‘बाबुराममात्र होइन, उपेन्द्र पनि नेकपामा आए हुन्छ’
त्रिशुलीखबर
July 5, 2019


काठमाडौं, २० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रममा आफूभन्दा पहिले बोल्ने अध्यक्ष प्रचण्डले ‘मेरा त गुरुहरू पनि बाहिर हुनुहुन्छ’ भनेको प्रसंगमा टेकेर ‘डा. बाबुराम भट्टराईमात्रै होइन, उपेन्द्रहरू पनि नेकपा प्रवेश गरे हुन्छ’ भन्ने टिप्पणी गरेका छन् ।

‘यत्रो मेची–महाकाली दुईतिहाइ भित्र अटाएका छन् । उहाँहरू नअटाउने कुरा हुँदैन, प्रचण्डले बाबुराम पनि आए हुन्छ भन्नुभयो । बाबुराम मात्र किन, फोरम पनि आए हुन्छ । उपेन्द्र पनि आए हुन्छ’ -उनले भने ।

उनले एकता प्रक्रियालाई मुलुक निर्माणसँग दाँज्दै कसैलाई सानो छाती नगरी जिम्मेवारी दिइने बताए । उनले केहीले पार्टी फुट्ने सपना देखेको भन्दै नेकपा फुट्नका लागि नभई विकास र समृद्धिका लागि जुटेको पनि दाबी गरे ।

प्रधानमन्त्री ओलीले अर्को एक प्रसंगमा डिग्रीको सर्टिफिकेटले मात्रै देश नबन्ने भन्दै डा. बाबुराम भट्टराईप्रति कटाक्ष गरे । उनले कटाक्ष गर्दै भने, ‘पीएचडी, पीएचडी भनेर प्रचार गरिन्छ । देशमा अरूले पनि पीएचडी गरेका छन् । डिग्रीले क्रान्ति गर्दैन । दृष्टिकोण र निष्ठाले क्रान्ति गर्छ ।’

उखानबाटै कटाक्षः

उनले डाक्टरेट उपाधिलाई भुँडी फुटेर मरेको भ्यागुतासँग दाँजे । ‘कुनै समय एउटा पोखरीमा भ्यागुतो थियो । उसले एकदिन बाच्छो देखेछ । आमालाई दौडँदै सुनाउन पुगेछ । आमाले भनिछे– कत्रो थियो बाच्छो ? उसले भुँडी फुलाउँदै देखाउन थालेछ । जति भुँडी फुलाउँदा पनि बाच्छोको आकारमा पुगेन, अन्तिममा भुँडी फुटेर मर्यो’ -उनले उखान पस्किए ।

मूल विषयमा अल्मल्याउन अनेक सङ्कथन निर्माण हुनेतिर पनि उनले सचेत गराए । ‘भैँसीले कति दूध दिन्छ भनेर सोध्यो, हेर्नुहोस् न सिङ कति राम्रो छ भनेर सिङतिर देखाउँछन् । अहिले त्यसैगरी अल्मल्याउन खोजिएको छ’ -प्रधानमन्त्रीको भनाइ थियो ।

टिप्पणी लेख्नुहोस्