ट्रकभित्रै महिलालाई बलात्कार गर्ने ड्राइभर र खलासी पक्राउ
त्रिशुलीखबर
June 29, 2019


तनहुँ, १४ असार । मोरङको उर्लाबारी नगरपालिका ३ सूर्यचोकका ३० वर्षीय बिमल ढकाल र ३२ वर्षीय गोपाल भण्डारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। लिफ्ट लिएकी एक महिलालाई उनिहरुले ट्रकभित्रै बलात्कार गरेको प्रहरीको भनाइ छ। उनिहरुलाई हिरासतमा राखिएको जनाइएको छ।

ट्रक ड्राइभर ढकाल र खलासी भण्डारीविरुद्ध जर्बजस्ती करणी मुद्दामा अनुसन्धानका लागि तनहुँ अदालतबाट अनुमति लिएर हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिएका छन्।

बुधबार साँझ नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट दमौली आउँदै गरेको ना१क ४३४९ नम्बरको ट्रकमा चढेकी ३० वर्षीया ती महिलालाई ट्रकभित्रै ती दुई अभियुक्तले बलात्कार गरेका थिए। प्रहरीका अनुसार नारायणगढ आफन्तकहाँ जान लागेकी ती महिलाले बस नभेटेपछि ट्रकसँग लिफ्ट मागेकी थिइन्। दमौलीका लागि रड लिएर हिँडेको सो ट्रक करिब दुई घण्टामा नारायणगढ पुगेको र ट्रकबाट झर्न नदिइ आफूमाथि जर्बजस्ती बलात्कार गरेको ती महिलाको आरोप छ।

व्यास १२ छिर्कनेस्थित सडक किनारमै ट्रक रोकेर ड्राइभर र खलासी दुवैले बलात्कार गरेको महिलाको भनाइ छ। विहान १ बजेतिर भएको घटनापछि ट्रकले आफूलाई दमौली झारेको र आफू पोखरा पुगेपछि प्रहरीको सम्पर्कमा पुगेको महिलाले बताएकी छिन्।

यसबारे सूचना आए लगत्तै प्रदेश प्रहरी कार्यालयको सूचनाका आधारमा तनहुँ प्रहरीले बीपी वनवाटिका मैदानमा रड अनलोड गर्दै गरेको अवस्थामा ड्राइभर र खलासी दुवैलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक लामिछानेले बताए।

टिप्पणी लेख्नुहोस्