सार्वजनिक सवारीको भाडादर बढ्यो
त्रिशुलीखबर
June 13, 2019


काठमाडौं, ३० जेठ । सरकारले असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक सवारीको भाडादरमा १२ प्रतिशतसम्म वृद्धि गरेको छ । प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिएका छन् ।

विभागले मेकानिकल पार्टको मूल्य, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धि लगायतका आधारका भाडादर कायम गरिएको जनाएको छ ।

विभागका अनुसार यायायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुख लगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको हो । यसअघि यातायात व्यवसायीले भाडादर समायोजन गर्नुपर्ने माग राख्दै आएका थिए ।

दशैंअघि पनि सरकारले सार्वजनिक सवारीको भाडा १० प्रतिशत बढाएको थियो, उक्त भाडामा थप १२ प्रतिशत वृद्धि गर्ने निर्णय सरकारले गरेको हो । योसँगै अब सार्वजनिक सवारी साधन चढ्ने यात्रुले ४ किलोमिटर सम्मको १६ रुपैयाँ भाडा तिर्नुपर्ने हुन्छ । यसअघि १४ रुपैयाँ तिरे पुग्थ्यो ।

यसैबीच, सरकारले ट्याक्सी भाडा पनि बढाएको छ । यातायात व्यवस्था विभागले असार १ गतेदेखि लागू हुने गरी ट्याक्सी भाडामा वृद्धि गरेको हो । ट्याक्सी भाडामा फ्ल्याक डाउन प्रणाली लागू हुने भएको छ । यो प्रणाली भनेको चढ्ने बित्तिकै न्यूनतम भाडा उठ्ने प्रणाली हो । यो नियम लागु भएसँगै अब ट्याक्सीमा यात्रा गर्ने उपभोक्ताले पहिलो एक किलोमिटरसम्म ५० रुपैयाँ तिर्नु पर्नेछ । त्यसपछि प्रति २ सय मिटरमा ८ रुपैयाँ ८० पैसाका दरले थप हुँदै जानेछ ।

यसअघि ट्याक्सी चढ्नासाथ १४ रुपैयाँ र त्यसपछि प्रति २ सय मिटरमा ७ रुपैयाँ ८० पैसा थप हुन्थ्यो ।

टिप्पणी लेख्नुहोस्