नेपालबाट कम्युनिष्ट सकिन सक्छन्ः नेकपा नेता माधवकुमार नेपाल
त्रिशुलीखबर
June 15, 2019


काठमाडौं । भारतमा हालै सम्पन्न आम निर्वाचनमा कम्युनिष्ट शक्तिहरु नामेट भएर गएको सन्दर्भमा नेपालबाट पनि यस्तै अवस्था भए नामेट हुन बेर नभएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेता तथा कार्यकर्तामा घमण्ड पलाएमा भारतको वामपन्थी आन्दोलनको जस्तै हालत हुने भन्दै चिन्ता व्यक्त गरेका छन् । नेकपाका १ सय ५५ सदस्यीय जिल्ला कमिटीलाई शुक्रबार नेपालगन्जमा पद तथा गोपनीयताको सपथ गराउँदै पुर्वप्रधानमन्त्री नेपालले यस्तो खुलासा गरेका हुन् ।

नेता नेपालले पार्टीले प्राप्त गरेको उपलब्धीलाई जोगाई राख्न नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिएका छन् ।

नेता नेपालले भने, ‘भारतमा भर्खरै सम्पन्न निर्वाचनमा वामपन्थी शक्तिले एउटा पनि सिट ल्याउन सकेन, वामपन्थी आन्दोलन कसरी ध्वस्त हुन्छ भन्ने कुराको पाठ भारतबाटै सिक्न सकिन्छ,’ उनले भने, ‘नेता, कार्यकर्तामा घमण्ड, लोभ लालच, राज्य शक्तिको दुरुपयोग र आलोचना सुन्न नसक्ने प्रवृत्ति बढ्दै गए कम्युनिष्ट आन्दोलन सकिन समय लाग्दैन ।’

पार्टी नेतृत्वप्रति संकेत गर्दै नेता नेपालले घमण्ड नगरी जनताले दिएको जिम्मेवारी पुरा गर्नुपर्ने उल्लेख गरे । नेकपा बाँकेका अध्यक्ष आईपी खरेलको अध्यक्षतामा सम्पन्न सपथ कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य दलबहादुर राना, मोहम्मद हारुन, दिनेशचन्द्र यादव, महेश्वरजंग गहतराज, देबराज भार, दलबहादुर सुनार, अकलबहादुर बम लगायतले कार्यक्रममा बोलेका थिए ।

टिप्पणी लेख्नुहोस्