शम्भु राईले भने, ‘गलबन्दी गीतमा सपुतले लय बङ्गाएर मेरो छातीमाथि छुरा हाने’
त्रिशुलीखबर
June 13, 2019


काठमाडौं, ३० जेठ । नेपाली सांगीतिक बजार अहिले प्रकाश सपुतको गलबन्दी गीतले तताएको छ । यो गीत युट्युबमा मात्र २ हप्तामा नै एक करोड भ्यूज पाइसकेको छ र सम्भवतः मौलिक गीतको सन्दर्भमा यो रेकर्ड पनि हो । यो गीतले प्रकाशलाई निक्कै उचाई दिएको छ र उनको व्यस्तता बढाएको छ । यो गीतको सुखद पक्षसँगै दुःखद पक्षपनि बाहिरिएको छ ।

गायक शम्भु राईले आफ्नो पूर्वेली भाकालाई प्रकाशले तोडमोड गरी गलबन्दी गीत सिर्जना गरेको भन्दै विरोध गरेपछि अहिले गायक सपुतको चौतर्फी आलोचना सुरु भएको छ ।

गायक राईले भनेका छन्, ‘मेरो गीतको लय प्रकाशले चोरेको भन्दा पनि उनले मेरो लयलाई बङ्गाएर गलबन्दी गीत बनाएकोमा म दुःखी छु । मेरो गीत पूर्वेली भाका हो भने प्रकाशले पश्चिमेली भाकामा बङ्गाएर गलबन्दी गीत बनाएको र यो कुरा गीत सुनेपछि सबैले भनेको छन्, यो कुरा सत्य हो ।’ गायक राई थप्छन्, ‘मैले कसैलाई दोष लगाएको होइन, न आरिष गरेको हुँ । मेरो अस्तित्व चाहिँ हुनपर्छ भन्ने मात्र हो । मेरो सिर्जना र अस्तित्वलाई मेट्छ भने म चुप लागेर बस्न सक्दिन । गीत सुन्ने सबैले भनिरहेका छन् भने म टुलुटुलु हेरेर कसरी बस्न मिल्यो र ।’ राईका अनुसार सो भाकाको मुटु कलेजो लगेर नयाँ तरिकाले गीत बनाएको रहेछ ।

राईले आफ्नो गीत देउसीभैलोको लागि बनाएको गीत भएको पनि खुलासा गरे । उनले भने, ‘तर अहिले सपुत भाईले त्यो भाकालाई फास्ट बिटमा तोडमोड गरेर गलबन्दी बनाएछन् ।’ यो गीत शम्भु राईको गीतबाट प्रभावित भएर बनाइएको भनेको भए राम्रो हुने गायक राईको कथन छ ।

टिप्पणी लेख्नुहोस्