लमजुङमा नीजि कम्पनीले अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी बनाउने
त्रिशुलीखबर
July 4, 2019


काठमाडौं, असार १८ । ऐतिहासिक स्थल लमजुङमा ‘वर्ल्ड स्काई सिने भिलेन नेपाल’ नामक फिल्म सिटी निर्माण हुने भएको छ । निर्माणका लागि बुधबार सूचना तथा सञ्चार मन्त्रालयको सभाकक्षमा नेपालको तर्फबाट स्काई इन्टरटेन्मेन्ट इन्भेस्टमेन्ट प्रा.लि. र इटालियन कम्पनी वल्र्ड एरिया होल्डिङ कम्पनीबीच सहमती पत्रमा हस्ताक्षर भएको छ ।

लमजुङको बेसीसहर नगरपालिकाको वडा नं. ३, ४, ५ र ९ को ५ हजार रोपनीमा फिल्म सिटी निर्माण हुनेछ ।

नेपालको पहिलो, ठूलो र अन्तर्राष्ट्रिय स्तरको उक्त फिल्म सिटीका लागि अनुमानित ५ अर्ब ९० करोड लाग्ने स्काई इन्टरटेन्मेन्ट इन्भेस्टमेन्टका अध्यक्ष आकाश अधिकारीले जानकारी दिएका छन् । फिल्म सिटीको डिपिआरको काम छिट्टै हुनेछ । ५ देखि ७ वर्षमा फिल्म सिटी निर्माण पूरा हुने अनुमान गरिएको छ ।

उक्त फिल्म सिटी संसारकै सबैभन्दा अग्लो ठाउँको हुनेपनि अधिकारीको दावी छ ।

समुद्रीसतह भन्दा २०६० देखि २९०० मिटरसम्म उचाईमा यो फिल्म सिटी निर्माण हुन लागेको बताइएको छ । केही दिन अगाडि चलचित्र बिकास बोर्डको बार्षीकीमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले फिल्म सिटीको आवश्यकतामाथि जोड दिएा थिए ।

लमजुङमा बन्ने फिल्म सिटीमा बलिउड वा हलिउड कुनै पनि फिल्म पूरा गर्न सक्ने परिकल्पना निर्माण कम्पनीले गरेको छ । कार्यक्रममा मन्त्री बाँस्कोटाले लमजुङमा बन्ने अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी नेपाली फिल्म क्षेत्रका लागि एउटा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

टिप्पणी लेख्नुहोस्