चैते माओवादीको सुनको साङ्लो र आदर्श कामरेडको बमको छर्रा
त्रिशुलीखबर
June 13, 2019


काठमाडौं । चैते माओवादी –माओवादी ठूलो भएपछि मौका खोज्दै छिरेकाहरु । भर्जिन माओवादी –शुरुदेखि आर्दश पछ्याएर लागेकाहरु तर यसभित्र पनि चैतेहरु जन्मने प्रक्रिया बाक्लिँदो छ । आज यी दुबैथरी सत्ताधारी नेकपाका सदस्यहरु हुन् । चैते माओवादी बनेर सम्पत्ति थोपरेका कामरेड र कम्यूनिस्ट पार्टीको सदस्य भएपछि आदर्श मर्न दिनु हुँदैन भनेर लागिरहने कमरेड छिमेकी बनेका छन् । तर, फरक के छ भने चैते माओवादी भव्य तीन तले आफ्नै घरमा बस्छ भने आदर्श कामरेड चैतेको छिमेकीको घरको छिडींको डेरामा बस्छ ।

कमरेडहरुको समाज पनि फरक छ । घरपतिको समाज डेरावालसँग हुने कुरै भएन । माओवादी घरवाला समाजमा, कामरेड डेरावालको त न डेरावालसँग न घरपतिहरूको समाजसँग । दुवै भिन्न र अलग छ ।

चैते माओवादी गर्मीमा एसी लगाएर कोठामा र जाडोमा कौसीको झोलुङ्गे कुर्सीमा बसेर घाम ताप्छ । तर आर्दश कामरेड जाडोको घाम मेरालागि होइन भनेर मनलाई दृढ त बनाउँछ तर पुस–माघमा लुगा सुकाउने ठाउँ नपाउँदा उसको दृढ मन डग्मगाउन खोज्छ । चैते माओवादी बागमती अञ्चलको २१ लटको सुविधासम्पन्न गाडी चढ्छ र पार्टी मिटिङमा पुग्छ । खादा र माला घाँटीभरी लगाएर वर्गीय मुक्ति र कम्यूनिस्ट आदर्शको भाषण ठोक्छ । हाम्रो संविधान, प्रशासन र समाजले पनि यही चैते जस्ता पात्र र प्रवृत्तिलाई सलाम ठोक्छ । आदर्श कामरेड शरीरभरी बमका छर्रा बोकेर सार्वजनिक यातायातबाटै पार्टी मिटिङ र कामहरु भ्याउँछ, तर उसलाई न संविधानले चिन्छ न त प्रशासन र समाजले नै चिन्छ । आदर्श कामरेड कम्यूनिस्ट विचारअनुसार कै चित्र र चरित्र हुनुपर्छ भन्ने आदर्शको व्याख्यागर्छ र आफ्नो जीवन व्यवहारमा उतार्छ ।

एकातिर, चैते कामरेडको गलाको सुनको साङ्लो र सबै औंलामा बेरिएका सुनका अंगुठी देखेर पैसा फल्ने बोट पनि हुन्छ कि क्या हो भनेर आफ्नै मनलाई व्यङ्गगर्छ भने अर्कोतिर वर्गीय आन्दोलनभित्र कसरी सिमित मान्छेहरुको वर्ग उत्थान हुँदो रहेछ भनेर आदर्श कामरेड गम्भीर बन्छ । निष्कर्ष निकाल्छ कि, अकूत सम्पत्तिवाल कामरेड पनि १ हजार वर्ष बाँच्ने होइन । कम्यूनिस्ट आन्दोलनमा इमान्दार पुस्ता जन्माउन सकियो भने यस्ता पात्रको पूँजीपति वर्गको सेवामा जन्मेका कथित कम्यूनिस्ट भनेर पुस्तौपुस्तासम्म प्रचार हुनेछ । र, यसबाट कम्यूनिस्ट आन्दोलनमा लागेर अकूत सम्पत्ति कमाउने ती कामरेड पटक–पटक मर्नेछन् ।

–लेखनाथ न्यौपानेको फेसबुकवालबाट

टिप्पणी लेख्नुहोस्