विदेशी कम्पनीले लगे २७ अर्ब रुपैयाँ लाभांस, सबैभन्दा बढी एनसेलले लग्यो
त्रिशुलीखबर
July 18, 2019


काठमाडौं। नेपालमा सञ्चालनमा रहेका २६ विदेशी साझेदारका कम्पनीले गत बर्षको नाफाबाट आकर्षक लाभांस लगेका छन्। अझै केही कम्पनीले लाभांस लैजान बाँकी नै छ। कम्पनीहरुले चार लाख ७५ हजार रुपैयाँदेखि १२ अर्ब ५४ करोड रुपैयाँसम्म एकै बर्षमा लगेका छन्।

‘नियमसंमत चलेका कम्पनीहरुले गरेको नाफा लैजान कुनै समस्या छैन। सबैले सहजै लगिरहेका छन्’ राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बिजमाण्डूसँग भने, ‘नेपालबाट आकर्षक लाभांस लैजानुले यहाँ काम गर्ने राम्रो वातावरण छ भन्ने बुझिन्छ।’उनले नेपाल राम्रो नाफा आर्जन गर्न सकिने आकर्षक गन्तब्य भएकोसमेत बताए।

२६ कम्पनीले २७ अर्ब ७८ करोड २९ लाख ९४ हजार ९७० रुपैयाँ लाभांस लगेका छन्।

गत बर्षको नाफाबाट सबैभन्दा धेरै एनसेल प्रालिले लाभांस लगेको छ। कम्पनीको ८० प्रतिशत साझेदार रहेको वेष्ट इन्डिजको रेनोल्ड होल्डिङले एकै बर्ष १२ अर्ब ५ करोड रुपैयाँ लाभांस लगेको हो।

सूर्य नेपालले अन्तरिम र पूर्ण गरेर दुई पटक लाभांस लगेको छ। कम्पनीका विदेशमा दुई वटा साझेदार छन्। ब्रिटिस अमेरिका टोबाको (इन्भेष्टमेन्ट) र आइटिसी लिमिटेड इण्डियाले दुई पटक लाभांस लगेका छन्।

पावर ट्रान्समिसन कम्पनी नेपालले पनि दुई पटक लाभांस लगेको छ। सबैभन्दा कम लाभांस निस्साकु कम्पनी जापानले लगेको छ। कम्पनीले पौने पाँच लाख रुपैयाँ लगेको छ। बुटवल पावर कम्पनीले दुई पटक लाभांस लगेको छ। कम्पनीको विदेशी साझेदार आइकेएन नर्वेले एक करोड ३३ लाख रुपैयाँ लाभांस लगेको छ।

कम्पनीहरुले नाफाबाट प्रतिफल छुट्याएपछि आवश्यक प्रकृया पुरा गरेर सजिलै लैजान पाउँछन्। नेपाली रुपैयाँबाट डलरमा राष्ट्र बैंकले सटही सुविधा उपलब्ध गराउँछ। बैंकिङ प्रणालीमार्फत लाभांस विदेशी खातामा भुक्तानी हुन्छ।

टुवोर्ग, कार्ल्सवर्गजस्ता बियर उत्पादक कम्पनी गोर्खा ब्रअरीले पनि राम्रो लाभांस लगेको छ। कम्पनीको विदेशी साझेदार कार्ल्सवर्ग साउथ एसिया सिङ्गापुरले ३ अर्ब ८२ करोड ७५ लाख ५६ हजार रुपैयाँ लाभांस लगेको हो।

नबिल, डाबर नेपाल, युनिलिभर र कोकाकोलाजस्ता कम्पनीले लाभांस लगिनसकेको राष्ट्र बैंकले जनाएको छ। यद्यपी यी कम्पनीहरुले साधारणसभा सकेर लाभांस पारित गरिसकेका छन्।

नेपाली कम्पनीहरुको क्रेडिट रेटिङ गर्ने इक्रा नेपालको भारतीय साझेदार इक्रा इण्डियाले २० लाख ४० हजार रुपैयाँ लाभांस लगेको छ। अर्घाखाँची सिमेन्टको साझेदार उमा सिमेन्ट ग्लोबल इण्डियाले १६ करोड ७१ लाख ७२ हजार रुपैयाँ लाभांस लगेको छ। एनएमबी बैंक, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल एसबिआइ, निर्धन उत्थान लघुवित्त, नेपाल बंगलादेश बैंकका विदेशी साझेदारले समेत लाभांस लगेका छन्।

हिमाल पावर, एसियन पेन्ट्स, मनिपाल एजुकेशन, जिटिएल नेपाल, फायर एण्ड आइस र वरुण वेभरेजमा लगानी गरेका कम्पनीहरुले पनि आकर्षक प्रतिफल लगेका छन्। प्रतिफल लैजानेमा भारतीय र सिंगापुरका कम्पनीहरु बढि छन्।

टिप्पणी लेख्नुहोस्