आईफा अवार्ड रोक्न सरकारलाई संसदीय समितिको निर्देशन
त्रिशुलीखबर
July 2, 2019


काठमाडौं, १७ असार । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको छ। समितिको मंगलबार बसेको बैठकले तत्काल सबै प्रक्रिया रोक्न निर्देशन दिएको हो।

समितिकी सभापति पवित्रा निरौला खरेलका अनुसार सरकारले अवार्ड गर्ने बारे सम्झौता नगरे पनि मस्यौदा हेर्दा नेपालको स्वाधिनता, स्वतन्त्रता र आस्मितामा आँच पुर्‍याउने खालको छ। ‘यो अवार्ड तुरन्त रोक्न सिमितले निर्देशन दिएको छ’ उनले भनिन्।

इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आईफा) अवार्ड नेपालमा गर्न सरकारले सैद्धान्तिक सहमति दिएको बताइएको छ। नेपाल पर्यटन बोर्डको नेतृत्वमा हुने आईफा अवार्डमा काठमाडौं महानगपालिका सहआयोजक रहेको छ र महानगरले ४५ करोड दिने समझदारी गरेको स्रोतको दावी छ। यद्यपि अरु सम्झौता भने हुन बाँकी छ।

समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई बोलाएको थियो तर उनी गएनन्। सचिव मोहनकृष्ण सापकोटा, पर्यटन बोर्डका कार्यकारी सिइओ दीपकराज जोशी भने उपस्थित थिए। बैठकमा सचिव सापकोटा र सीईओ जोशीले नेपालको पर्यटन प्रबद्र्धन र व्यापारिक फाइदा हुने बारे ब्रिफिङ गरेका थिए।

तर, सत्तारुढ सांसदहरुले भने यसको चर्को आलोचना गरेका छन्। भीम रावल, अग्नि सापकोटाले यस अवार्ड हुनै नहुने धारणा यसअघि नै सार्वजनिक गरिसकेका छन्। समितिमा भएको सम्बोधनका क्रममा अग्नी सापकोटाले नेपालको राष्ट्रियताप्रति नेतृत्वले लिएको धारणाप्रति दुःख व्यक्त गर्दै निक्कै भावुक बनेका थिए।

नेपाल सरकार र आईफाबीच हुने सम्झाैता-पत्र

टिप्पणी लेख्नुहोस्