मेयरले ३० लाख पाउँदा सोही घटनामा परेका नरेश भने जिउँदो लास बनेर सड्न बाध्य
त्रिशुलीखबर
June 26, 2019


काठमाडौं, ११ असार । मानवीयता हराएपछि मानव मानव जस्तो लाग्दैन। जब चेतना गुम हुन्छ तब उ जिउँदो लास जस्तै बन्छ। झापा विर्तामोडको एक घटना नियाल्दा यहि कुरालाई मलजल गर्छ। यहाँ एकातर्फ मानवीयता हराएका शक्तिशालीहरूका चेतनास्तर गुमेको छ भने अर्कातर्फ वाध्यता र विवशताले मानवलाई जिउँदो लास सरह बनाएको छ। उही घटनामा परेका एकको भाैतिक सम्पत्ति नाश हुँदा सरकार र निकाय सहयोगको राशी लिएर उभिएको छ भने असक्त र घाइते एक मानिसको जीवन उपचार अभावमा छटपटाइ रहेको छ। जो कोहीलाई यस घटनाले राज्य र तिनका निकाय तथा संरचनाहरू कतिसम्म अमानवीय हुन्छन् भन्ने कुराको पटाक्षेप गर्छ।

विवरण यस्तो छ,

घर र गाडीमा तोडफोड हुँदा बिमाको रकम पाइसकेका मेयरलाई मन्त्रिपरिषद्ले ३० लाख क्षतिपूर्ति दिने निर्णय गरिदियो। तर, उही घटनाका घाइतेले गोली निकालेको खर्च पनि पाएका छैनन्।

आन्द्राभुँडी बाहिर निस्किएर मृत भनेर पोस्टमार्टमका लागि लगिएका सुकुम्बासी मजदुर मणी नेपाली एक्कासी ब्युँतिए। ती व्यूतिए यता सरकारले उनलाई हेर्दे हेरेन। उनको उपचारमा लागेको ऋणले उनी अहिले थलिएका छन्।

थलिएका मणी नेपालीको व्यथा,

इलाम दानाबारीको मान्छे हुँ, बिर्तामोडमा बस्छु। मेयर सा’बकै घरनजिकै कोठा भाडामा बसेको छु। इलाममा मेरो केही छैन। बिर्तामोड आएर घर बनाउने काममा लागेको थिएँ। ०७४ कात्तिकमा यतैको एक बालक पोखरीमा मृत भेटिएपछि आन्दोलन सुरु भयो। तर, म मजदुरी गरेर खानुपर्ने, आन्दोलनमा पनि जान पाइनँ। सहकारीको एउटा भवन बन्दै थियो, त्यहीँ काम गर्दै थिएँ। १० कात्तिकको दिन दिउँसो खाजा खान कोठातर्फ जाँदै थिएँ। बाटोमा आन्दोलन चलिरहेको थियो। एक्कासि म भएकै ठाउँमा झडप सुरु भइहाल्यो। मेरै अगाडि नरेश थापा भन्ने मान्छे गोली लागेर ढले। त्यो देखेपछि भाग्न थालेँ। त्यहीबेला मलाई पनि गोली लाग्यो।

गोलीले ढले पनि होसमै थिएँ। मलाई गोली लाग्यो, मलाई बचाओ भन्दै कराउन थालेँ। स्थानीय जनता मेरो उद्धारमा आएका थिए, प्रहरीले उनीहरूलाई लखेट्यो। मेरो कपाल त्यसवेला लामो थियो। प्रहरीले कपालमा समातेर घिसार्दै लग्यो। त्यतिन्जेलसम्म नरेशको मृत्यु भइसकेको थियो। यो पनि मर्‍यो भन्ने ठानेर मलाई नरेशको शवसँगै राखेछन्। मेरो पनि होस आउँदै जाँदै थियो। त्यहाँबाट नरेशको शवसँगै मलाई उठाएर प्रहरीले पोस्टमार्टमका लागि भद्रपुर अस्पताल लग्यो। नरेशको शव सिटमा थियो, मलाई तल राखेका थिए। खाल्डाखुल्डीमा गाडी हल्लिँदा नरेशको शव सिटबाट झरेर ममाथि आउँथ्यो। नरेशको शव रगताम्ये थियो। छेउमा बसेका प्रहरीलाई मैले ‘यो लास उता सारिदिनुस् न’ भनेँ। ए, यो त जिउँदै रहेछ भन्न थाले। तर, दया गर्नुको सट्टा अश्लील शब्द बोल्दै गाली गर्न थाले। अस्पतालको बेडमा लानुको सट्टा पोस्टमार्टम गर्ने घरमा लगे। एकैछिनमा मान्छेहरू पनि भेला भइहाले। मेरो खल्तीमा मोबाइल थियो। श्रीमतीलाई चाहिँ सुनाउन पाए हुन्थ्योजस्तो भयो। ‘मनकुमारी’ भनेर सेभ गरेको नम्बरमा फोन लगाइदिन भनेँ। तर, प्रहरीले मोबाइल नै लगिदिए।

एकै छिनपछि डाक्टरहरू आए। उनीहरूले मैले औँला चलाएको देखेपछि ‘यो त जिउँदै छ’ भने। त्यसपछि बिर्तामोड ल्याएर बी एन्ड सी अस्पतालमा भर्ना गरे। त्यहाँबाट धरान लगे। घोपा बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले ‘यो मान्छे बाँच्दैन’ भन्दै विराटनगर रेफर गर्‍यो। विराटनगरबाट काठमाडौं पठाए। काठमाडौं आउँदा साथमा श्रीमती र बहिनी पनि थिए। कुहिनो छेडेर पेटभित्र पसेको गोली सरेर छातीतिर आउँदै थियो। ट्रमा सेन्टरमा तुरुन्तै अपरेसन भयो। ट्रमामा चार महिना बसेँ। ऋण खोजेर उपचार गरेँ।

कुहिनो छेडेर पेटमा गोली छिरेको थियो। आन्द्राभुँडी बाहिर निस्किएका थिए। आन्द्रामा प्लास्टिक जोडिएको छ। तिघ्राको छाला लगेर पेटमा टालिएको छ। कुहिनोको हड्डी कामै नलाग्ने भएको छ, डाक्टरले स्टिल लगाइदिएका छन्। अहिले घाउ पाकेर पिप आइरहेको छ। स्टिल नै देखिन थालिसक्यो।

उपचार गर्दा दयामायाले थुप्रै ठाउँबाट ऋण त पाएँ। तर, तिर्न समस्या भइरहेको छ। ऋण दिनेले पैसा फिर्ता माग्छन्, तिर्ने उपाय छैन। श्रीमतीले अरूको घरमा काम गरेर थोरै पैसा ल्याउँछिन्। त्यही पैसाले कोठा भाडा तिर्न र छोरो पढाउन मुस्किल छ। बसेको ठाउँबाट उठेर जसोतसो खाना पकाएर छोरालाई खुवाउँछु र स्कुल पठाउँछु। पहिला छोराले बोर्डिङमा पढ्थ्यो, पैसा नै नभएपछि अहिले सरकारी स्कुल सारेका छौँ। बिर्तामोडको मेयर सा’बकै घरनजिकै कोठा भाडामा बसेको छु। मासिक भाडा तिर्नुपर्छ। पहिले बसेको घरमा भाडा तिर्न नसकेर निस्किनुपर्‍यो। ती घरबेटीलाई अझै ४० हजार ऋण तिर्नु छ।

काठमाडौंको ट्रमा सेन्टरमा गोली झिकेपछि उपचार खर्च पाइएला भनेर बिर्तामोड र अर्जुनधारा नगरपालिका कार्यालय पुगेँ। एक लाख ८० हजार जतिको बिल त काठमाडौंमै हराएछ। अर्जुनधारा नगरपालिकाले बिलहरू हिसाब गरेर एक लाख २१ हजारको फाइल बनाएर सिडिओ कार्यालयमा दिनु भन्यो। फाइल लिएर सिडिओ कार्यालय पुगेँ। पैसा आउँछ भनेर आसचाहिँ नगर्नु, आयो भने हामी फोन गर्छौँ भन्नुभयो सिडियो सा’बले। फोन आउँछ कि भनेर बसेको छु, अहिलेसम्म आएको छैन।

हात चलाउन गाह्रो छ, पेट दुख्छ। अघाउन्जेल खान पनि मिल्दैन। अब मसँग खर्च नै छैन। फलोअपमा काठमाडौं जाने बेला भयो। फेरि एउटा अप्रेसन गर्नु छ। म घाइते भएका वेला अर्जुनधारा नगरपालिकाले दुईवटा प्लेन टिकटको व्यवस्था गरिदियो। बिर्तामोड नगरपालिकाले ४० हजार र दुईवटा प्लेन टिकट दिने भनेको थियो। मेरा आफन्तलाई १० १५ हजार मात्र दिएको रहेछ। पूरै रकम पाइएन। मेयर सा’बले दिने भने बमोजिमको पैसा नपाएपछि नगरपालिका नै गएँ। पुरानो कुरा बिर्सिएँ भन्नुभयो। तर, उहाँ आफैंले बिमाबाट साढे ६ लाख पाउनुभयो, सरकारबाट ३० लाख रुपैयाँ पाउँदै हुनुहुन्छ भन्ने पत्रिका पढेर थाहा पाएँ।

यता, मैले गोली निकालेको ऋण तिर्न सकेको छैन। उहाँ त यहाँको मेयर, सरकारी तलब खाने मान्छे, व्यापार पनि गर्नुहुन्छ, महिनामा लाखौँ रुपैयाँ कमाउनुहोला। मेरो त खेतीपाती पनि छैन, घर पनि छैन। हामीजस्ता मान्छेको पक्षमा उहाँ बोल्नुपर्ने हो कि होइन?

टिप्पणी लेख्नुहोस्