१५ अर्बमा नागढुंगा सुरुङमार्ग बनाउने सम्झौता
त्रिशुलीखबर
July 4, 2019


काठमाडौं, १८ असार । काठमाडौंको नागढुंगादेखि धादिङको सिस्ने खोलासम्म सुरुङ मार्ग निर्माणका लागी १५ अर्बमा सम्झौता हुने भएको छ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को अन्तिम स्वीकृति आएपछि सम्झौता गर्ने सडक विभागको तयारी रहेको छ ।

‘हामीले आफ्नो तर्फबाट मूल्यांकन गरेर जाइका स्वीकृतिको लागि जापान पठाएका छौं,’ सडक विभागका सूचना अधिकारी अर्जुन सुवालले भने, ‘उनीहरूले तेस्रो पक्षसँगको छलफल गरेर स्वीकृतिको लागि अन्तिम पत्र पठाउने छन् ।’

उनले जाइकाको अन्तिम स्वीकृति आएपछि ठेक्का सम्झौताको काम अघि बढाउने बताए । ‘अर्को हप्तासम्म जाइकाको मूल्याङ्कन स्वीकृतिसहितको पत्र आउने विश्वास छ,’ उनले भने ।

सुरुङमार्ग आयोजना प्रमुख श्याम प्रसाद खरेल चालू आर्थिक वर्षमा नै ठेक्का सम्झौता हुनेमा विश्वस्त छन् । ‘अर्को हप्तासम्ममा जाइकाको स्वीकृति आयो भने तुरुन्तै ठेक्का सम्झौता हुन्छ,’ खरेलले भने, ‘यही वर्ष सम्झौता भएन भने साउन पहिलो हप्ता ठेक्का सम्झौता हुन्छ ।’ उनले १५ अर्बको हाराहारीमा ठेक्का सम्झौता हुने सक्ने बताए । ‘अन्तिम लागत भने ठेक्का सम्झौतापछि मात्रै थाहा हुन्छ,’ खरेलले भने ।

ठेक्का सम्झौता भएको ४२ महिनामा काम सक्ने गरी तयारी भएको उनले प्रष्ट पारे ।

मुआब्जामा चित्त नबुझाएका स्थानीयवासीको असन्तोष;
सुरुङमार्ग निर्माणस्थलको मुआब्जा वितरणमा समस्या देखिएको छ । सुरुङ मार्गको पश्चिमी भागतर्फ धादिङको सिस्नेखोलाका स्थानीयले मुआब्जा वितरणमा अवरोध गरेका छन् । ‘काठमाडौंको मूल्य मागेपछि मुआब्जा वितरणको काम रोकिएको छ,’ आयोजना प्रमुख खरेलले भने, ‘हामीले प्रचलित मूल्यभन्दा निकै बढी दिएका छौं तर उहाँहरू काठमाडौंकै मूल्य माग्नु हुन्छ ।’

अहिले विभागले काठमाडौंमा बाटो नपुगेको जग्गालाई प्रतिआना ९ लाख दिएको छ र धादिङमा भने प्रतिआना ७ लाख प्रस्ताव गरेको थियो । यता काठमाडौंतर्फको मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ ।

टिप्पणी लेख्नुहोस्