वीपीको समाजवाद र काँग्रेस नेतृत्वको खेती
त्रिशुलीखबर
July 23, 2019


काठमाडाैं । म कल्पनाको हाइवेमा यात्रारत छु। यसपाला म मेरो देशको प्रधानमन्त्री भएको छु। मैले शपथ खाइ नसक्दै मेरो मनले मलाई भन्यो, ‘तँ प्रधानमन्त्री भएकोमा बधाई छ।’ तर, तैंले धेरै काम गर्न सक्दैनस्। तैपनी गरिएका थोरै काम राम्रो चाहिँ रहोस्। अनि जे गर्छस् काँग्रेस भएरै गरिनु पर्छ।

मैले सहमतीको टाउको हल्लाएँ, अलि प्रफुल्लित पनि भएँ। कताकता अलि गरम भएको महशुस हुन लाग्यो र शितलता नियालें। गजबको चौतारी देखें। त्यसैलाई लक्ष्य बनाएँ र त्यहाँ पुगें। त्यहाँ देखें दुई जना मानिस आ-आफ्नै पाराले शितलता लिँदै थिए। एक जना टोपीले पसिना पुछ्दै थिए, उनको साथमा नाम्लो थियो। उनी थिए हर्केसाहिँला। र अर्का रुमालले पसिना पुछ्दै थिए, उनी सँग राम्रै देखिने झोला थियो, उनी श्रीखण्ड प्रसाद हुन्। मैले सोचें यिनै हुन् मेरा नागरिक जसका लागि मैले बजेट बनाउनु छ। र, अठोट गरें, मेरो बजेटमा यिनीहरुलाई समानताको अनुभूति गराउनेछु।

यिनी दुवै एकै धर्तीका समान दुई नागरिक हुन्। यी दुवैको एउटै लक्ष्य हो सम्भव भएसम्मको सुखका साथ जिवीकोपार्जन गर्ने, दुवैलाई दैनिक दुई छाक खान पर्छ र रात परेपछि दुवैलाई आराम गर्नु पर्छ, विहान भएपछि दुबैलाई कर्मक्षेत्रको आवश्यक्ता पर्छ। दुईको कार्यक्षेत्र अलग-अलग किन नहोस्, मैले यिनीहरुमा कुनै विभेद गर्न मिल्दैन।

सहदेव उप्रेती

 मैले दुवैजनाको समान श्रीबृध्दिको कल्पना गर्दै एक हजारको बजेट छुट्याएँ। उनीहरुलाई असाध्य न्यायिक आँखाले नियाल्न खोजें। अलि अल्मलमा परें। समानताको भौतिक पक्ष त पाँच-पाँच सय हो! तर मेरो मनले मसँग बिद्रोह गर्न खोज्यो। लुथ्रुक्क भिजेको भोटो लगाएको शरिरमा भइरहेको गर्मीको पीडालाई फाटेको टोपीले हम्किंदै गरेको हर्केसाहिँला अनि फुल्बुट्टे रुमालले सुकिलो सर्टमा सजिएको गलामा उब्जिएको पसिना पुछ्दै गरेको श्रीखण्ड प्रसादमा भौतिक वितरणको पाँच-पाँच सयले समानता कायम गर्ला ? मन र विवेक द्वन्दित भयो। म अनिर्णित हुन खोजेँ। तत्कालको मेरो होशियारीले म भित्र उपाय निकाल्यो। मैले काँग्रेस भएर सोचें र अठोट गरेँ साथै वितरण पनि गरेँ ७ सय २५ हर्केसाहिँलालाई र २ सय ७५ श्रीखण्ड प्रसादलाई। प्रश्न मडारिन खोज्यो, भौतिक दुनियाँमा यति ठूलो भेद अनि फेरि समानता ? तर मेरो विवेक मुस्कुराउन थाल्यो, किनकी हर्केसाहिँला र श्रीखण्ड प्रसाद एउटै धरातलमा रहेर आफूलाई जीवन्त राख्नेक्रममा हर्केसाहिँलाले आफूसँग जम्मा ५० लिएर जीवन खोज्दै थियो भने श्रीखण्ड प्रसादले आफूसँग समान धरातलको जीवन जिउने साधनको रुपमा ५०० साथमा राखेको थियो। म पूर्ण सन्तुष्टि महशुस गर्न लागें, किनकी म एक सच्चा समाजवादी थिएँ र यहि थियो वीपीको वास्तविक समाजवाद !

बेवारिस वस्तु जो कोहिले आफ्नो हितमा प्रयोग गर्नु स्वाभाविक थियो, त्यही भयो। परिणाममा काँग्रेसको हातमा शून्य मात्र बाँकी रह्यो।

परिणाममा पटक्कै चित्त बुझेको छैन, किनकी वीपीले प्रतिपादन गर्नुभएको त्यो समाजवादको सिध्दान्त मैले काल्पनिक कथा रच्नका लागि थिएन। बरु त्यो प्रतिपादित उध्देश्य, तत्कालीन राणा शासन रुपी क्रुर जञ्जिरमा मरणासन्न भएका जनमनलाई स्वच्छन्द अनि स्वतन्त्र शासन रुपी न्यानो मायाँ प्रदान गरि देशको सर्वाङ्गीण विकास गरौं भन्ने थियो। प्रजातन्त्र प्राप्ती पश्चात् शासन सत्ता सम्हाल्न पुगेका स्वघोसित विद्वानहरुमा यस्तो घमण्ड जागृत भयो कि, “थोरै पढेरै दार्शनिक कहलिएका वीपीका ती दर्शन धेरै पढेका म/हामीले प्रयोगमा ल्याउनै पर्छ भन्ने नै पो के छ र हामी भित्रकै विद्वताले काम गर्न सकिहाल्छ नि!” यो मानसिकता अत्युक्तिनै हो भनीहाल्न पर्छ भन्ने त होइन, तर परिणाम के रह्यो त? भन्ने सवाल चाहिँ महत्वपूर्ण हो।

नेपालमा २०४६ सालको राजनीतिक परिवर्तन पछाडीको शासन पध्दतिमा जे जति नकारात्मक उपलब्धिहरु भए त्यसको दोष चाहेर नचाहेर काँग्रेसले आफ्नो भागमा लिनै पर्छ। तत्कालीन परिवेशमा त्यो परिवर्तनको शंखघोष काँग्रेसले नै गरेको थियो, उसैले नेतृत्व गर्यो, जस उसैले लियो। अनि जनताद्वारा जिम्मा पनि उसैलाई दिइयो। विविध आरोहअवरोहका वीचका झण्डै १५ वर्ष अधिकांश समय काँग्रेसकै नेतृत्वले देशको बागडोर सम्हाल्लेको थियो। बाँकी समयमा पनि उसको दरिलो उपस्थिती र जिम्मेवारी नै रहेको थियो भन्न सकिन्छ। ती समयमा सायद धेरै विकासका कामहरु भए होलान् तर त्यो कुन सैद्धान्तिक पृष्ठभूमिमा भयो त? भन्ने सवालको जवाफ खोज्न काँग्रेसले कहिल्यै आवश्यक ठानेन। अझ भनौं जे जति उपलब्धिहरु भए ती बेनामी वा बेवारिस भए। बेवारिस वस्तु जो कोहिले आफ्नो हितमा प्रयोग गर्नु स्वाभाविक थियो, त्यही भयो। परिणाममा काँग्रेसको हातमा शून्य मात्र बाँकी रह्यो। जे जति अनुपलब्धीहरु भए त्यसले काँग्रेसलाई छोड्ने वाला थिएन, उपलब्धी हराएपछि बाँकी रहेको अनुपलब्धी प्रवल हुनु स्वाभाविक थियो। त्यसैको परिणाम काँग्रेसले अहिले भोगिरहेको छ। यसमानेमा पनि भन्न सकिन्छ कि दलीय राजनीतिमा सिध्दान्त र नितीविहिन राजनिती गरिंदा अकल्पनीय घात सहनु पर्ने हुन्छ।

झण्डै ३० वर्ष भो मैले काँग्रेस भएर राजनीति गरेको। शुरुवातका वर्षदेखि आजसम्मनै म तत्कालीन शासन पध्दतीप्रति असन्तुष्ट रहँदै आएँ। मेरा कुरा मेरा नेतालाई सुनाउन चाहन्थेँ तर उनिहरुमा दरिलोसँग जमेर बसेको अभिमानले ती कुरा कहिल्यै सुन्नै चाहेनन् र उनिहरुले तयार गरेको कुत्सित घेरालाई छिचोल्न कहिल्यै नसक्ने अवस्थामा आजका दिनहरु बिताउनु मेरो नियती भएको छ। यो नियती स्विकार्ने मात्र होइन अर्को अर्थमा तमाम काँग्रेसीवृत्तमा भोग्न बाध्य पारिएको छ।

अर्को चुनावमा बाध्य भएर हामीलाई नै जनताले मतदान गरेर जिताइहाल्छन्” भन्नेसम्मको निष्कर्ष बोकेको पाउनु, “जाँडमा लठ्ठ पर्दै स्वास्नीको गाला र तिघ्रा चिमोट्दै मद होस्” भए बराबरको अवस्था हो।

अरु पार्टीले के गरे त्यसमा मैले चासो लिनु जरुरी छैन, किनकि म चुनावी मैदानमा छैन। आफ्नै पार्टी भित्रको चिरफार गर्ने हो भने ती १५ वर्षका दिनहरुमा अत्यन्त सिमित ब्यक्तिहरुले अकूत सम्पत्ति आर्जन गरेको देखिन्छ। उनिहरुको रवाफ हेर्दा लाग्थ्यो कि, “उनिहरुमा यस्तो भान भएको छ अब हाम्रो सत्तालाई कसैले हल्लाउन सक्दैन।” तर अतिसयोक्तीपूर्ण सोंचको परिणाम ढिलो-चाँडो सत्यानास अनिवार्य थियो, त्यही भयो। त्यो यति शिघ्र हुन्छ भन्ने यिनीहरुले कल्पना गर्न पनि पाएनन्। सर्वशक्तिमान समाजवादलाई तिलाञ्जली दिँदै धनवादमा लिप्त हुँदाको परिणामले यिनीहरुलाई त सत्ताबाट मात्र झार्यो, तर म र म जस्ता लाखौं कार्यकर्ता जो वीपीको समाजवादमा मात्र आफ्नो उत्थान देखेर कुरी बसेकाको थियो तिनको जीवन र आस्थामा खुकुरीको धार प्रहार भयो। तैपनि जाने ठाउँ त कहाँ नै छ र? यहीँ नै ढुकी बस्नु अर्को नियतीको खेल झैं भएकै छ।

सत्ताबाट घोक्रेठ्याक लागेको काँग्रेसले भर्खरै मात्र जागरण नामको “नावो” खेती गर्न जनता अनि कार्यकर्ता छेउ पुग्न खोजेको थियो। यिनका खेती केवल “नावो” खेती हो भन्ने जानकारी जनताले थाहा नपाउँदै यिनीहरु “कुकुर-बिरालोको अस्तित्वमा” आएको आफैंले प्रमाणित गरिदिए। प्रजातन्त्र प्रेमी जनमन यसबाट अझ प्रताडित हुनुपरेको छ। नेतृत्व तहले “हामीलाई हराएर आएको दुई तिहाइको कम्युनिस्ट सरकारले पनि त केही गर्न सकेन ! त्यसको परिणाममा त अर्को चुनावमा बाध्य भएर हामीलाई नै जनताले मतदान गरेर जिताइहाल्छन्” भन्नेसम्मको निष्कर्ष बोकेको पाउनु, “जाँडमा लठ्ठ पर्दै स्वास्नीको गाला र तिघ्रा चिमोट्दै मद होस्” भए बराबरको अवस्था हो।

—सहदेव उप्रेती

(लेखक नुवाकोटका पुराना काँग्रेस कार्यकर्ता हुन् ।)

टिप्पणी लेख्नुहोस्