँ र माने बिकलाई ७ सय २५ रूपैँया दिएँ । किनकी, तत्काल रामप्रसादसँग ५ सय रूपैँया थियो र मानेसँग ५० रूपैँया मात्र ! मलाई संस्थाले सोध्यो, यो कुन आधारमा वितरण गरियो ? मैले भनें, ‘क्षमता र आवश्यकताको आधारमा वितरण गरेको हुँ ।’ जसलाई वीपीले समाजवाद भनेका छन् !

चेत नखुलेकै बुझेपछी आफैंलाई परिक्षण गर्दै जनताले नयाँ बाटो समात्न बाध्य भए ।

हो, मैले जब काँग्रेस बुझें काँग्रेसको सरकारले जनतालाई यहि र यस्तै आधारमा हेरोस् भन्ने रही रह्यो । तर, समय जसै गुज्रिइ रह्यो जनमनको सतहबाट काँग्रेस टाढिइ रह्यो, कालखण्ड खण्डित भइरह्यो । जानेरै वा बाटो बिराइरहँदा पनि सायद विकल्पको अभावमा होला चुनौतीकै स्वरुपमा कहिले काहीँ जनताले काँग्रेसलाई मत भने दिइनैरहे ! चेत नखुलेकै बुझेपछी आफैंलाई परिक्षण गर्दै जनताले नयाँ बाटो समात्न बाध्य भए । फलस्परूप काँग्रेस अहिले कमजोर प्रतिपक्षको रूपमा र कमजोर भूमिकासहित संसदमा उपस्थित भएको छ ।

म नुवाकोटको नागरिक हुँ । २०५१/५२ सालतिरको कुरा हो, मेरो गाउँ नुवाकोटको नर्जामण्डपमा काँग्रेसका चिरपरिचित नेता डा. रामशरण महतको आतिथ्यतामा काँग्रेसले कार्यक्रमको आयोजना गरेको थियो । यो स्तम्भकार त्यही सभाको सभापतित्व गरिरहेको थियो । त्यहाँ बोल्ने क्रममा मैले वीपीको समाजवादलाई सर्वसाधारण जनहरुमा एकाकार गराउनुपर्छ र वीपीको त्यो विचार केवल तिनै जनताप्रति लक्षित हुँदै प्रतिपादन भएको देखिन्छ भनेको थिएँ । मैले जहिले–जहिले मञ्च पाउँछु अझै बोलिरहेकै छु ।

लेखकः सहदेव उप्रेती

काँग्रेस जब–जब विचारबाट स्खलित हुँदै गयो, यो भुत्ते हुँदै गयो, तब यो उँधो न उंभोको अवस्थामा पेन्डुलम बनेको छ ।

मेरो कुरा नुवाकोटबाटै राजनीति गर्दै आएका घगडान नेताहरु अर्जुन नरसिङ केसी र डा. रामशरण महतहरूले सुनिदिउन भन्ने लाग्छ । तिनका जीवन व्यवहार नैतिक मूल्यमान्यता भएको, सामाजिक उत्तरदायित्वपूर्ण, सभ्य र साधारण होउन् र आधारभूत जनताको परिवर्तनका लागि आफुलाई उभ्याउन् भन्ने हुन्छ । नेतृत्वपङ्तीले नेपाली सामाजिक परिवेशलाई राम्रोसँग मनन् गरून् र वीपीले दिएको समाजवाद साँच्चै घेरावाल जनताकै हित लक्षित विचारधारा हो भन्ने प्रमाणित गरून् भन्ने हुन्छ । सायद यो एउटा इमान्दार काँग्रेस कार्यकर्ताको उद्देश्यसहितको विचारधारा पनि हो ।

मेरा यी कुरा जसलाई सुनाउनु पर्ने हो उनैलाई सुनाउँथें, कति सुन्थे र मनन गर्थे त्यो म भन्न सक्दिन । तर काँग्रेसले ल्याएको आर्थिक कृयाकलापको परिणामले आजका दिनमा काँग्रेसलाई राजनितिक सुगमता प्रदान गर्न सकेको छैन । मेरो आसय म जान्ने थिएँ, मैले भनेको नमानेको होइन ? खुच्चिङ भन्न खोजेको होइन ! बरु काँग्रेसका नेता साह्रै राजासाहेब बन्ने ! धरातलीय वास्तविकता नबुझ्ने ! कसरी कमाइ हुन्छ भन्ने सोंच कुनै हदमा सकारात्मक नै रहला तर समग्रमा सम्पादन हुने र भएका कार्यले कति सकारात्मक अनि कति नकारात्मक असर छोडेको छ र छोड्नेछ भन्ने सही आँकलन नहुँदा जममनबाट नराम्ररी टाढिनुको बाध्यता स्विकारेर बस्नु अनिवार्य रह्यो र रहनेछ ।

राजनीतिले गलत बाटो अंगिकार गर्दा र नेतृत्वपङ्ती जनताप्रति अनुदार बन्दा झमेला बढ्दो छ । देशमा विद्यमान समस्याहरूको डङ्गुर लागेको छ । फोहोरसफा गर्दै जाने हो भने पहिलोपंङ्ती नै पहिलो शिकार बन्ने निश्चित जस्तै छ । पछिल्लो संसदीय निर्वाचन नतिजालाई नियाल्ने हो भने यो कुरा वीपीकै एउटा भनाइबाट पनि पुष्टि हुन्छ कि –’जब देशमा प्रजातन्त्र पूर्णरुपमा बहाली हुन्छ, पहिलो पंङ्तीमा सुकिला मुकिलाहरुको बोलवाला रहन्छ र पुन: एकपटक जनता र पार्टीका असल कार्यकर्ता जागरुक भई तिनका लडाइँ जितेपछि मात्र प्रजातन्त्रको असली संवाद जनताले लिन पाउँछन् ।’

यी दृश्यलाई हेर्दा यो भन्न सकिन्छ कि, काँग्रेस लगभग ७० वर्षसम्म यस मानेमा मात्र जीवन्त रहेको हो कि ती समयमा वीपीको समाजवादले यसलाई निर्देशित गर्थ्यो ।

काँग्रेस जब–जब विचारबाट स्खलित हुँदै गयो, यो भुत्ते हुँदै गयो, तब यो उँधो न उंभोको अवस्थामा पेन्डुलम बनेको छ । उंभो जाउँ हिजोका दिनमा गरेका अनुत्पादक कार्यले जनमन भड्किएको अवस्था छ, उँधो जान पनि तिनै जनताले भेट्टाइ नसकेको विकल्प छ ! मैले र म जस्ता जनमनले जतिनै भने पनि एउटै सत्य चाहिँ के हो भने काँग्रेस हालको लम्पट नेतृत्वको क्रुर पञ्जामा नराम्रोसँग जकडिएको अवस्थामा छँदैछ, फेरि पनि विकल्प नहुँदाको अवस्था पनि विद्यमान छ । हामी र हाम्रो देश जुन बाटो हिंड्दै सत्ताको डिलमा उक्लेको कम्युनिस्ट भनिने पार्टीको सरकारले हाल गरिरहेको कृयाकलापको फ्याल्सव्याकमा उसैलाई अझै फाइदा पुग्ने निश्कर्षमा पुग्न बाध्य छौं ।

भर्खरै काँग्रेसले जनजागरण नामको एउटा झिनो खेती गर्यो र म पनि त्यसमा सम्मिलित भएँ । तर सँगै यस्तो अनुभूति भयो कि यसबाट फलरुपी बोडीको एउटा ‘कोशो’ पनि जनता र कार्यकर्ता दुवैका भागमा नआउने छनक देखियो । अधिकांश ठाउँमा काँग्रेस दुई वा बढी जमातमा बाँडिएको देखियो र एउटाले डाकेको मेलो धान्न अर्को आएको पाइएन । यी दृश्यलाई हेर्दा यो भन्न सकिन्छ कि, काँग्रेस लगभग ७० वर्षसम्म यस मानेमा मात्र जीवन्त रहेको हो कि ती समयमा वीपीको समाजवादले यसलाई निर्देशित गर्थ्यो । आज धनवादमा निर्देशित भएर काँग्रेस छिया–छिया भएको छ र हुँदैछ ।

 

टिप्पणी लेख्नुहोस्