चुनावमा मतपत्र च्यात्ने दुईजना कसुरदार ठहर
त्रिशुलीखबर
June 14, 2019


काठमाडौं, ३१ जेठ । जिल्ला अदालत चितवनले भरतपुर महानगरपालिकाको चुनावमा मतपत्र च्यात्ने दुईजनालाई कसुरदार ठहर गरेको छ। बिहीबार जिल्ला न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले मतपत्र च्यात्ने तत्कालिन माओवादी केन्द्रका प्रतिनिधि मधुकर न्यौपाने र द्रोण सिवाकोटीलाई कसुरदार ठहर गरेको हो ।

उनीहरूलाई कति सजाय हुने भन्नेबारे अदालतले असार ५ गते निर्णय दिनेछ । नयाँ मुलुकी संहिताले एकपटक कसुरदार ठहर र अर्को पटक सजाय गर्ने व्यवस्थाअनुसार अदालतले असार ५ मा उनीहरूको सजाय तोक्ने छ ।

मतगणनासम्बन्धी सामाग्री बिगार्न वा नोक्सान गर्न नहुने त्यस्तो गरे १ लाख सम्म जरिवाना वा एकवर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।

भरतपुरमा २०७४ वैशाख ३१ गते स्थानीय चुनाव भएको थियो । मतगणना हुँदै गर्दा जेठ १४ गते राति माओवादी प्रतिनिधि न्यौपाने र सिवाकोटीले मतपत्र च्यातेका थिए । त्यही दिन उनीहरुलाई पक्राउ गरी प्रहरीले जिल्ला अदालतमा मुद्दा चलाएको थियो । पछि उनीहरू धरौटीमा छुटेका थिए ।

निर्वाचन आयोगले मतपत्र च्यातिएपछि भरतपुर –१९ मा पुनः मतदान हुने निर्णय गरेको थियो । पुनः मतदानपछि तत्कालिन एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै रेणु दाहालले मेयर पदमा विजय हाशिल गरेकी थिइन् । त्यतिखेर भरतपुरमा तत्कालिन सत्तारूढ दलहरू नेपाली कांग्रेस र माओवादीले चुनावी तालमेल गरेका थिए । मतगणना अन्तिम चरणमा पुग्दा मतपत्र च्यातिएको थियो । कुल २९ वडा रहेको भरतपुरमा २७ वटा वडाको मतगणना सकिसकेको थियो । माओवादीहरुले १९ वडाका २८६८ मध्ये २२०० मत गनिसकेपछि मतपत्र च्यातेका हुन् । त्यो वडापछि २० नम्बरको मात्र मतगणना बाँकी रहन्थ्यो ।

मतगणना स्थगित भएपछि निर्वाचन आयोगले सहन्यायधीवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानबिन समिति गठन गरी भरतपुरमा पठाएको थियो । उक्त टोलीले अध्ययन गरी त्यहाँ ९० वटा मतपत्र च्यातिएको एकिन गरी प्रतिवेदन बुझाएको थियो ।

यो घटनापछि माओवादी केन्द्र र नेपाली कांग्रेसले मतपत्र च्यातिएको वडा नम्बर १९ मा पुनः मतदान हुनुपर्ने माग गरेका थिए भने एमालेले माओवादीले नियतवश मतपत्र च्यातेको भन्दै पुनः मतदान स्वीकार्य नहुने बताएका थिए । तर, पछि सर्वोच्च अदालतले समेत पुनः मतदान गर्ने निर्वाचन आयोगकै निर्णय सदर गरेपछि त्यहाँ मतदान भएको थियो ।

टिप्पणी लेख्नुहोस्