राष्ट्रलाई हानी नहुने गरी आइफा अवार्ड हुने प्रधानमन्त्रीको दृढता
त्रिशुलीखबर
July 6, 2019


काठमाडौं, २० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा आइफा अवार्ड गरेरै छाड्ने दृढता व्यक्त गरेका छन् । अनुकूल समय पारेर सो अवार्ड गरिने उनले बताए ।

ओलीले आइफा अवार्ड रोक्नका लागि संसदीय समितिले दिएको निर्देशन अनाधिकृत भएको दावी गरे ।

समाजवादी पार्टीका सचिवालय सदस्यद्वय देवेन्द्र पराजुली र कल्पना धमलासहितका नेताहरूको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गराउने कार्यक्रममा प्रधानमन्त्री ओलीले हल्लाको भरमा दिइएको सो निर्देशन सरकारलाई मान्य नहुने बताए । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन उपयोगी हुने भएकाले सरकारले सो अवार्ड आयोजना गर्न लागेको ओलीको भनाइ छ । ‘देशका लागि राम्रो र फाईदाजनक हुने भो भने अनुकूल समय मिलाएर सो अवार्ड आयोजना गर्न सरकार तयार छ,’ ओलीले भने ‘राष्ट्रलाई हानी हुने गरेर सो अवार्ड आयोजना हुँदैन ।’

छलफलको क्रममै रहेको सो अवार्ड आयोजना गर्ने विषयलाई ‘सर्वनाश हुने भो’ भनी प्रचार गर्ने काम संसदीय समितिले गरेको उल्लेख गर्दै उनले असन्तुष्टि व्यक्त गरे । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सो अवार्ड राष्ट्रको हितमा नरहेको भन्दै आयोजना नगर्न सरकारलाई निर्देशन दिएको थियो ।

संसदीय समितिको सो निर्देशन उचित नभएको प्रधानमन्त्री ओलीको दावी छ ।

टिप्पणी लेख्नुहोस्