माइक्रोबसमा दिनहुँ हुइकिने, ‘अपराधी साँढे गोरुहरु’
त्रिशुलीखबर
June 14, 2019


काठमाडौं —

कलंकी–रत्नपार्कको कथाः

केही दिनअघि कलंकीदेखि रत्नपार्क जाँदै गरेको माइक्रोबसको पहिलो सिटमा बुर्का लगाएकी एउटी युवती बसिन् । सिट महिलाको लागि छुट्याइएको थियो । तर उनको छेउमा एकजना युवक बसिरहेका थिए । युवक घरीघरी बुर्का लगाएकी ती युवतीको थाइमा हातले छुन्थे । युवतीले असहज महसुश गरिरहेकी थिइन् । उनी बेलाबेला युवकको हात पन्छाउँथिन्, तर युवक फेरि त्‍यही कार्य दोहोर्‍याउँथे ।

रत्नपार्क–कोटेश्वर कथाः

केही हप्ता पहिले दिउँसोको समयमा रत्‍नपार्कबाट कोटेश्‍वरतर्फ जाँदै गरेको बस यात्रुले खचाखच भरिएको थियो । उभिरहेका यात्रुमध्ये एक अधवैँसे पुरुषले छेउमै उभिरहेकी युवतीको हिपमा हात पुर्‍याए । आफ्नो शरीरमा नचिनेका पुरुषले छोएपछि उनले सानो स्वरमा भनिन्, ‘प्लिज डन्ट टच मी ।’

भक्तपुर–रत्‍नपार्कको कथाः

भक्तपुरबाट रत्‍नपार्कतर्फ जाँदै गरेको बसको अन्तिम सिटको झ्यालको छेउमै दुई युवती बसिरहेका थिए । उनीहरुको छेउमा एक जना पुरुष बसिरहेका थिए । बस आफ्नै रफ्तारमा गुडिरहेको थियो । पुरुषले आफ्नो छेउमा बसिरहेकी युवतीको छातीतर्फ कुइनो घरीघरी लगिरहेका थिए । युवतीले पुरुषको कुइनोलाई रोक्ने कोसिस गरिरहेकी थिइन् । यत्तिकैमा युवती कराइन्, ‘दाइ के गरेको, लाज लाग्दैन ?’ उनले आफूमाथि भएको दुर्व्यवहारको यसरी प्रतिकार गर्दा गाडीका अरु यात्रुको ध्यान उनीतिर केन्द्रित भएको थियो ।

माथी उल्लेख गरिएका यी घटना सार्वजनिक यातायातमा महिलामाथि हुने हिंसाका प्रतिनिधि घटना मात्रै हुन् । यस्ता घटना सार्वजनिक यातायातमा दिनहुँ भइरहेका हुन्छन् ।

अश्लिल हर्कतको भिडियोः

पछिल्लो समय सार्वजनिक यातायातमा महिलामाथि हुने यौन दुर्व्यवहारका घटना दिनप्रतिदिन बढिरहेका छन् । केही समय पहिले डल्लु–लगनखेल रुटमा चल्ने सार्वजनिक बसमा एकजना युवकले अश्लिल हर्कत गरेको भिडियो सार्वजनिक भएको भयो । उक्त भिडियो सार्वजनिक भए पश्चात एक पटक नेपालको सार्वजनिक यातायातमा महिलामाथि हुने दुर्व्यवहारको अवस्थालाई सतहमा ल्याइदिएको छ । उक्त घटनाको अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता पूजा सिंह बताउँछन् ।

सार्वजनिक यातायातमा महिलामाथि हुने दुर्व्यवहारको यो एक ज्वलन्त उदाहरण हो । सार्वजनिक यातायातमा महिलामाथि हुने यस्ता घटना दिन प्रतिदिन बढिरहेको प्रहरीको बुझाइ छ । उक्त घटनामाथि प्रहरीले अनुसन्धान गरिरहेको बताए पनि अहिलेसम्म कुनै उपलब्धि हासिल गर्न भने सकेको देखिँदैन । सार्वजनिक यातायातमा महिलामाथि भइरहको यौन दुर्व्यवहार तथा महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यले महानगरीय प्रहरी परिसर काठमाडौँले उपत्यकामा सेफ्टी पिन अप्रेशन अभियान सञ्‍चालन गरिरहेको छ । सार्वजनिक यातायातमा महिलामाथि हिंसाका घटना बढ्न थालेपछि यो अभियान थालिएको प्रहरीले जनाएको छ ।

सेप्टी पिन अभियानः

‘यात्रुले दिएको सूचनाका आधारमा प्रहरीले महिलामाथि यौन दुर्व्यवहार गर्नेलाई नियन्त्रणमा लिइ कारबाही प्रक्रिया अगाडि बढाएका छौ’ प्रवक्ता सिंहले भनिन् । सार्वजनिक यातायातमा आफ्नो छेउमा बसिरहेका वा उभिरहेका यात्रुको शरीरमा टाँसिने, उभिनका लागि सपोर्ट लिएर डण्डी समातेको हातमाथि हात राख्ने । संवेदनशिल अंगमा छुने, केटीको अनुहार ट्वाल्ल परेर हेर्ने, अश्लिल शब्दहरुको प्रयोग गर्ने जस्ता हर्कत गरिहेका हुन्छन् । जस अन्तर्गत गएको साउन महिनादेखि सुरु भएको सेप्टी पिन अभियानमा अहिलेसम्म प्रहरी तथ्याङ्कअनुसार अश्लिल हर्कतमा २८ जना, शारीरिक यौनजन्य दुर्व्यवहारमा ३३ जना र अपशब्द, अश्लिल गाली गलौजमा ९ जना पक्राउ परेका छन् । प्रवक्ता सिंहबा अनुसार महिलामाथि दुर्व्यवहार हुने रुटको नमूना संकलन गर्ने र सोही नमूनाका आधारमा बढी दुर्व्यवहार हुने रुटको पहिचान गरी सादा पोशाकमा प्रहरी परिचालन गरेर दुर्व्यवहार गर्नेलाई नियन्त्रणमा लिने गरिएको छ ।

प्रहरीले पीक आवरमा सेफ्टी पिन अप्रेशनलाई प्राथमिकता दिँदै आएको छ । पिक आवर अर्थात् बिहान र साँझ अफिसको समय सार्वजनिक यातायातमा यात्रुको चाप बढी हुने भएकोले यस्ता गतिविधि बढी हुने गरेको उनको भनाई छ । यस्ता गतिविधिलाई कम गर्न सबैभन्दा पहिले आफू स्वयम् बलियो हुनु अत्यन्त जरुरी छ ।

सार्वजनिक यातायातमा महिलामाथि हुने दुर्व्यवहार दिनहुँ बढिरहेको छ । तर पछिल्लो समयमा महिलामाथि हुने दुर्व्यवहार कम भएको प्रहरीको दावी छ । साथै सार्वजनिक यातायातमा हुने महिला दुर्व्यवहार न्यूनकरण नभएसम्म प्रहरीको सेफ्टी पिन अपरेशन नरोकिने प्रहरीले जनाएको छ ।

कानुनी प्रावधानः

दश वर्षभन्दा माथिको व्यक्तिले स्वास्थ्य विज्ञान वा चिकित्सा सम्बन्धी उपचारको प्रयोजनका लागि बाहेक सार्वजनिक स्थानमा अश्‍लिल क्रियाकलाप वा व्यवहार गर्न वा यौनाङ्ग देखाउन वा कसैलाई अश्‍लिल शब्द बोल्न, इशारा गर्न नहुने ऐनमा उल्लेख छ । यस्तो कसूर गर्ने व्यक्तिलाई ६ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने छ । त्यसैगरी, कसैले सार्वजनिक स्थानमा वा अरु मानिसले देख्‍ने गरी अन्य कुनै स्थानमा कसैसँग यौन कृयाकलाप गर्न वा कुनै किसिमको अप्राकृतिक मैथुन गर्न नहुने ऐनमा उल्लेख गरिएको छ ।

मुलुकी अपराध संहिताअनुसार सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन तथा कसैलाई अश्लिल गालीगलौज गर्न निषेध गरेको छ । यस्तो कसूर गर्ने व्यक्तिलाई १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।

टिप्पणी लेख्नुहोस्