चीनद्धारा नेपाली भूभाग मिचिएको दावीसहित फिर्ता गर्न माग
त्रिशुलीखबर
June 14, 2019


काठमाडौं, ३१ जेठ । सीमा संरक्षण संघर्ष समितिले चीनले अतिक्रमण गरेको नेपाली भूभाग फिर्ता गर्न भन्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ । ३२ हेक्टर जमिन फिर्ताको माग गर्दै समितिले शुक्रबार नापी विभागमा ज्ञापनपत्र बुझाएको हो ।

उसले चीनले अतिक्रमण गरेका सबै भूभाग तत्काल फिर्ता गराउन माग समेत गरेको छ ।

हुम्लाको फुराङको भाँगदारे खोलाको ६ हेक्टर, हुम्लाकै फुराङको कर्णाली नदीबाट ४ हेक्टर, रसुवाको केरुङस्थित सत्जेन खोला २ हेक्टर, रसुवाकै केरुङको भार्जुग खोलामा १ हेक्टर, रसुवाको जबमु खोलामा ३ हेक्टर, सिन्धुपाल्चोकको भोटेकोशी र खराने खोलामा ७ हेक्टर, संखुवासभाको सुमजुँग खोला, काम खोला, अरुण नदीमा ९ हेक्टर नेपाली भूमिमा चीनले कब्जा गरेको संघर्ष समितिको दावी रहेको छ ।

चीनले नेपालको सीमा अतिक्रमण गरिरहेको भएतापनि नेपालमा यसबारे खासै चर्चा हुने नगरेकोमा आफुहरुले चासो व्यक्त गरेको समितिको भनाई छ । समितिले भूभाग अतिक्रमणको आवाज नेपालले उठाए पनि चीनले व्यवास्ता गर्ने गरेको पनि आरोप लगाएको छ । चीनले नेपालको सीमा मिचिएको स्थानहरूमा बोर्डर अब्जरभेसन पोस्ट स्थापना गरेर गस्ती गर्ने गरेको बताइएको छ ।

संघर्ष समितिका संयोजक सीता ज्योतिद्धारा हस्ताक्षर गरी बुझाइएको ज्ञापनपत्रमा चीनतर्फबाट नेपाली भूभाग अतिक्रमण भइरहेको विषयमा नेपाल सरकारले चासो देखाउनु पर्ने र चाँडै सास्याको समाधान निकाल्न भनेको छ ।

जारी ज्ञापनपत्रः

टिप्पणी लेख्नुहोस्