जमलमा भएको ‘भयानक’ दुर्घटनाको कारण ‘मापसे’
त्रिशुलीखबर
June 29, 2019


काठमाडौं, १४ असार । काठमाडौंको जमलमा कार दुर्घटना भएको छ। केशरमहलबाट जमलतर्फ गइरहेको बा११च ३६०४ नम्बरको कार शनिबार बिहान ६ बजेतिर दुर्घटनामा परेको हो।

ट्राफिक प्रहरीले यस कार दुर्घटनालाई ‘भयानक’ भनेको छ। यद्यपि मानवीय क्षति भने भएको छैन।

दुर्घटनामा चालक बिजेन दुवाल श्रेष्ठ सामान्य घाइते भएका छन्। कारमा तीन जना रहे पनि सबै सकुशल रहेको प्रहरीले जनाएको छ। श्रेष्ठ मच्छिन्द्र आयल स्टोरका सन्चालक हुन्। उनको खुट्टामा सामान्य चोट लागेको छ।

‘चालकले मापसे गरेर गाडी चलाउँदा दुर्घटना भएको हो। दुर्घटना भयानक भए पनि सबै सकुशल छन्,’ दरबारमार्ग प्रहरीले भन्यो, ‘कार कामै नलाग्ने गरी क्षतविक्षत भएको छ।’

उक्त कार गलत लेनमा गएर होटल एलो प्यागोडा अगाडिको सडकको रेलिङमा जोतिएको छ। दुर्घटनाको तस्वीर हेर्दा कारको इन्जिन सडकमै उछुट्टिएको देखिन्छ र फुटपाथको रेलिङ भाँच्दै उत्तानो परेर पल्टिएको छ। दुर्घटनाको क्रममा कारको ठक्करबाट सडक किनारमा रोकि राखेको एक पर्यटक माइक्रोमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।

टिप्पणी लेख्नुहोस्