‘सिर्जनामाथि बलत्कार भो, म गलबन्दीविरूद्ध कानूनी उपचार खोज्छु’: शम्भु राई
त्रिशुलीखबर
June 21, 2019


काठमाडाैं । नेपाली लोकगीत संगीतका हस्ती हुन्, शम्भु राई । उनी नेपाली सामाजिक रुपान्तरण, जनपक्षीय, मनोरञ्जनात्मकसहित चेतनामूलक गीतहरु गाउँछन् ।

आलु दम चाना, बाह्रहाते पटुकीले, मोहनी भाकाले, छुकछुके रेलको, रुमाल सुकाइदेऊ, धारा पानीजस्ता १ हजारभन्दा बढी गीतमा उनको स्वर सुन्न सकिन्छ ।

शम्भु राईले आफ्नो गीत प्रकाश सपुतको गीत गलबन्दीसँग मिल्यो भनी दाबी गरेका छन् । यही विषयलाई लिएर समाजिक सञ्जाल तातेको छ । यसै सन्दर्भमा शम्भु राईसँगको संक्षिप्त संवाद।

जसले घर भत्काउँछ, उसको पनि भत्कन्छः

एक साताअघि बद्री पंगेनीजी, प्रकाश भाइ र म बसेर संवाद गरेको हो । त्यसपछि कुनै पनि छलफल भएको छैन । उहाँहरुको पनि आफ्ना केही कुरा होलान् ।

कानूनले अर्काको चोर्नुपर्छ भन्यो भने म पनि पुराना सिर्जना भत्काउँदै जान्छु । तर, एउटाले घर भत्काएर अर्कोको घर बनाउँछ भने त्यसलाई भत्काउने पनि अर्को जन्मन्छ । त्यसले झनै नष्ट गर्छ ।

अब हेर्दै जाऊँ, परिस्थितिले सबै कुरा निर्धारण गर्छ । आजदेखि विभिन्न संघ संस्थाहरुसँग कुरा गर्न थालेको छु । कुन परिस्थिति बन्छ, साथीभाइले कानूनी प्रक्रियामै जानुपर्छ भन्छन् भने त्यो गर्नैपर्छ ।

मैले ‘मेरो गोरुको बाह्रै टक्का’ भनेको छैन । सकेसम्म यो विषयलाई विवादमा नलैजाऊँ नै भन्ने थियो । उहाँहरुले मेरो कुरा सुनिराख्नुभएको नै छैन । विवादमा नजाँदा राम्रो र नयाँ पुस्तालाई एउटा उत्साह उमंग हुन्छ । त्यो चाहनाविपरीत जाने भए ठीकै छ जाऔं ।

प्रकाश भाइले अस्तित्व स्वीकार गर्नुपर्छः

अझै पनि विवाद नटुंगिएको हामीले एक अर्काले अस्तित्व स्वीकार गर्न नसकेर हो । प्रकाश भाइको अस्तित्व म सम्मानसहित स्वीकार गर्छु ।

उहाँले मेरो अस्तित्व स्वीकार गर्नुहुन्छ हुँदैन थाहा छैन । उहाँको अस्तित्व स्वीकार गर्दै छु भन्दै गर्दा प्रकाश भाइले के भन्नुहुन्छ । शम्भु दाइको अस्तित्व स्वीकार्छु भन्ने तर नाम मेटिदिने हो भने त्यो स्वीकार हुनेछैन । प्रकाश भाइको मैले स्वीकार गर्दा मैले पनि उहाँको नाम राख्नुपर्छ ।

संगीतको सीमानामा हस्तक्षेप भोः

मान्छेहरु किन लडिरहन्छन्, तपाईंलाई पनि अवगत नै होला । मान्छेहरु सीमानाका लागि लडिरहन्छ । मेरो देशको सीमाना कसैले हस्तक्षेप गर्न पाइँदैन भन्दै लडिरहन्छन् । हो, त्यस्तै मेरो पनि संगीतको सीमानामा हस्तक्षेप भएको हो ।

यद्यपि सीमानामा मिलन र हार्दिकता भयो भने त्यताबाट नुन तेल किन्न पाइन्छ ।

मेरो कुनै पनि आग्रह वा पूर्वाग्रह छैन । कसैले मलाई उचालेको पनि छैन । कसैले उचाल्दैमा म उचालिने मान्छे पनि होइन । यो एउटा हस्तक्षेप भएको कुरा हो । यसले राम्रो परिणाम दिँदैन । यसलाई परिणामले देखाउँछ ।

मलाई खाने बाघले अरुलाई पनि खान्छः

यो शम्भु राईको एक्लो एजेन्डा होइन । सामूहिक एजेन्डा हो । सामूहिक एजेन्डा हो यो, सबैले आवाज उठाउन पाउनुपर्छ । तर, लोकगीत हो थोरै मिल्दैमा के हुन्छ र भनेर त्यतिकै बस्यौं भने भोलि मलाई खाने बाघले अरुलाई पनि खान्छ नि ।

यस्तो बाटो अरुले पनि लिन्छन् । त्यतातिर जानुभन्दा पनि हार्दिकता, समता, नैतिकता, बौद्धिकता सबै कुरा विचार गरेर समाधान निकाल्नुपर्छ ।

आफैं सकिन लागेपछि तातेंः

मलाई यो कुरा ठूलो थिएन । तर, भन्दा भन्दै आफैं सकिन लागे पछि म सक्रिय हुँदै छु ।

प्रकाश सपुत अहिले अत्यधिक व्यस्त र सम्भावना बोकेका गायक हुन् । तर, म धेरै लचिलो भएँ । अब लचिलो हुन्नँ ।

प्रकाश भाइ पनि मेरो भाइ हो । उहाँलाई मैले पेलेको छैन । म भाइबहिनीहरुलाई माया गर्छु र मेरा अग्रजलाई पनि सम्मान गर्छु । यतिको दिनसम्म पर्खिएँ । अहिलेसम्म कतै पनि निवेदन दिएको छैन ।

यो मेरो धैर्यतालाई कसैले नराम्रो भन्यो भने शम्भु राईमाथि अन्याय हुन्छ । र सम्पूर्ण सर्जकहरुप्रति अपमान हुन्छ । यति मात्रै होइन, सर्जककै सिर्जना कपी पेस्ट हुँदै गयो भने नेपाली लोक गीत संगीत कहाँ पुग्छ ? यो सबैले मनन गर्नुपर्ने कुरा हो ।

शम्भु राई अझै पनि नेपाली गीत संगीतमा संघर्ष नै गर्दै छ । त्यति धेरै स्थापित भसकेको छैन् । पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न टिप्पणी पनि हुन थालेका छन् । र, एकजना लेखकले शम्भु राईले यो विषयमा राल काड्नुहुँदैन पनि भनेका छन् ।

मेरो गीत सार्वजनिक गर्न लागत खर्चसहित मैले सरकारलाई १५ प्रतिशत भ्याट तिरेको छु । यो लोकलय हो भने ठिकै छ । लोकलयलाई लोकलय हो भन्नु पर्यो नि । त्यो लोकलय प्रकाश सुपत भाइको संगीतचाहिँ कसरी भयो ?

मलाई र्याल नकाट्नु भनेर लेख लेख्ने दिल निसानी मगरलाई लोकगीतको राम्रो अध्ययन गरेर आउन आग्रह गर्छु । यस्तै, कुरा गर्ने हो भने व्याकुल माइलाको राष्ट्रिय गीत ‘सयौं थुगा फुलका हामी’ गीतलाई पनि राष्ट्रिय सम्पत्ति हो, सबैले प्रयोग गर्न पाइन्छ भन्दै संगीत मेरो हो भन्दै राख्न पाइन्छ ? यो बुझ्न जरुरी छ ।

२०४८ सालमा बजारमा ल्याएको गीत हो मैले गाएको देउसी गीत। झन्डै ८ लाख खर्च भएको छ । त्यो बेला त्यो गीत ‘मेरो फूल फूल्यो गाउँ बेसी’ एल्बममा संग्रहीत भएर बजारमा आएको हो ।

मैले संगीत भरेर मैले जन्माएको गीत राम्रोसँग बुझेको छु । १० महिना पेटमा राखेर जन्माएको कति वेदना हुन्छ, जन्मिएपछि त्यो सिर्जना कस्तो बन्छ, हेक्का हुनुपर्छ ।

त्यो गीतको गर्भधान २०४८ सालमा नै भएको हो । म आफैं पनि सिकारु गायक हो । एउटा गीत गाउँछु र अर्को गीतबाट सिक्छु ।

मसँग चोरीका प्रमाण छन्ः

चोरीका मसँग थुप्रै प्रमाण छन् । ब्याटल वान, बोलमाया, सालको पात टपरीदेखि गलबन्दीसम्म आइपुग्दा प्रमाण थुप्रै छन् । मैलेभन्दा पनि उहाँहरु आफैंले प्रमाण दिइराख्नुभएको छ ।

त्यसरी गर्न पाउनुपर्छ भन्नेले एउटा संगठन खोलेर बस्दा हुन्छ । अलि अलि मिलेर केही हुँदैन । पुरानो स्रस्टाले जे गरेका छन्, त्यसलाई केही लेपन लाउन राज्यले दिन्छ भने मेरो भन्नु केही छैन । तर, शम्भु राईको गीत कपी हुँदै गर्दा मलाई पेल्दै गरे भने जस्तालाई त्यस्तै ढिँडालाई निस्तै हुन्छ । मेरो घर जल्दै गर्दा ऊ हाँस्दै गर्दा त्यसले विनाश गर्छ ।

आफ्नो सिर्जनाप्रति विश्वास राखौं । अरुको सिर्जनाको पछि नलागौं । अब कानूनले के गर्छ, थाहा छैन, अब कानूनी प्रक्रियामा जाने हो । समाज र संस्थाले के भन्छ, त्यहीअनुसार बढ्ने हो ।

मलाई हिट हुने लोभ होइन । कस्तो हिट हो । दाउरामाथिको हिट हो कि रु र, मलाई पैसा कमाउनुपर्ने लोभ पनि छैन । तर, कानूनी रुपमा अघि बढिसकेपछि मेरो बौद्धिक सम्पत्तिमाथि भएको क्षतिलाई मेरो नामका लागि मात्रमा सीमित राख्दिनँ ।

सिर्जनामाथि ‘बलात्कार’ नहोस्ः

स्रस्टाको सिर्जनामाथि बलात्कार नगरियोस् । शम्भु राईको दुई लाइन लय मिल्दैमा शम्भु राई सकिँदैन । विधि–विधानको र आफ्नो मौलिक सिर्जनाको बाटोतिर लाग्नुपर्छ ।

कैंची लिएर आएर पुरानो स्रस्टाको सिर्जनालाई हाँगा लुछेर मास्ने काम नगरियोस् । चर्चा कमाएर क्षणिक साउनको भेल जस्तो नहोस् । बरु सानो धारको पानी जस्तो होस् । जहिले पनि पानी आरहोस् । यही भन्नका लागि शभ्भु राईले यो आवाज उठाएको छ ।

नयाँ पुस्ताले पुराना मेट्न कोसिस गर्दै कैंची लिएर आउँदै छन् । कानूनी प्रक्रियामा अघि बढें । अब कानूनले गीत चोर्न पाइन्छ भन्यो भने त्यसविरुद्ध अघि बढ्न पनि हामी तयार छौं । शम्भु राई एक्लै बोलेको छैन ।

टिप्पणी लेख्नुहोस्