एक लाख घुससहित चार प्रहरी पक्राउ
त्रिशुलीखबर
July 13, 2019


काठमाडौं । सामाखुसी चोकबाट घुस लिँदै गरेको अवस्थामा चार प्रहरी रंगेहात पक्राउ परेका छन् ।

घुस लेनदेन हुन लागेको जानकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयमा खबर आएपछि खटिएको अख्तियार टोलीले एक लाख रुपैयाँ घुससहित चार प्रहरी जवानलाई पक्राउ गरिएको जनाएको छ ।

पक्राउ पर्ने ३ ट्राफिक प्रहरी र एकजना दुई नम्बर गणका प्रहरी जवान रहेको अख्तियारले जनाएको छ ।

उनीहरुलाई सामाखुसीको एक मिठाई पसलबाट घुस दिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन् ।

पक्राउ परेका प्रहरी जवानहरुले बिमा रकम दाबीका लागि सवारी दुर्घटना प्रमाणित गर्न कागजात बनाइदिने भनेर एक व्यक्तिमार्फत एकलाख रुपैयाँ घुस लिएको अनुसन्धानबाट खुलेको छ । यद्यपि पक्राउ परेका प्रहरीहरुको परिचय भने खुलाइएको छैन ।

टिप्पणी लेख्नुहोस्