‘अब आर्थिक वृद्धिदर ८.५ प्रतिशत’ -प्रधानमन्त्री
त्रिशुलीखबर
July 6, 2019


काठमाडौं, २० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष ८.५ को आर्थिक वृृद्धिदरको प्रक्षेपण गरेका छन् । प्रधानमन्त्री ओलीले भने, ‘यो बर्ष ७.१ प्रतिशत आर्थिक वृद्धिदर हासिल भएको छ, अर्को साल ८.५ प्रतिशतले आर्थिक वृद्धि हुन्छ ।’

त्यस्तै सरकारको विरोध गर्नेले मास्क लगाएर हिँडेको प्रधानमन्त्री ओलीले टिप्पणी गरेका छन् ।

समाजवादी पार्टी नेपाल छाडेर आएका कल्पना धमला, देवेन्द्र पराजुली लगायतका नेतालाई नेकपामा प्रवेश गराउन आज आयोजित कार्यक्रममा नेकपा अध्यक्षसमेत रहेका ओलीले भने, ‘म प्रधानमन्त्री हुँदा काठमाडौंमा आधा जनसंख्या मास्क लगाएर हिँड्थे, अहिले मास्क लगाउनु पर्दैन भनेको थिएँ । अहिले सरकारको विरोध गर्न मास्क लगाएर हिँड्न थालेका छन् ।’

काठमाडौंमा सडक निर्माण भइरहेको, मुख्य बाटोमा धुलो नउडे पनि भित्री निर्माणाधीन रहेकाले धूलो उडेको हुनसक्ने र त्यो केही दिनमै अन्त्य हुने उनको भनाइ थियो ।

‘काठमाडौंका सबै बाटा कालोपत्रे हुन्छन्, धूलो उड्दैन’ ओलीले अगाडी भने । प्रतिपक्षी नेपाली कांग्रेसले बढी नै आलोचना गरेको भन्दै धैर्य नगुमाउन पनि उनले आग्रह गरे ।

प्रधानमन्त्री ओलीले दुई वर्षभित्र निरक्षरताको अन्त्य गरिसक्ने बताए । युनेस्कोको भनाइअनुसार अल्पविकसित देशमा कक्षा छाड्ने विद्यार्थीको घट्दो संख्यामा नेपाल उच्चस्थानमा रहेको र विद्यालय बाहिर रहेका विद्यार्थीहरूको संख्यामा उल्लेख्य कमी आएको उनको दावी थियो ।

टिप्पणी लेख्नुहोस्