आईफा अवार्ड नेपालमा हुने, नेपाली चलचित्रकर्मीको तिव्र विरोध

आईफलाई सरकारको ४४ करोड

त्रिशुलीखबर
June 28, 2019


काठमाडौं १३ असार । आईफा अवार्डका रुपमा चर्चित अवार्ड नेपालमा हुने भएको छ। इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आईफा) अवार्डको २० औं संस्करण नेपालमा हुन लागेको हो। आगामी अगस्ट अन्तिममा काठमाडौंमा हुने यस अवार्डका लागि नेपाल सरकारले ४० लाख डलर अर्थात् ४४ करोड २५ लाख नेपाली रुपैयाँ सहित हवाई, खानपान तथा आवासको छुट्टै व्यवस्थापन गर्ने तयारी गरेको छ।

बिहीबार मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्री वा राज्यमन्त्री संयोजक रहने गरी एक उच्चस्तरीय समिति बनाउने र उक्त रकम दिने निर्णय गरेको हो। अवार्डको सहआयोजक काठमाडौं महानगरपालिका हुने गरी नेपाल पर्यटन बोर्डले नेतृत्व रहने बताइएको छ।

अवार्ड हुने लगभग ९० प्रतिशत टुंगो लागिसकेको पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी को भनाई छ। उनले भने, ‘लगभग छ सय पाहुनाहरूको सहभागिता रहनेछ। ‘आईफाबाट ५० लाख डलर नगदसहित खानपान, आवास र भारतदेखि काठमाडौंसम्मको हवाई खर्च बेहोर्न प्रस्ताव गरिएको थियो। तर ४० लाख डलरमा सहमति नजिक पुगेका छौं।’

जोशीले कार्यक्रम आयोजना स्थल सम्भवतः सैनिक मुख्यालय अगाडिको खेल मैदान हुने बताए। मन्त्रिपरिषद्ले गठन गरेको उच्चस्तरीय समितिमा महानगर मेयर, गृह, परराष्ट्र, अर्थ, स्थानीय विकास, सूचना मन्त्रालयका सचिव, नेपाल पर्यटन बोर्ड, चलचित्र विकास बोर्ड, नेपाल उडड्यन प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, होटल एसोसिएसन अफ नेपालका प्रमुखहरू सदस्यका रूपमा रहने बताइएको छ।

अवार्ड आयोजना हुने खबर बाहिरिए लगत्तै स्वदेशी फिल्मकर्मीहरूले भने तिव्र असन्तुष्टि जनाएका छन्। चलचित्र संघ अध्यक्ष प्रदीपकुमार उदयले स्वदेशी फिल्मका लागि लगानी गर्न हच्किने सरकारले विदेशको निजी अवार्डका लागि करोडौं रुपैयाँ दिनु लाजमर्दो भएको टिप्पणी गरे।

उनले अगाडी भने, ‘आईफा आयोजना गर्नु नराम्रो हैन। कुनै निजी अवार्ड अर्को निजी संस्थाले गरेको भए नराम्रो हैन। तर सरकारले नै सहआयोजना गर्नुपर्ने कारण के हो ? स्पष्ट पारिनुपर्छ,’ अध्यक्ष उदयले थपे, ‘यहाँ आएर रातारात फर्किने पाहुनाकै कारण देशको पर्यटन अभिवृद्धि हुन्छ भन्नु व्यर्थको कुरा हो। स्वदेशी फिल्मको श्रीवृद्धिका लागि एक रुपैयाँ खर्च नगर्ने पर्यटन बोर्डले विदेशी फिल्म अवार्डका लागि करोडौं रुपैयाँ खर्च गर्नुको औचित्य के हो ?’

यससम्बन्धी नेपालका धेरै चलचित्रकर्मीले अिहले सामािजक सञ्जालमा चासाे रािखरहेका छन्। उनिहरूले नेपाल सरकारकाे ठूलो रकम एउटा संस्थाले आयोजना गर्ने कार्यक्रममा खर्च गर्नुभन्दा नेापली चलचित्रको श्रीवृद्धिका खर्च गर्नु उपयुक्त हुने धारणा राखेका छन्।

उच्चस्तरीय समितिकै एक सदस्यसमेत रहेका चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराईले भने आईफामा नेपाली चलचित्रकर्मीको भूमिका कस्तो रहने भन्नेबारेमा छलफल भइरहेको उल्लेख गरे। ‘त्यसबाहेक यस अवार्डले नेपाललाई देशबाहिर परिचित गराउन मद्दत गर्छ। यहाँको छायांकन स्थलका बारेमा पनि प्रचार हुनुका साथै नेपाललाई सुटिङ हबका रूपमा चिनाउन अवार्डलाई सदुपयोग गर्न खोजेका हौं,’ अध्यक्ष भट्टराईले थपे, ‘भारतीय फिल्मको सुटिङ नेपालमा ल्याउनका लागि मार्ग प्रशस्त गर्ने अपेक्षा लिइएको छ।’

विजक्राफ्ट इन्टरनेसनलले आयोजना गर्दै आएको आईफा अवार्डको १९ औं संस्करण थाइल्यान्डको बैंककमा सम्पन्न भएको थियो । अभिनेता अभिताभ बच्चन आईफा अवार्डका ब्रान्ड एम्बेस्डर हुन्।

टिप्पणी लेख्नुहोस्