राष्ट्र जोगाउन सबै देशभक्तहरु एकजूट हुन सभापति भट्टराईको आव्हान
त्रिशुलीखबर
July 5, 2019


काठमाडौं, २० असार । नेपाली कांग्रेस वीपीका सभापति हरिबोल भट्टराईले विदेशीको इसारामा धर्मनिरपेक्षता ल्याएको र यो सरकारले देशको धर्मसंस्कृति मास्न उद्धत रहेको आरोप लगाएका छन् । उनको दलिल छ, ‘राष्ट्र जोगाउन सबै देशभक्तहरु एक भएर आन्दोलन गर्नुपर्छ ।’

सभापति भट्टराईले भने, ‘यो आन्दोलनको घोषणा सभा मात्रै हो, अब आन्दोलनको आधावेहरी आउने छ ।’ अबको आन्दोलनले सरकार ढल्ने उनको दावी छ ।

काठमाडौंको शान्तिबाटिकामा ९ दलको सयुक्त राष्ट्रिय आन्दोलनले आयोजना गरेको उक्त कार्यक्रममा सभापति भट्टराईले ओली नेतृत्वको सरकार भ्रष्ट तथा राष्ट्रघाति भएको पनि दावी गरे । उनले सभा अवधिभर ओली सरकारविरुद्ध निक्कै आक्रोशपूर्ण अभिव्यक्ति दिए ।

‘यो सरकारले नचाहिने कुकृत्यहरु गरिरहेको छ’ भन्दै सभापति भट्टराईले अगाडी भने, ‘आज देशलाई नै धरासयी पार्दै गएको छ । यो कुरा यसका सम्पूर्ण गतिविधिले प्रष्ट गरेको छ । अब यो वेइमान, कुलंघार, राष्ट्रघाति र भ्रष्टचारी सरकारलाई दुई मिनेटपनि आसनमा बस्ने अधिकार छैन् ।’

उनले जनता मिलेर यसलाई सदनबाट थुतेर सडकमा ल्याउने बेला भएको पनि बताए । देशमा आफ्नो धर्मसंस्कृत, प्रजातन्त्र र राष्ट्रियता यो सरकार भएसम्म नजोगिने उनले दावी गरे । उनले भने, ‘यो सरकारको आँखा देशको उन्नति प्रगति गर्ने कुरामा नभै अरबौंको भ्रष्टचार गर्नमा छ ।’

संयुक्त राष्ट्रिय आन्दोलनमा सीपी मैनाली नेतृत्वको नेकपा माले, पूर्वमन्त्री देवीप्रसाद ओझा नेतृत्वको लोकतान्त्रिक मञ्च लगायत ९ दलहरुको सहभागिता छ ।

टिप्पणी लेख्नुहोस्