टी-ट्वान्टी सिरिजमा नेपाल ७ विकेटले विजयी
त्रिशुलीखबर
July 14, 2019


काठमाडौं, २९ असार । दोस्रो टी-२० मा मलेसियालाई ६ रनले हराउँदै नेपालले सिरिज जितेको छ । किनरारा ओभलमा नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।

उसको सुरुवात भने राम्रो थियो । ओपनर भिरनदीप सिंह र शेयद अजिजले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए । अजिजले ५० रन बनाउँदा सिंह २३ रनमा आउट भएका हुन् । यो साझेदारी टुटेपछि भने मलेसिया दबावमा आयो ।

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिए भने करण केसी, अभिनाश बोहोरा र पारस खड्काले १-१ विकेट हात पारे ।

यसअघि टस जितेर व्याटिङ थालेको नेपालले विनोद भण्डारीको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो ।

नेपालको सुरुवात औसत रहृयो । ओपनरद्वय पारस खड्का र पवन सर्राफले ३४ रनको साझेदारी गरे । पवन मात्र १० रनमा आउट भए । त्यसपछि नेपालले ज्ञानेन्द्र मल्ल र पारसको विकेट गुमायो । मल्ल ७ र खड्का २३ रनमा आउट भए । रोहितकुमार पौडेल र शरद भेषावकरले चौथो विकेटका लागि ४६ रनको साझेदारी गरे । रोहित १९ र शरद ४० रनमा आउट भए ।

छैटौं नम्बरमा आएका विनोद भण्डारीले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाए । उनले २५ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा ५१ रन बनाए । करण केसीले १६ रन जोडे ।

टी-ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्ध शनिबार भएको पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो ।

टिप्पणी लेख्नुहोस्