त्रिशुली अस्पतालको लापर्वाहीले गोमाको मृत्यु
त्रिशुलीखबर
July 25, 2019


नुवाकोट, ९ असार । जिल्ला अस्पताल त्रिशुलीको चरम लापरवाहीका कारण एक सुत्केरीको मृत्यु भएको छ। अस्पताल स्रोतका अनुसार तारकेश्वर गाउँपालिका-५ की ३५ वर्षीय गाेमा वस्तीको उपचारका क्रममा मृत्यु भएको हो। तर, परिवार तथा आफन्तले भने अस्पताल र डाक्टरहरूको चरम लापर्वाहीका कारण गोमाको ज्यान गएको बताएका छन्।

त्रिशुली अस्पतालमा उपचार हुन नसकेपछि हेलिकप्टरबाट काठमाडौं लैजाने क्रममा गोमाको ज्यान गएको हो।

सुत्केरी गराउन अस्पतालमा रहेकी ओस्तीको विहीबार विहान ६ बजे डेलिभरी गराइएको थियो। तर एक्कासी ७ बजेतिर बच्चाको सास रोकिएको भन्दै अस्पतालले काठमाडौं रिफर गरेको थियो। बच्चाको उपचार गर्न भन्दै ओस्तीका श्रीमान् शिशुलाई लिएर काठमाडौं पुगेका थिए।

यता गोमा ओस्तीको भने रक्तस्राव बढेपछि स्थिति नाजुक बन्दै गयो । डाक्टरले रगत दिनुपर्ने भनेपछि आवश्यक रगत ब्लड बैंकमा नभएको र रक्तदान कार्यमा सक्रिय व्यक्ति मच्छिन्द्रनरसिंह प्याकुरेलले आफ्नो साथीहरुलाई बोलाएर रगतको व्यवस्था समेत मिलाएका थिए। तर अस्पतालले उच्च रक्तस्राव हुँदा समेत लापरवाही गर्दै अन्तिम अवस्थामा ११ बजेतिर मात्र सकेसम्म छिटो काठमाडौं लैजान भनेका थिए। जुन निक्कै ढिला भइसकेको थियो।

हेलिकप्टर भएको ठाउँसम्म पुर्याउने क्रममा

विरामीका आफन्तले हेलो सरकारमा गोमाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिएर सरकारी हेलिकप्टर छिट्टै पठाइदिन आग्रह गरेका थिए। तर, उनीहरुले नुवाकोट सुगम जिल्लामा पर्ने भएकाले हेलिकप्टर पठाउन नसकिने जवाफ पाए। गोमाको स्वास्थ्य अवस्था बारे प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, जिल्लाका सांसदहरु लगायतलाई जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएको मृतक पक्षको भनाइ छ।

विदुर नगरपालिका ५ का वडाअध्यक्ष शिव चित्रकारले सहजीकरण गरेपछि नीजि हेलिकप्टर नुवाकोटमा उत्रियो। तर, विरामीलाई हेलिकप्टरबाट काठमाडौं टिचिङ अस्पताल पुराउनासाथ डाक्टरले गोमाको मृत्यु भएको घोषणा गरिदिए।

उनको नवजात शिशु भने सकुशल छन्।

टिप्पणी लेख्नुहोस्