वडा नम्बर ११ का वडाध्यक्षको बलको तुजुब, ‘स्थानीयको नाक भाँचियो’
त्रिशुलीखबर
June 13, 2019


सिरहा, ३० जेठ । सिरहा जिल्लाको कल्याणपुर नगरपालिकामा सानो नालाको विषयमा विवाद बढेपछि वडाध्यक्षको समूह कुटाकूटमा उत्रिएको छ । वडाध्यक्षको कुटाइबाट स्थानीयहरू घाइते भएका छन् ।

आफ्ना निकटका केही व्यक्तिहरू लिएर दलबलसहित आएका वडा नम्बर ११ का वडाध्यक्ष राजेश्वर यादवले स्थानीयलाई कुटपिट गरेका हुन् ।

कुटपिटबाट कल्याणपुर नगरपालिका वडा नम्बर १० का ६५ वर्षीय किसुनदेव यादबसहित उनका २१ वर्षीय छोरा संजयकुमार यादब घाइते भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

वडाध्यक्षको कुटाइबाट घाइते भएका किसुनदेव यादब

नालाको विषयलाई लिएर कल्याणपुर नगरपालिका वडा नम्बर १० मा बैठक बसिरहेको थियो, त्यहीबेला वडा नम्बर ११ का वडाध्यक्ष राजेश्वर यादबले कुटपिट गरेका हुन् । वडाध्यक्ष यादबले आफूले कसैलाई पनि कुटपिट नगरेको दाबी गरेका छन् । उनले आफूलाई बद्नाम गराउन विपक्षीहरूले गलत कुरा फैलाइरहेको बताए । तर, यस घटनाको भिडियो अहिले सामाजिक सञ्जालमार्फत बाहिरिएको छ ।

१० नम्बर वडाका वडाध्यक्ष धनवीर मण्डल धानुकले घटनाका बारेमा आफूलाई कुनै पनि जानकारी नरहेको बताएका छन् । वडाध्यक्ष यादबको कुटाइबाट घाइते किसुनदेव यादबको नाकमा चोट लागेको छ । उनका छोरा संजय यादबलाई हातमा चोट लागेको छ । घाइतेको मिर्चैया अस्पतामा उपचार भइरहेको छ । घटनाका बारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले बताएका छन् ।

हेर्नुहोस् भिडियोः

टिप्पणी लेख्नुहोस्