मौद्रिक नीतिले नाफा घट्ने भएपछि बैङ्कर्स रुष्ट
त्रिशुलीखबर
July 25, 2019


काठमाडौं, ९ साउन । नेपाल राष्ट्र बैङ्कको मौद्रिक नीति यस पटक बैङ्कहरुको आम्दानीमा धक्का पुग्नेगरी आएको छ । चालू आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीतिमार्फत बैङ्कको आयमा अङ्कुश लगाएको हो ।

१५ लाख रुपैयाँसम्मको कर्जा प्रवाह गर्दा बैङ्क तथा वित्तीय संस्थाले कुनै पनि किसिमको शुल्क लिन नपाउने व्यवस्था गरेको छ । कृषि, उद्यम तथा व्यवसाय कर्जा प्रवाह गर्दा शुल्क लिन नपाउने व्यवस्थाले बैङ्कहरुले यस्तो शुल्कबाट आम्दानी गर्दै आएकोमा अबदेखि सो आम्दानीको बाटो बन्द भएको छ ।

यस्तै तोकिएको समय अगावै कर्जा भुक्तानी गर्दा पनि अग्रिम भुक्तानी शुल्क लिन नपाइने व्यवस्था भएको छ । यता पोइन्ट अफ सेल मेसिनमार्फत कारोबार गर्दा पनि अत्तिरिक्त शुल्क लिन पाइने छैन । बैङ्कहरुले विभिन्न बाहानामा लिँदै आएको शुल्क उठाउन मौद्रिक नीतिले बन्देज गरेपछि उनीहरुको केही आम्दानीका स्रोत बन्द भएका छन्, जसले गर्दा बैङ्कहरुले कमाउने नाफामा धक्का लाग्न देखिएको छ ।

यता कर्जा र निक्षेपको ब्याजदरको अन्तर पनि ०.१ विन्दुले झारिएको छ । यस्तो अन्तर ४.५ प्रतिशत थियो तर चालु मौद्रिक नीतिले ४.४ प्रतिशतमा झार्नुपर्ने प्रावधान गरेको छ । अब बैङ्कहरुले २०७७ असार मसान्तसम्म स्प्रेडदर ४.४ प्रतिशतमा झार्नुपर्ने छ ।

जनता बैङ्कका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवरले यसलाई पहिलेकै निरन्तरता भएको बताए । यद्यपि, यस्ता शुल्क लिन नपाउने प्रावधानले बैङ्कहरुको आय भने घट्ने उनको भनाइ छ । उनका अनुसार राष्ट्र बैङ्कले व्याजदर घटाउने उद्देश्यले स्प्रेडदरको सीमा घटाएको हो ।

यता विकास बैङ्कर्स सङ्घका अध्यक्ष तथा गरिमा विकास बैङ्कका कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल पनि राष्ट्र बैङ्कको यस्ता निर्णयले बैङ्कहरुको नाफा खुम्चने बताउँछन् । उनले अब बैङ्कहरुले त्यसलाई कभर गर्ने गरी नाफाका अन्य स्रोत पहिचान गरेर बजार विस्तार गर्नुपर्ने बताए ।  बैङ्कको नाफामा कमी भए पनि राष्ट्र बैङ्कको यस्ता प्रावधानले कर्जाको ब्याज सस्तिने उनको तर्क छ । यस पटक राष्ट्र बैङ्क व्याजदर सन्तुलनतर्फ केन्द्रित भएर विभिन्न माध्यममार्फत ब्याजदर सन्तुलनको उपाय खोजेको बताउँछन् ।

बैङ्कर्स एसोसिएसनका अध्यक्ष तथा नेपाल बङ्गलादेश बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले सानो कर्जामा सेवा शुल्क लिन नपाइने व्यवस्थाले आफ्नो आम्दानी घट्ने तर त्यसलाई आफूहरुले विस्तारै व्यवस्थापन गर्दै लैजाने बताए । उनले भने, ‘तरलता व्यवस्थापन र  व्याजदरको स्थायित्वलाई ध्यान दिएर मौद्रिक नीति आएको छ । सानो कर्जामा सेवा शुल्क लिन नपाइने, स्प्रेडदर घटाउने जस्ता कुराले हाम्रो आम्दानी त घट्छ नै तर यसलाई व्यवस्थापन गर्दै अघि बढ्ने छौँ’ ।

नेपाल राष्ट्र बैङ्कले बुधबार मौद्रिक नीति सार्वजनिक गरेको हो । यसमा व्यवसायी र उद्योगीहरुले फरक फरक धारण व्यक्त गरिरहका छन् । राष्ट्र बैङ्कले यस पटकको मौद्रिक नीतिमा फोर्स मर्जर ल्याउने धेरैको अनुमान थियो । तर, मैद्रिक नीतिले लचिलो हुँदै सहुलियतसहितको फोर्स मर्जरलाई प्रोत्साहन भने गरेको छ ।

टिप्पणी लेख्नुहोस्