प्रनेश गौतम भए हिरासत मुक्त
त्रिशुलीखबर
June 14, 2019


काठमाडौं, ३१ जेठ । नेपाली सिनेमा ‘वीर विक्रम २’ को समीक्षा गलत मनसायले गरेको र रंगभेदी अभिव्यक्ति दिएको भन्दै साइबर अपराधको अभियोगमा पक्राउ परेका प्रनेश गौतमलाई प्रहरीले हाजिरी जमानतमा रिहा गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले गौतमलाई हाजिरी जमानतमा रिहा गरेको बताए । गौतमलाई बिहीबार राति ८ बजे प्रहरीको सम्पर्कमा रहने गरी छाडिएको हो ।

‘वीर विक्रम २’का निर्देशक मिलन चाम्सको उजुरीका आधारमा प्रहरीले प्रनेशलाई पक्राउ गरेको थियो । गत शुक्रबारदेखि उनी प्रहरी हिरासतमा थिए ।

बिहीबार प्रहरीले साइबर अपराध अभियोगमा अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाएको थियो । अब उनीमाथि सरकारी वकिल कार्यालयको निर्देशन अनुसार प्रहरीले मुद्दा प्रक्रिया अगाडी बढाउने छ । गौतमको रिहाइ माग गर्दै काठमाडौंमा बुधबार प्रदर्शन भएको थियो ।

उनको गिरफ्तारीले अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै सामाजिक सञ्जालमा पनि व्यापक विरोध भएको थियो । भने, चलचित्रसँग सम्बन्धित संघसंस्थाले उनले गलत ढंगले अभिव्यक्ति दिएको बताउँदै आएका थिए ।

टिप्पणी लेख्नुहोस्