आइफामार्फत आएको ‘खतरनाक’ भारतीय प्रस्ताव, उठेको रकम नेपालले एक पैसा पाउने छैन
त्रिशुलीखबर
July 2, 2019


काठमाडौं, १७ असार । इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) को आयोजनाको बिषयलाई लिएर नेपालमा तिव्र बहस भइरहेको छ। सरकारका मन्त्री र नेपाल पर्यटन बोर्डले आइफाको २० औँ संस्करणको आयोजनाले राष्ट्रिय गौरव बढ्ने दाबी गरेको छ भने, प्रतिपक्ष् तथा सर्वसाधारणले भारतीय पक्षको प्रस्तावले नेपालको स्वाधिनता, स्वतन्त्रता र अस्मितामाथि आँच आउने भन्दै यसको सर्वत्रबिरोध गरिरहेका छन्।

भारतीय पक्षले पठाएको प्रस्तावको कारण प्रतिनिधिसभाको मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक तनावपूर्ण भएको थियो। समितिको बैठकले भारतीय पक्षको प्रस्तावले नेपालको स्वाधिनता, स्वतन्त्रता र अस्मितामाथि आँच आउने भन्दै कार्यक्रम रोक्न सरकारलाई निर्देशन दिएको छ।

सत्तारुढ नेकपाका सांसद सुदन किराँतीले आइफा अवार्डका लागि भारतीय पक्षले पठाएको प्रस्ताव पढ्दा नेपाललाई भारतले एउटा प्रान्तको रुपमा व्यवहार गरेको बताउँछन्। उनले भने, ‘हाम्रो देशलाई भारतले एउटा प्रान्त जस्तो बनाउन खोजेको देखिन्छ। यदि यो प्रस्ताव मानिए हाम्रो देशको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधिनता समाप्त हुन्छ। यो हामीमाथिको मनोवैज्ञानिक तथा सांस्कृतिक हमला हो।’

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आइफा अवार्ड हुने तर सरकारले एक पैसा नदिने दाबी गरिरहेका छन्। तर, भारतीय पक्षले पठाएको प्रस्ताव भने सरकारका जिम्मेवार मन्त्रीबाट आएको अभिव्यक्तिसँग मेल खाँदैन। भारतीय पक्षले पठाएको प्रस्तावमा ४ मिलियन अमेरिकी डलर करसहित दिनुपर्ने उल्लेख छ। तर, दोस्रो प्राबधानले ५ मिलियन अर्थात् ५० लाख अमेरिकी डलर दिनुपर्ने हुन्छ।

हेर्नुहोस् सम्झाैताका लागि प्रस्ताव गरिएको पत्र-

नेपाल सरकार र आईफाबीच हुने सम्झाैता-पत्र

पैसा दुई किस्तामा दिनुपर्ने उल्लेख छ। पहिलो किस्ता अर्थात सम्झौतमा हस्तक्षर भएपछि १० जुलाई २०१९ सम्ममा २५ लाख अमेरिकी डलर र दोस्रो किस्ता १ अगस्ट २०१९ सम्ममा २५ लाख अमेरिकी डलर दिनुपर्ने भनिएको छ।

चार हजार दर्शक अट्ने कार्यक्रम स्थलको व्यबस्थापन गर्नुपर्ने र कार्यक्रम स्थल २० दिन भारतीय पक्षले प्रयोग गर्ने प्रस्तावमा उल्लेख छ। भारतीय पक्षले सैनिक मुख्यालयको सामुन्ने फुटबल मैदानलाई रोजेको छ। यदि उनीहरुको प्रस्ताव मानिए सैनिक मुख्यालयभित्रको संवेदनशील क्षेत्र २० दिन भारतीयहरुको नियन्त्रणमा रहनेछ।

एउटा स्वाधीन मुलुकको सैनिक मुख्यालय २० दिन कब्जामा दिनु बिडम्बनापूर्ण हुने सांसद सुदन किराँती बताउँछन्।

कार्यक्रमको टेलिभिजन कपिराइट, विज्ञापनदेखि टिकट संकलनबाट उठेको सम्पूर्ण रकम आइफाले नै उठाउने उल्लेख छ। कार्यक्रमबाट उठेको रकम नेपालले एक पैसा पाउने छैन। कार्यक्रममा सहभागी हुन करिब ६ सय कलाकार नेपाल आउनेछन्। उनीहरुलाई जहाजमार्फत काठमाडौंसम्म ल्याउने जिम्मेवारी सबै नेपालले नै लिनुपर्ने हुन्छ। अतिथिको सम्पूर्ण प्रबन्ध नेपालले नै गर्नु पर्नेछ।

यदि कार्यक्रमको बिषयमा विवाद र मुद्दा मामिला आएमा नेपालपक्ष भारतीय अदालत जानु पर्नेछ।

टिप्पणी लेख्नुहोस्