अभिनेता दिलिपकी छोरी दिव्याको ‘लक्का जवान’मा डेब्यु
त्रिशुलीखबर
July 1, 2019


काठमाडौं । हास्य कलाकार शिवहरी पौडेल अब हास्य कलाकार मात्र नभएर ठुलो पर्दाको चलचित्र निर्देशकको रूपमा दर्शकमाझ आउने भएका छन्।

उनको निर्देशनमा बन्न लागेको फिल्म ‘लक्का जवान’ को आइतबार राजधानीमा हास्य कलाकार किरण केसीको जन्मदिनको अवसर पारेर घोषणा गरिएको छ। चलचित्रका सहनिर्माताको रूपमा किरण र अभिनेता दिलीप रायमाझी रहनेछन्।

आमा बङ्गालमुखी फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुने ‘लक्का जवान’मा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहनेछ।

कलाकार र अन्य प्राविधिक पक्षबारे पछि जानकारी दिने निर्माण पक्षले बताएको छ। तर चलचित्र निर्माण घोषणा भएसँगै चलचित्रमा अभिनेता दिलीप रायमाझीकी छोरी दिव्यालाई डेब्यू गराउने भने पक्का भएको बताइएको छ। यससम्बन्धी जानकारी दिँदै निर्देशक पौडेलले दिव्यालाई फिल्मबाट डेब्यू गराउने पहल गरेको र केही दिनमा टुङ्गो लाग्ने बताएका छन्।

हाल अमेरिकामा रहेकी दिव्या अभिनयमा इच्छुक रहेको तर अहिल्यै डेब्यु गर्ने नगर्ने उनले आधिकारिक जानकारी दिइ नसकेको निर्माण पक्षको भनाइ छ।

टिप्पणी लेख्नुहोस्