‘जुगल हिमाल’मा पहिलो मानव पाइला, पर्यटनको बाटो खुल्यो
त्रिशुलीखबर
June 18, 2019


काठमाडौं, ३ असार । संघीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिक रहेको सिन्धुपाल्चोकको जुगल हिमश्रृंखला मध्येको ग्याल्चेन पीकलाई नयाँ पर्यटकीय प्याकेजको रुपमा विकास गर्नुपर्नेमा सराकारवालाहरुले जोड दिएकाछन्।

सगरमाथाको सफल आरोहण गरिसकेकी माया गुरुङ नेतृत्वको टोलीले गत २०७५ साल चैत्र २६ गते विहान साढे ११ बजे जुगल हिमालमा पहिलो पटक पाइला राखेसँगै यसको महत्व उजागर भएको हो।

सिन्धु पर्यटन परिषदकी अध्यक्षसमेत रहेकी गुरुङसँगै परिषदकै महासचिव मिलन तामाङ र पथप्रदर्शक शर्मिला थापाले ६ हजार १ सय ५१ मिटर उचाइ रहेको उक्त पीकको सफल आरोहण गरेका थिए। उनीहरुलाई गाइड तुलसिंह गुरुङ, नरबहादुर अस्थायी, आसबहादुर गुरुङ र समीर गुरुङ गरी सात जनाले साथ दिएका थिए। सरकारले सन् २०१४ मा जुगल हिमाल आरोहण खुल्ला गरे पनि चैतअघिसम्म कसैले पनि पर्यटन विभागबाट आरोहण अनुमति लिएका थिएनन्। आरोहण खुल्ला गरेको करिब ५ वर्षपछि गुरुङको नेतृत्वमा पहिलो पटक आरोहण गरिएको हो।

सिन्धुपाल्चोक जिल्लामा रहेको जुगल र लाङटाङ हिमश्रृंखलामा ६ हजार मिटरभन्दा माथिका करिब २६ ओटा हिमाल रहेकाछन्। जुगल हिमश्रृंखलामा मात्रै ११ ओटा हिमालहरू रहेकाछन्। ती हिमालहरूमध्ये केही हिमालको अझै आरोहण खुल्ला गरिएको छैन।

प्रदेश ३ सरकार अन्तर्गतको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जुगल गाउँपालिकाले संयुक्तरूपमा आरोहण तथा अध्ययनका लागि सहयोग गरेको थियो। गुरुङका अनुसार पीक आरोहण तथा अध्ययनका लागि प्रदेश सरकारले सिन्धु पर्यटन परिषद्लाई ४० लाख अनुदान सहयोग गरेको थियो भने अन्य विभिन्न निकायबाट ५४ लाख रुपैयाँ सङ्कलन भएकोमा ४८ लाख खर्च भएको छ।

जुगल हिमाल आरोहण टोलीले ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)सँगको समन्वयमा मंगलबार टान सचिवालयमा एक कार्यक्रमको आयोजना गरी जुगल आरोहण अभियान तथा त्यस क्षेत्रको पर्यटकीय सम्भावनाका बारेमा विस्तृत जानकारी गराएको छ। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश ३ का प्रदेशसभा सदस्य निमा लामाले काठमाडौँबाट नजिकै रहेको जुगल पीकको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए।

जुगल पीकसँगै यस क्षेत्रलाई पर्वतीय पर्यटनका लागि तालिम केन्द्रको रुपमा विकास गर्न सकिने तथा प्राकृतिक दृश्वावलोकन गर्न आउने पर्यटकहरुका लागि समेत उपयुक्त गन्तव्य रहेको भनाइ छ। टानका अध्यक्ष नवराज दाहालले ठूलो चुनौतिको सामना गर्दै सिंगो पर्यटन क्षेत्रमा नयाँ गन्तव्यको रुपमा विकासका लागि जुगल हिमाल आरोहण अभियान सफल भएको बताए। यसको दीर्घकालिन विकासको लागि राज्य, सबै संघसंस्था अनि पर्यटन व्यवसायीहरु लागि पर्नेमा उनको जोड रहेको थियो। उनले भ्रमण वर्ष २०२० को लागि जुगलजस्तो भर्जिन गन्तव्यलाई समेटेर आकर्षक प्याकजे बनाउन सकिने विचाससमेत व्यक्त गरे।

आरोहण दलकी नेता गुरुङले काठमाडौँबाट नजिकै रहेको भर्जिन हिमाल आरोहणमा कसैले चासो नदेखाएपछि आफैले नेतृत्व गरेर आरोहणमा गएको र यसको प्रवद्र्धनका लागि ठोस योजना बनाउनुपर्नेमा जोड दिएकी छिन्।

टिप्पणी लेख्नुहोस्